आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘घुम्ती व्यापार’ले चल्छ जीवनको गुजारा

‘घुम्ती व्यापार’ले चल्छ जीवनको गुजारा

मीठो खाने हो भने त कमाएको सबै सकिन्छ तर राम्रो कमाइ भएको दिन भने मीठो मसिनो खाइन्छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८२, मंगलबार

बागलुङ/३६ वर्षकी रामकलाको पढाइ कक्षा ८ मात्रै हो । अलिअलि हिसाब गर्न जानेकी छन् । गाउँघरमा जन्मेपछि खेती किसानी, घाँस दाउरा गरेर जीवन बिताइन् । पढ्न लेख्न पनि पाइनन् । कमाइ गरेर खाने खासै अवस्था भएन । अहिले विवाह भएर छोरी जन्मेपछि भने पैसाको लागि धेरै मिहिनेत गर्नु परेको छ ।

काठेखोला गाउँपालिका वडा नं. ७ घर भएपनि त्यहाँ खेती किसानी गरेर खान पुग्दैन । त्यसैले उनी सात वर्षदेखि सदरमुकाम झरेर दिदीको मासु पसलमा काम गर्दै आइन् । काम गरेर खान त दुःख भएन तर घरखर्च जुटाउने, छोरी पढाउने काम समस्या भयो । पति मिठू केसी पनि ज्यामी कामदार भएकोले काम पाएको दिन त राम्रो कमाइ हुन्छ, कहिले खाली बस्नुपथ्यो । त्यसैले आफ्नै पसल बनाउने योजना बुनिन् ।

बागलुङ कालीका मन्दिरमा पूजा गर्न जानेहरुका लागि फूल–प्रसाद सामग्री बिक्री गर्न एउटा काठको घुम्ती लिएकी उनले त्यसैबाट जीवन चलाएकी छिन् । रामरेखा सामुदायिक वनलाई मासिक ७ सय भाडा तिरेपछि यो घुम्ती चलाउन पाइन्छ । यहाँ फूलप्रसाद जम्मा गरेर राख्ने र बिक्री गर्ने । शनिबार र मंगलबार अलि राम्रो व्यापार हुन्छ । कालीका मन्दिर पुजा गर्नेहरुले शनिबार रोज्छन् । घुम्न आउनेहरुका लागि भने सधैं नियमति पूजा त भैरहन्छ । चैतेदशंै र बडादशैंमा भने मेला लाग्छ । धेरै भक्तजनहरु आउँछन् । त्यतिबेला राम्रै कमाइ हुन्छ । त्यसको भरमा वर्षभरी चल्नुपर्छ ।

सामान्य दिनमा त दैनिक ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्मको कमाइ गर्न सकिन्छ । त्यसले घरखर्च चलाएको उनले बताइन् । पतिको कमाइ राम्रो नभएपछि विदेश जाने योजनामा छन् । उता राम्रो काम पाइयो भने त ठीकै होला, नत्र यहाँ पनि मिहिनेत गर्नै पर्नेछ । छोरीलाई सदरमुकामको विद्यामन्दिर माविमा भर्ना गराएको उनले बताइन् । परिवार पालिने, पढाइ लेखाइ खर्च जोहो गर्न पनि बिहानैदेखि घुम्तीमा आएर फूल–प्रसाद बेच्नैपर्छ । घटीघटाउमा नदिए ग्राहक आउदैनन् । त्यसैले एकसय ५० देखि ३ सय सम्मका सामग्रीको पोको बनाएर बेच्ने गरेको उनले बताइन् । नरिवल, मिठाइ, फूल, धूप अक्षता, जौं तिल र धजामा एउटा लाइटर मिलाएर मूल्य गरिन्छ । ठूलो नरिवल, मालासमेत मिसाए धेरै पर्छ नत्र डेढ सय रुपैयाँमा सामग्री बेच्ने हो ।

ढकियामा सामाग्री राखेर दिएपछि भक्तजन मन्दिर जान्छन् । उनीहरु फर्केपछि मात्र ढकिया फिर्ता गरेर पैसा तिर्छन् । कतिपयले सुरुमै तिरेर लैजान्छन् । कतिपयले पर्केर तिर्छन् । फर्कंदा कसैले पैसा घटाउन खोज्छन् । जे जस्तो भए पनि सहेर नियमित काम नगरे कमाइ हुँदैन । कमाइ भएको दिन सहकारीमा ५ सय रुपैयाँ बचत गर्छु, नभएको दिन एक सयदेखि दुई सय बचत गर्ने गरेको उनी बताउँछिन् । यसरी महिनाको १५ हजारसम्म बचत गर्न सक्दा राम्रो भएको छ । कुनै महिना २० हजार पनि कमाइ हुन्छ । ‘खाना, पढाइ र घरभाडा गरेर मासिक १२ हजार खर्च गर्दै आएकी छु,’ उनले भनिन्, ‘मीठो मसिनो खाने हो भने त कमाएको सबै सकिन्छ ।’ त्यसैले केही बचाउने गरेर घरखर्च चलाउनुपर्छ । ‘सधैं त के दुःख काट्नु, राम्रो कमाइ भएको दिन भने मीठो मसिनो खाइन्छ ।’

दशंै तिहारमा भक्तजन धेरै आएको बेला खाना पनि नखाइ सामान बेच्नुपर्ने उनले बताइन् । सामान खरिद गरेर ल्याउने, पोका पार्ने गर्दा धेरै नै दुःख हुन्छ । बिहान ४ बजेबाट भक्तजन आउने भएकोले तयार भएर बस्नुपर्छ । झण्डै २५÷३० वटा पसल भएकोले आफ्नोमा आउने बनाउन धेरै गाह्रो छ । सटर लिएरहरुकोमा धेरै सामान देखेर धेरैजना उतै जान्छन् । घुम्तीमा थोरै सामान भएकोले प्रायले हेर्दैनन् । त्यसैले सहजै किन्नेहरु थोरै आउँछन् ।

बेलाबेला नगरपालिका र प्रशासन आएर अनुगमन गर्छ । कहिले लेवल नभएको, कहिले महंगो बेचेको भन्छन् तर साहूबाट किनेर ल्याएको बेच्नेलाई कारवाही गर्ने, साहुलाई नगर्ने उनले गुनासो गरिन् । चैतेदशैं मेला लाग्दा मेला आयोजक र सामुदायिक वनलाई पनि चन्दा दिनुपरेको उनले गुनासो गरिन् । घुम्ती पसलमा खानेकुरा वा पानी राख्दा थप कर लगाउने गरेका छन् । ‘लगानी धेरै गर्न सक्ने भए हामी सटर लिएर व्यापार गथ्र्यौँ,’ उनले भनिन्, ‘सटरमा व्यापार गर्नेलाई र हामीलाई हेर्ने नजर एकै बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->