पोखरा/बैठकस्थल कस्तो हुनुपर्छ ? भवन, त्यसभित्र फराकिलो र लचिलो कोठा, आरामदायी कुर्सी र टेबल । अहिले प्रविधिको जमाना भएकाले इन्टरेनटसहित सूचना प्रविधियुक्त संरचना, बाहिरी आवाज वा अवाञ्छित बाधा नपुग्ने, चियानास्ताको व्यवस्था, शान्त वातावरण । बैठकस्थलका लागि नभइ नहुने यस्तै यस्तै न्यूनतम पूर्वाधार हुन् । तर, पोखरा–१४ को मेलमिलाप टोलमा भने अचम्मको दृश्य देखिएको छ । स्थानीय मेलमिलाप टोल विकास संस्था र आमा समुहले सार्वजनिक बाटो ढलान गरेर सडक नै अवरुद्ध गरी ट्रष्ट बनाएका छन् । यसका लागि वडा कार्यालयबाट गत आर्थिक वर्षमा बजेट निकासा समेत भएको छ । संस्थाले अन्य व्यक्ति विशेषबाटसमेत आर्थिक सहयोग जुटाएर ढलान गरिएको बाटामै ट्रष्ट बनाएका हुन् । विभिन्न दाताको सहयोगमा फलामका कुर्ची राखिएको छ । छेउमै शौचालय पनि बनेको छ, र ट्रष्टमा लेखिएको छ, ‘पोखरा महानगरपालिका वडा नं. १४ को सहयोगमा मेलमिलाप टोल विकास संस्था एवं मेलमिलाप आमा समुहद्वारा निर्मित बैठक स्थल ।’
ट्रष्ट जस्ता पाताले छाइएको छ । त्यसमा पनि विभिन्न दाताहरुले आर्थिक सहयोग गरेका छन् । उक्त स्थानमा झन्डै ४० मिटर जति सडक ढलानका लागि आर्थिक वर्ष २०८१/०८२ मा वडाबाट ३ लाख ५० हजार रुपैयाँ निकासा भएको छ । योजनाको नाम अनुसार बाटो ढलान पनि भएको छ । तर सोही ढलान बाटो छेकेर ट्रष्ट बनाइएपछि केही स्थानीयको बिरोध छ । ट्रष्टको दुवैतर्फ व्यक्तिका जग्गा छन् । उक्त ढलान बाटो अवरुद्ध भएपछि सवारी साधन भएका स्थानीय समस्यामा परेका छन् ।
‘विकास हुनु नराम्रो होइन् । तर सर्वसाधारण ओहोरदोहोर गर्ने सडक नै रोकेर खुला ठाउँमा बैठकस्थल बनाउनु कत्तिको जायज हो’, एक स्थानीयले भने, ‘यो विकासका नाममा बेथिति भयो । संगैका जग्गालाई पनि असर पुग्ने भयो ।’
स्थानीयका अनुसार उक्त स्थान कुनै पनि हालतमा पार्क र बैठकस्थल बन्न सक्दैन, अहिले दिनदहाडैदेखि राती पनि असामाजिक क्रियाकलाप हुन थालेका छन् । उक्त टोल संस्थामा ६९ घर समावेश छन् । ती मध्ये ६८ घरबाट १५ सय रुपैयाँका दरले रकम उठाइएको थियो । एक घरले नदिएको र टोलका सदस्य भन्दा बाहिरका २ जनाले पनि जनही १५ सय रुपैयाँ ट्रष्ट बनाउन सहयोग गरेका थिए । टोल विकास संस्थाको बैठकबाटै निर्णय गरेर रकम उठाइएको थियो ।
मेलमिलाप आमा समुहकी अध्यक्ष चित्रासेन ठकुरीले वडा कार्यालयसंगको सल्लाहमै ट्रष्ट बनाइएको बताइन् । ‘टोलबासीलाई घाम पानीबाट जोगाउन र वृद्धवृद्धालाई पनि विश्रामस्थल हुने भएकाले बनाइएको हो’, ठकुरीले भनिन्, ‘ट्रष्ट एउटा चौपारी हो ।’
टोल विकास संस्थाका अध्यक्ष क्या.दानबहादुर थापाले ट्रष्ट टोलबासीका लागि बनाइएको बताए । ‘जग्गा धनीकै सहमतिमा बाटो ढलान गरिएको हो । ट्रष्ट बनाइएको हो’, उनले भने, ‘यसलाई एउटा ठाँटीजस्तै बनाइएको हो । बैठक पनि बस्न मिल्ने, घामपानीमा पनि बस्न मिल्ने ।’ संस्थाका सचिव ज्ञानबहादुर थापाले बार निकालेर गाडी पनि छिर्न मिल्ने बनाइने भन्दै सबैको सहमतिमा बनाइएको र पारदर्शिताका साथ काम गरिएको दावी गरे ।
पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले सडकै रोकेर ट्रष्ट बनाएको बारे अनभिज्ञता प्रकट गरे । ढोरपाटनको जिज्ञासापछि उनी निर्माणस्थल पुगेर टोल विकास संस्थाका पदाधिकारीसंग भेटघाट गरेका थिए । ‘मलाई ट्रस्ट बनाएको ठाउँबारे थाहा थिएन, यस विषयमा सुनेपछि गएर हेरेको हुँ,’ वडाध्यक्ष कार्कीले भने, ‘सडक अवरुद्ध हुने गरी राखिएको फलामे बार हटाएर साना सवारी साधन ओहोरदोहोर गर्ने व्यवस्था मिलाउन भनेको छु ।’ उक्त सडक र ट्रष्टको उद्घाटन शुक्रबार वडाध्यक्ष कार्कीले गर्ने तय भएको छ ।





