सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

‘मिथ्या सूचना रोक्न मर्यादित बनौं’

‘मिथ्या सूचना रोक्न मर्यादित बनौं’

संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित मिथ्या र भ्रमपूर्ण सूचनाको चनौती र समाधान विषयक सरोकारवालासंगको अन्तरक्रियाका सहभागीले राजनीति र कुटनीतिक क्षेत्रमा र विपत्तीका बेला भ्रमपूर्ण सूचना फैलने गरेको सुनाए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८२, शनिबार

पोखरा/मिथ्या र भ्रमपूर्ण सूचनाले समाजमा नकरात्मक असरलाई बढावा दिने भएकाले यस्ता सूचना प्रवाह गर्न नहुनेमा आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले पत्रकार र सञ्चार माध्ययम आचारसंहिता र मर्यादामा रहेमा पनि गलत सूचना प्रवाहमा कमी हुने बताए ।

संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित मिथ्या र भ्रमपूर्ण सूचनाको चनौती र समाधान विषयक सरोकारवालासंगको अन्तरक्रियाका सहभागीले राजनीति र कुटनीतिक क्षेत्रमा र विपत्तीका बेला भ्रमपूर्ण सूचना फैलने गरेको सुनाए । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्माचार्यले समाचार पूर्ण नहुने, एकतर्फी सूचना, समाचारको प्रभाव के हुन्छ भन्नेतर्फ ध्यान नदिने र नकरात्मक नकरात्मक समाचारमा जोड दिने कुरालाई सुधार्नुपर्ने बताए । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक भीमनाथ बरालले राजनीति र कुटनीतिमा सूचनालाई तोडमोड गर्ने र प्रोपोगान्डालाई एउटा औजारको रुपमा लिने गरेको उल्लेख गरे ।

नागरिक समाजका अगुवा रामबहादुर पौडेलले आफुले तथ्यमा रहेर सामाजिक सञ्जालको प्रयोग गर्दै आएको र कार्यक्रमले थप सचेत बनाएको धारणा व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सुनेको भन्दा देखेकोमा सत्यता हुने भन्दै गलत सूचनाले वर्षौदेखिको ब्रान्ड ध्वस्त हुने बताए । पत्रकार आचारसंहिता र मर्यादामा रहेमा अरु स्वत सुधारिने दावी गर्दै उनले मुल धारका मिडियाले पनि गलत सूचना दिएका हुन कि भन्ने लाग्न थालेको र मिथ्यापूर्ण र भ्रमपूर्ण समाचार नदिई कतै पनि नलोभिइ अघि बढ्न सुझाव दिए ।

अपांगता भएका व्यक्ति डण्डपाणी ढकालले नबुझीकन समाचार सम्प्रेषण गर्दा क्षति पुग्ने गरेको र नकरात्मक असर पर्न गएकाले आचारसंहिता लागु भएमा भ्रामक समाचार कम हुने बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले समाजका व्यक्तिले नै मिथ्या र भ्रमपूर्ण समाचार दिने र यसको समाधान पनि हामीले नै गर्नुपर्नेमा जोड दिए । नैतिकता विर्सेपछि गलत सूचना प्रवाह हुने भन्दै उनले घर, छिमेक, समाज सम्झेमा भ्रमपूर्ण सूचना नहुने जनाए । मानसिक स्वास्थ्यमा कार्यरत सुदीप घिमिरले विपत्तीको बेला (जहाँ अनिश्चितता हुन्छ) मिथ्या सूचना प्रवाह बढी हुने बताए । उनले कतिपय मिथ्या सूचनाले मानसिक स्वास्थ्यमा असर पुग्ने भएकाले मिडियाले विश्लेषण गरेर समाचार दिनुपर्नेमा जोड दिए । इन्सेक गण्डकी संयोजक गणेश भण्डारीले भ्यूज बढाउने र भाइरल हुने होडबाजीले समस्या आएको उल्लेख गरे । नकरात्मक समाचार बिकाउ हुने भएकाले जोड दिने गरिएको भन्दै यसलाई सच्चाउन आवस्यक रहेको उनले बताए । पत्रकार महासंघ कास्की उपाध्यक्ष कञ्चन थापाले ब्रेकिङ समाचार दिने क्रममा मिथ्या समाचार दिने गरिएकाले यसलाई सच्चाउनु पर्ने बताइन् ।

सहभागी कृष्णप्रसाद तिमिल्सिना, पर्यटन व्यवसायी पार्वती रेग्मी पौडेलले पत्रकार र सामाजिक संजाल प्रयोगकर्ता संयमित हुनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले गलत सूचनाले समाजमा भ्रम र अविश्वास उत्पन्न गराउने भएकाले सचेत हुनुपर्ने बताइन् । पत्रकार फणिन्द्र अधिकारी, टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले मिथ्या र भ्रम नै चुनौतीका रुपमा रहेका र यसैका कारण देशको यो अवस्था आएको होकी भन्ने भनाइ राखे । नारी जागरण अभियान संयोजक अन्जु केसीले मिथ्या सूचनाका कारण देश जलेको बताइन् । सहभागी किशोर सुवेदी, मुक्ति समाजका हरि बराइलीले मिथ्या र भ्रमपूर्ण सूचना प्रवाहको नियमन हुनुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले मिथ्या र भ्रमपूर्ण समाचारले समाज, मुलधारका मिडियालाई बिगारेको भन्दै यसतर्फ नागरिक जिम्मेवार बन्नु पर्नेमा जोड दिए । गण्डकी प्रदेश सभा सचिव गोविन्द पौडेलले सकरात्मक आलोचनात्मक समाचार आवस्यक रहेको भन्दै नकरात्मक समाचारले समाजमा उच्छृंखलता उत्पन्न हुने बताए । पकारितामा स्वअनुशासन आवस्यक रहेको उनले बताए । एमाले प्रतिनिधि झmपट रानाभाटले नकरात्मक भित्र सकरात्मकताको खोजी गर्नुपर्ने बताए । पोखरा उच्च बार अध्यक्ष शालिग्राम भट्टराईले बुझेर मात्रै लेख्नु पर्ने भन्दै गलत सूचनाको नियमनमा जोड दिए । माओवादी कास्की संयोजक विश्वप्रकाश लामिछानेले मिथ्या सूचनाका कारण जेन जी आन्दोलनमा घुसपैठ भएर भौतिक संरचनामा ठूलो क्षति पुगेको उल्लेख गरे । उनले गलत सूचना प्रवाह नगर्ने प्रतिबद्धता जनाए । कांग्रेस कास्की सभापति किशोरदत्त बरालले स्वतन्त्र र मर्यादित पत्रकारिता नभएसम्म मिथ्या र भ्रमपूर्ण समाचार आइरहने बताए । यसले समाजलाई पीडा दिएको भन्दै उनले पनि गलत सूचना प्रवाह नगर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य केशवशरण लामिछानेले मिथ्या सूचना, दुष्प्रचार विषयमा प्रस्तुति गर्दै कस्तो बेलामा मिथ्या समाचार फैलाइन्छ र कसले फैलाउँछ भन्ने केही उदाहरण पेश गरेका थिए । प्राय सामाजिक सञ्जालबाट मिथ्या समाचार फैलिने, यसको रोकथामका उपाय, पत्रकार र सञ्चार माध्ययम कसरी जोगिने भन्ने लगायत विषयमा उनले प्रस्तुति दिएका थिए । मञ्चका अध्यक्ष विशन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष भरत कोइरालाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->