पोखरा/ ‘नागरिक प्रहरी सहकार्य– सुरक्षाको लागि अपरिहार्य’ भन्ने मुल नारासाथ गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा ७० औं प्रहरी दिवस आज पोखरामा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक दिनेश कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कर्तव्य पालनको शिलशिलामा अमरत्व प्राप्त गरेका अमर प्रहरी स्मारकमा पुष्पहार तथा अन्य सहभागीको तर्फबाट पुष्प गुच्छा अर्पण गरिएको थियो । गण्डकी प्रदेश प्रहरी गण, पोखरामा भएको कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।
सहभागीलाई धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेश कुमार आचार्यले हालसालै देशमा भएको असामान्य परिस्थितीले प्रहरी कर्मचारीहरुको मनोबल घटाउन खोजेपनि राष्ट्र सेवामा प्राण उत्सर्ग गर्न तयार भएर संगठनमा आवद्द भएका प्रहरी कर्मचारीलाई झनै कर्तव्यनिष्ठ बनाएको बताउदै विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राबिधिक प्रहरी बरिष्ठ उपरीक्षक अभिमन्यु श्रेष्ठले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यूको शुभकामना सन्देश बाचन गरेका थिए ।





