सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

लेखापढी कानुन व्यवसायीको अग्रसरतामा कास्की मालपोतमा अस्थायी कार्यालय निर्माण

लेखापढी कानुन व्यवसायीको अग्रसरतामा कास्की मालपोतमा अस्थायी कार्यालय निर्माण

तत्काल सेवा प्रवाहमा सहज होस भनेर लेखापढी कानुन व्यवसायी पोखरा इकाईको पहलमा विभिन्न दाताहरुसंगबाट सहयोग जुटाएर मालपोत कार्यालयमा २ अस्थायी कार्यालय र लाखै रुपैयाँका फर्निचरसहित कार्यालय सामाग्री हस्तान्तरण गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८२, बिहिबार

पोखरा/जेनजी प्रदर्शनका क्रममा पूर्णरुपमा क्षतीग्रस्त मालपोत कार्यालय कास्कीमा तत्कालै सेवा प्रवाह गर्न मिल्ने गरी नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति पोखराले २ वटा अस्थायी कार्यालय बनाएर हस्तान्तरण गरेको छ । एसोसियशनको ३१ औं स्थापना दिवसको अवसर पारेर इकाईले मंगलबार कार्यालय सञ्चालन गर्न मिल्ने गरी बनाइएकासंरचना हस्तान्तरण गरेको हो । संरचनासंगै अन्य कार्यालय सामाग्री पनि इकाईले उपलब्ध गराएको छ ।

इकाई अध्यक्ष मौसम कार्कीका अनुसार २ वटा अस्थायी कार्यालय निर्माणका लागि साढे २१ लाख रुपैयाँ खर्च भइसकेको छ । यसैगरी एउटा कार्यालयका लागि १४ लाख मूल्य बराबरका फर्निचर र २३ लाख मूल्य बराबरका कम्प्युटरलगायत कार्यालय सामाग्री पनि उपलब्ध गराइएको उनले बताए । ‘तत्काल सेवा प्रवाहमा सहज होस भनेर इकाईको पहलमा विभिन्न दाताहरुसंगबाट सहयोग जुटाएर अस्थायी संरचना र कार्यालय सामाग्री हस्तान्तरण गरेका हौ’, अध्यक्ष कार्कीले भने, ‘सहयोग आउने क्रम जारी छ । निर्माणका काम पनि हुदैछन् । यकिन खर्च केही समय पछि आउने छ । अहिले केवल संकटका बेला सहयोग गरेका हौ ।’ पोखरा उद्योग वाणिज्य संघ, गण्डकी आवास व्यवसायी संघलगायत लेखापढी व्यवसायी, शुभेच्छुक व्यक्ति, संघसंस्था संस्था र व्यवसायिक प्रतिष्ठानहरूबाट सहयोग सङ्कलन गरिएको उनले बताए । जेन जी प्रदर्शनका क्रममा भदौ २४ मा भएको आगजनीबाट मालपोत कार्यालय खण्डहर बनेको थियो ।

भवन तथा कार्यालय सामाग्री हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भदौ २३ र २४ गतेको आन्दोलनमा घुसपैठ गरि जेनजीलाई बदनाम गर्ने प्रयास भइरहेको बताउँदै धमिलो पानीमा माछा मार्ने काम भएको उल्लेख गरे । काठमाडौँ पछाडि बाहिरी जिल्लाका मानिसहरूले सबैभन्दा बढि जग्गा खरिद गरेको जिल्लाका रुपमा कास्की रहेको उनको भनाई थियो । पोखरा महानगरपालिकामा मात्रै एक लाख ४८ हजार सात सय २५ घर रहेको सुनाउँदै उनले आगजनीका कारण ती घर र त्यससँग सम्बन्धित अचल सम्पत्तीको स्रेस्ता भएको मालपोत कार्यालय कास्कीमा हाल कुनैपनि भौतिक रेकर्ड बाँकी नरहेकोप्रति दुःख व्यक्त गरे ।

पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गर्नेक्रममा गत फागुन ३ गते हाइड्रोजनले भरिएको बेलुन पड्किएर घाईते भएको स्मरण गर्दै उनले जेनजी आन्दोलनको क्रममा घुसपैठ गरि त्यस्तै प्रकारका अतिप्रज्ज्वलनशील पदार्थ प्रयोग भएको हुनसक्ने आशङ्का व्यक्त गरे । मेयर आचार्यले जेनजी आन्दोलनमा भएको आगजनीबाट पोखरा महानगरपालिकाका २६ वटा वडामा क्षति पुगेको र ती वडाहरूलाई असोज १ गतेदेखि सञ्चालनमा ल्याइएको बताए । आगजनीबाट महानगरमा २ अर्बभन्दा बढिको क्षति भएपनि महानगरभित्र रहेका सार्वजनिक सेवासँग जोडिएका कार्यालयहरू सञ्चालनमा आउनुपर्छ भनेर सकेको साथ र सहयोग अगाडि बढाइरहेको उनको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले कास्कीमा यातायात कार्यालय मार्फत ब्लुबुकको सन्दर्भमा सबै काम सुचारु भएको र लाइसेन्ससम्बन्धी काम भने केन्द्रिय सर्भरका कारण देशभर नै अवरुद्ध रहेको र तत्कालै सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको बताए । गण्डकी प्रदेशमा राजस्वको दायरा कम भएका कारण पनि प्रदेश मातहतका कार्यालयहरूको पुनःनिर्माणमा समस्या आएको घिमिरेले बताए ।

मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पोखरेलले जति सक्दो चाँडो मालपोत कार्यालयको सेवा पुनः सुचारु गर्ने बताए । कार्यालय सञ्चालन एवं पुनः निर्माणका लागि थुप्रै व्यक्ति तथा संस्थाले सहयोग गरेको बताउँदै सहयोगीहरुप्रति उनले आभार व्यक्त गरे ।

इकाइ अध्यक्ष मौसम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार कृष्ण कंडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखापढीका गण्डकी संयोजक खडानन्द लामिछाने, इकाइ पोखरा कोषाध्यक्ष नरेश तिवारीले बोलेका थिए भने कार्यक्रमको सञ्चालन लिला गिरीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->