पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चालु आर्थिक वर्षमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा विनियोजित नयाँ र मुख्यमुख्य कार्यक्रमहरुको विवरण सार्वजनिक गरेका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत मन्त्री पाठकले ४३ बुँदे विवरण सार्वजनिक गर्दै कार्यक्रमले नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने विश्वास गरे ।
गण्डकी प्रदेश अन्तर्गतका १४ वटा अस्पतालको स्वीकृत शैया संख्या ३ सय बाट ७ सय ५० पु¥याइएकोले सोहि बमोजिम सेवा प्रवाह हुने गरी बजेट तथा कार्यक्रमको व्यवस्था गरिएको उनले जनाए । यसैगरी ९ वटा अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको दरबन्दी थप गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषदबाट स्वीकृत गरी पठाइएको छ । प्रदेश जनस्वास्थ्य सेवा विधेयक तयार गरी गण्डकी प्रदेश सभामा पेश भई छलफलका लागि विषयगत समितिमा गएको, धौलागिरी प्रादेशिक अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पताललाई १०० शैय्यामा स्तरोन्नती गरी प्रतिअस्पताल १६ विशेषज्ञ चिकित्सक सहित ९९ दरवन्दी कायम गरिएको छ ।यसैगरी प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, मातृशिशु मितेरी प्रादेशिक अस्पताल, प्रदेश अस्पतालहरू, तनहुँ, पर्वत, स्याङ्जा, बुर्तिवाङ र आँपपिपल अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रतिअस्पताल १३ विशेषज्ञ चिकित्सक सहित ६९ दरवन्दी कायम गरिएको छ ।
साथै प्रदेश अस्पताल, मनाङ र मुस्ताङलाई २५ शैय्यामा स्तरोन्नती गरी प्रतिअस्पताल ३ विशेषज्ञ चिकित्सक सहित ३९ दरवन्दी कायम गरिएको छ ।
गण्डकी आयुर्वेद अस्पताल, कास्की र धौलागिरी आयुर्वेद अस्पताल बागलुङमा अन्तरंग सेवा संचालनका लागि ४ विषेशज्ञ चिकित्सक सहित प्रतिअस्पताल २९ जना कर्मचारीहरु रहने र यसका लागि बजेट सहित कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित अस्पतालमा पठाइएको, विभिन्न आश्रममा रहेका आश्रित तथा असहायहरुलाई आश्रममै पुगेर कम्तिमा दुई महिनाको एकपटक विशेषज्ञ चिकित्सकहरुको टोलीद्वारा निशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको उनले बताए ।
यसैगरी प्रदेश अस्पतालमा जन्मजात रोग पहिचान गर्न निशुल्क रुपमा नवशिशु स्क्रिनिङ कार्यक्रम, मनाङ र मुस्ताङ बाहेकका अस्पतालमा बालबालिकामा हुने बाथ तथा मुटुरोगको निशुल्क स्क्रिनिङको व्यवस्था, बुर्तिवाङ, स्याङ्जा, तनहुँ, मध्यविन्दु र धौलागिरी अस्पतालमा इमर्जेन्सि ट्रमा केयर युनिट स्थापना, मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपुरमा बौद्धिक अपाङ्गता एवं अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरिएको उनको भनाई छ ।
अस्पतालमासिटी स्क्यान मेसिन खरिद, मातृशिशु मितेरी प्रादेशिक अस्पताल पोखरामा निःसन्तान उपचार केन्द्र स्थापना, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल पोखरामा नियमित डायलायसिस गर्नुपर्ने बिरामीका लागि आवश्यक एभि फिस्टुला निःशुल्क निर्माण गरी सेवा उपलब्ध हुने व्यवस्था मिलाइनुका साथै मन्त्रालय माताहतका नौ वटा विभिन्न अस्पतालमा हेमोडायालासिस सेवालाई थप व्यवस्थित र परिमार्जित गरी संचालनमा ल्याइएको छ । मध्यविन्दु अस्पताल, नवलपुरमा कृत्रिम हातखुट्टा निर्माण परियोजना संचालनमा ल्याइएको छ भने धौलागिरी, गोरखा र मध्यविन्दुमा आँखा उपचार शिविर एवं मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने गरी बजेट तथा कार्यक्रम को व्यवस्था गरी पठाइएको उनले जनाए ।
धौलागिरी आयुर्वेद अस्पताल बागलुङ, गण्डकी आयुर्वेद अस्पताल कास्की र प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा गुदारोगको निशुल्क स्क्रिनिङ तथा उपचार, यी तीन र आयुर्वेद चिकित्सालय नवलपुरमा निशुल्क स्वर्णप्राशन कार्यक्रम, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई यातायात तथा संचार खर्च उपलब्ध, प्रदेश मातहतका सबै अस्पतालहरुमा आमा तथा नवजात शिशु कार्यक्रम, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीको सेवा विस्तार गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइयो ।
६० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरू र १० वर्ष मुनिका बालबालिकाहरू तथा अति गरिव, विपन्न एवं बेवारिसे व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण सहित बहिरंग सेवा प्रदान गरिने कार्यक्रमलाई थप व्यवस्थित गरिएको, विद्यालय नर्स कार्यक्रमलाई परिमार्जित रूपमा संचालन, मनाङ र मुस्ताङमा उच्च भेगिय स्वास्थ्य सेवा कार्यक्रम संचालनमा ल्याइएको, सबै अस्पतालहरुबाट रगत तथा रक्तजन्य पदार्थहरु निःशुल्क वितरण गर्ने कार्यक्रमलाई थप व्यवस्थित गरी कार्यान्वयनमा लगिएको उनले बताए ।
समुदायस्तरमा क्षयरोग रोग सम्बन्धी खोज पड्ताल तथा निशुल्क स्क्रिनिङ कार्यक्रम, नसर्ने तथा मानसिक रोगको निशुल्क स्क्रिनिङ, निगरानी तथा उपचार, विभिन्न अस्पतालका भवन निर्माण भइरहेको, क्यान्सर बिरामीका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट थप एक लाख बराबरको उपचार सहायता रकम उपलब्ध गराउने गरी वि.पि. कोइराला मेमेरियल क्यान्सर अस्पताल भरतपुर, वीर अस्पताल काठमाण्डौ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, निजामती कर्मचारी अस्पताल काठमाण्डौ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र कान्ति बाल अस्पताल काठमाण्डौसंग सम्झौता सम्पन्न भई कार्यान्वयनमा ल्याइएको, जोखिमका परेका गर्भवती र नवशिशुहरुको निःशुल्क हवाई उद्वार (एयर लिफ्टिङ) को व्यवस्था, विभिन्न अस्पतालमा एम्बुलेन्स खरीद, जिल्ला जनस्वास्थ्य कार्यलयलाई सवारी साधन, केही अस्पतालमा विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम, प्रयोगशाला सूचना प्रणाली स्थापना तथा संचालन गरी विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणालीमा एकीकरण, प्रदेशस्तरका सबै अस्पतालहरुलाई न्यूनतम सेवा मापदण्डको अधिकतम पालना र गुणस्तर सुधारको लागि अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली मोनिटरिङ पोर्टल र निगरानी (सर्भिलेन्स) प्रणाली स्थापना गर्नेगरी समग्र स्वास्थ्य सेवालाई विद्युतीकरणको काम अघि बढाइएको गण्डकी प्रदेशभित्रका शहिद र बेपत्ताका परिवार, द्वन्दपीडित, जन आन्दोलन, सशस्त्र युद्ध, मधेस आन्दोलन, थरुहट आन्दोलनका घाईते तथा ‘ख’ वर्गका अपाङ्ग र अस्पतालमा नियमित डायलाईसिस सेवा लिइरहेका व्यक्ति र लैंगिक तथा यौनिक अल्पसंख्यकका बढिमा ५ जनासम्म परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने वा बीमा नवीकरण गर्ने एवं गण्डकी प्रदेशका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई व्यवस्थित बनाइएको, प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र र सो मातहतको एम्बुलेन्स प्रेषण केन्द्रलाई मन्त्रालय मार्फत परिमार्जित रूपमा सञ्चालन गर्नेगरी बजेट तथा कार्यक्रमको व्यवस्था गरिएको उनले बताए ।
मन्त्री पाठकले यी कार्यक्रमको कार्यान्वयनबाट प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिए । उनले मन्त्रालय मातहतका निकायले तदारुकताका साथ कार्यक्रम कार्यान्वयन गर्ने र कहीँकर्त ढिलासुस्ती भएमा मन्त्रालय, आफ्नो सचिवालय र आफुलाईसमेत सम्पर्क गर्न भनेका छन् ।





