बागलुङ/गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि राज्यले खर्च उपलब्ध गराएको छ । मृतकलाई सहिद घोषणा गरेर रकम पनि दिने घोषणा भैसकेको छ । तर बागलुङ जिल्लाभित्र घर भएका घाइतेहरुको यकिन पहिचान र उचित ठेगाना खुल्न सकेको छैन ।
बिशेषगरी राजधानी काठमाण्डौं र पोखरामा घाइते भएका युवाहरुको ठेगाना नखुलेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले राज्यको राहत रकम दिनका लागि पनि पाएको छैन । प्रशासनले ती युवाहरुको खोजी अभियान थालेको छ ।
गृहमन्त्रालयमार्फत जिल्ला प्रशासनमा घाइते र मृतकलाई दिने रकम आएपनि यकिन ठेगाना र पहिचान नभएपछि दिन नसकेको अवस्था आएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए । गृहमन्त्रालयले पठाएको घाइतेको तालिकामा बागलुङ घर भएको बताइएपनि यकिन ठेगाना नखुलेको हो । ती घाइते राजधानीसहित विभिन्न सहरका अस्पतालमा उपचार गराएकाहरु हुन् ।
घाइतेमध्ये अभियानकर्मीको रुपमा चिनिएका बागलुङ नगरपालिका वडा नं. ३ का सोम शर्मा समेत छन् । उनको भने स्थानीयले ठेगाना बताइदिएकोले जानकारी पाएको गुरुङले बताए । शर्मा पनि राहत लिनका लागि जिल्ला आएका छैनन् । उनी अहिले पनि राजधानीमै जेनजी आन्दोलनकारीसँग थप कार्यमा सक्रिय छन् । उनी सामान्य घाइते हुन् ।
त्यस बाहेक संघर्ष भुषाल, मनोज सुनार, नारायण सत्याल र किरण थापा मगरको ठेगाना र अभिभावकको समेत जानकारी नपाइएकोले आएको राहत रकम पनि दिन नसकेको उनले बताए । ‘अस्पष्ट र नाम मात्र रहेको छ, उनीहरुले उपचार गराएको अस्पतालको ठेगाना छ, तर वास्तविक ठेगाना खुलाइएको छैन’ गुरुङले भने, ‘सामाजिक अगुवाहरुलाई सोधेर उनीहरुको पहिचान गर्ने काम भैरहेको छ ।’ राहत आइसकेकोले बुझेर उपचार खर्चमा लगाउन प्रशासनले सूचना पनि जारी गरेको छ ।
भदौ २३ गते मृत्यु भएका सौरन किशोर श्रेष्ठको पनि काठमाण्डौंको ठेगाना उल्लेख गरिएको थियो । उनको पुख्र्यौली घर बागलुङ नगरपालिका वडा नं. ४ हो । उनका अभिभावक काठमाण्डौंको बनस्थलीमा बस्ने भएकोले आएको राहत रकम जिल्ला प्रशासनले श्रेष्ठका बाबु बसन्तकिशोर श्रेष्ठको नाउँमा पठाइदिएको बताए ।
घाइतेहरु अहिले पनि विभिन्न अस्पतालमा उपचार तथा फलोअपमा छन् । उनीहरुलाई उपचार खर्चको रुपमा रकम आवस्यक भएपनि खोजी गर्न कोही नआएकोले जिल्ला प्रशासनकै खातामा रहेको हो । दशै अघि नै आएको रकम बितरण गर्न नसकिएको उनले बताए । मृतकको हकमा भने सरकारले सहिद घोषणा गरेको छ । सहिद परिवारलाई भने १५ लाख रुपैयाँ पठाइएकोमा असोज १२ गते हस्तान्तरण गरिएको थियो ।
जेनजी आन्दोलनको क्रममा बागलुङमा भने अप्रिय घटना भएको थिएन । आन्दोलनकारीले जिल्लास्थित क्रियशिल राजनीतिक दलको पार्टी कार्यालय जलाएका थिए । त्यस बाहेक मानवीय र अन्य भौतिक क्षति नभएको हो ।





