बागलुङ/पछिल्लो समय बागलुङमा डेंगी संक्रमण बढेको छ । धौलागिरि अस्पतालसहित गलकोट र बुर्तिवाङमा उपचारमा गएका अधिकांसमा डेंगी संक्रमण देखिएको छ ।
बर्षात सकिएर मौषम सफा भैरहेको समयमा बढेको डेंगीले स्वास्थ्यकर्मी, चिकित्सक र सरोकारवालाको चासो बढाएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार जिल्लाभर २ सय ५७ डेंगीका रोगी रहेका छन् । सदरमुकामस्थित बागलुङ नगरमा मात्रै १ सय ३६ संक्रमित भेटिएको उनले बताए ।
चिसो बढ्ने बेलामा पनि यसरी संक्रमित देखिएपछि जनस्वास्थ्यको चिन्ता बढेको हो । साथै जिल्लाका सुरक्षा निकाय सहितको टोलीले यो नियन्त्रणको खोजी गरेका छन् । आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले डेंगी संक्रमण रोकथाम गर्न जिल्ला व्यापी पहल गर्ने निर्णय गरेको छ । आइतवारै बागलुङ नगरपालिकामा पनि डेंगी नियन्त्रणकालागि सरोकारवालाको बैठक बसेको थियो ।
डेंगी रोगबारे सचेतना फैलाउने र सरसफाइ अभियान संचालन गराउने ती दुवै बैठकले निर्णय गरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । उनले आम नागरिकलाई स्वास्थ्य शिक्षा दिने गरी छलफल र निर्णय भएको पनि बताए । सोमबार बिहान देखि मुख्य बजार क्षेत्रमा खोज र नष्ट गर भन्ने अभियान चलाउने, त्यसमा प्रहरी, प्रशासन, नगरपालिका, जनप्रतिनिधि, आम नागरिक समेतको सहभागिता गराउने निर्णय भएको हो ।
बिद्यालय तहमा स्वास्थ्य शिक्षा दिने गरी सामाग्री तयार गर्ने, मोटरका ग्यारेज सहित घरघरमा पानी जम्न नदिने, जमेको देखिएमा फाल्ने काम गरिनेछ । घरघरमा पुजा गर्न राखिएका कलसमा समेत पानी जमेको, छतमा राखिएका गमलामा पानी जमेर डेंगीको लामखुट्टे उत्पादन भएको भेटिएको स्वास्थ्यकर्मीले बताए । त्यस बाहेक कक्षा कोठामा बालबालिका पढ्ने स्थानमा सरसफाइ नगर्दा लामखुट्टेको प्रकोप बढेको समेत पाइएको हो । त्यसकालागि बिद्यालयले पनि शनिवार वा समय मिलाएर सरसफाइ गर्ने, पानी जम्न नदिने र लक्षण देखिएमा तत्काल उपचारमा लैजाने निर्णय भएको बताइएको छ ।
जनस्वास्थ्य कार्यालयकी अधिकृत समिता घिमिरेका अनुसार हाल संक्रमण भएका २० प्रतिशत मात्र उपचारको दायरामा आएको बताइन् । कतिपय बिरामी भएर घरघरमा बसेको, समयमा उपचार नपाएको समेत बताइन् । पहिचान भएर उपचारमा आएकाबाट भन्दा पहिचान नभएका र संक्रमणमा परेर पनि उपचार नभएकाबाट संक्रमण फैलने खतरा रहेको उनले बताइन् । त्यसकालागि आगामी कात्तिक मसान्त सम्म नियमित खोज र नष्ट गर भन्ने परंपरागत उपाया बाहेक अन्य उपाया खोज्न सुझाव दिइन् ।
सरोकारवालाको बैठकमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, धौलागिरि आर्युवेदीक अस्पतालका प्रमुख डा. सरद पन्थी लगायतले पनि स्वास्थ्य शिक्षालाई बढाएर लैजान सकियो भने डेंगी सहित बिपतका समस्या समाधान गर्न सकिने बताएका थिए । साथै बैठकले दशवटै पालिका र सहर उन्मुख क्षेत्रमा डेंगी नियन्त्रणका कार्यक्रम लैजाने निर्णय समेत गरेको छ ।
डेंगी बाट बच्न घरमा रहेको पानी छोपेर राख्ने, शरिर ढाकिने गरी कपडा लगाउने, घर भित्र, कुनाकाप्चामा लामखुट्टे आउन नदिने, लामखुट्टे बिरुद्द औषधी छर्कने, गर्न पनि सरोकारवालाले सुझाएका छन् । अत्याधिक ज्वरो आएमा, जोनी र मांसपेशी दुखेमा, शरिरमा डावर वा बिबिरा आएमा डेंगी परीक्षण गर्न पनि सुझाइएको छ ।





