बागलुङ/जागिर खाएको ८ वर्ष मात्र भयो । तर उनको मेहेनन भने लोभलाग्दो छ । नेपालको सबैभन्दा दुर्गममा बसेर उनले सेवा गरेकी छिन् । त्यसैमा उनी खुसी समेत छिन् । बैतडीको सिगास गाउँपालिका वडा नं. ४ की २० वर्षिय लक्ष्मी धामीले गत साउन ८ गते जन्माएको शिशु निसासिएपछि श्वास फेरेका थिएनन् । जन्मेपछि नरोएका शिशुलाई के गर्ने, कता लैजाने निधो नहुँदा परिवारका सदस्य आत्तिए । उपचारका लागि लैजाने स्थान टाढा थिए । त्यो अवस्थामा उनले लगातार ६ घण्टा कृतिम श्वास दिएर शिशुलाई बचाएकी थिइन् । उनी हुन् बैतडीकी जानकी पुजारा ।
शिशुलाई बचाउन सक्दा उनको हर्षका आँसु आएका थिए । आफ्नो सन्तानलाई भन्दा बढी माया गरेर उनले पछिसम्म लक्ष्मीको शिशुको फलोअप गरिरहिन् । उक्त तस्बिर उनले सामाजिक संजालमा राखेपछि सेवाको चर्चा चुलियो । सामाजिक संजालमा उनी भाइरल बनिन् । उनको सेवाबारे तत्कालिन बचाएको घटना सार्वजनिक भएपछि तत्कालिन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले फोन गरेर बधाइ दिए । पुजाराले बधाइ स्विकार्दै यो अभियानमा आफ्नै पति र परिवारले साथ दिएकोले समयको परवाह नगरी सेवा गर्न सकेको बताइन् । पुजाराको पनि २ वर्षिया छोरी छिन् । छोरी पतिले हेरचाह गरिदिएकोले उनले रातभर सेवा गर्न पाएको बताइन् ।
लक्ष्मीले रातको ९ बजे शिशु जन्माउँदा अचेत जस्तै थिए । सितांग थिए । तत्काल हेलिकोप्टरबाट उद्दार गर्न सकिने अवस्था थिएन । गाडी चढ्ने ठाउँ पुग्न चार घण्टा पैदल हिंड्नु पथ्र्यो, त्यसैले कृतिक श्वास दिनुको विकल्प भएन । गाडी पाएपछि पनि थप ४ घण्टाको यात्रापछि मात्र उपचार गर्ने अस्पताल भएको डडेलधुरा पुगिन्थ्यो । त्यो समयसम्म बचाउन सकिने संभावना नै नदेखेपछि पुजाराले आँफै कृतिम श्वास दिन थालेकी थिइन् । उनले यो समस्या ग्रामीण स्वास्थ्य संस्थाहरुको नियमितता जस्तै भएको बताइन् ।
बागलुङका पनि ग्रामीण बस्तीमा यस्तै सेवा चाहिएको उनको भनाइ छ । घरघरमा प्रसूती हुन खोज्नेलाई उनले स्वास्थ्य संस्थामा जान सल्लाह पनि दिइन् । बर्थिङ सेन्टर नभएको स्थानमा आमा र शिशुको ज्यान खतरामा पर्ने उनले बताइन् । समयमै बर्थिङ सेन्टरमा लैजान उनले सुझाव दिइन् । ‘मैले उज्यालो नहुन्जेल कृतिम श्वास दिने लक्ष्यले काम गर्दा बिहान ४ बजे शिशु रोएपछि बल्ल खुसी भएकी थिएँ’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीले यस्ता सबै समस्या भोग्न तयार रहनुपर्छ ।’ ग्रामीण क्षेत्रका अनमी र स्वास्थ्यकर्मीको यस्तो नियमितता हुने उनको भनाइ छ ।
२०७४ सालमा अनमीबाट सेवा प्रवेश गरी डडेलधुरा, डोटी हुँदै बैतडी पुगेकी पुजाराले डेढ वर्षदेखि आधारभुत स्वास्थ्य केन्द्र कान्धारमा काम गर्दै आएकी छिन् । ग्रामीण क्षेत्रमा आउने प्रसूती व्यथाका महिलाहरुका धेरै समस्याबारे केन्द्रमा बुझ्न र सहयोग गर्न पाएको उनले बताइन् । उनको यो सेवा देखेर बागलुङस्थित डा. तरुण पौडेल चिकित्सा कोषले पुजारालाई पुरस्कार र सम्मान दिएको छ । कोषले नगद १५ हजारसहित उनलाई सम्मान गरेको हो ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले गत साता नै उनलाई पुरस्कृत गरेका थिए । ग्रामीण क्षेत्रमा बसेर स्वास्थ्य सेवा गर्ने चिकित्सक, पारामेडिक, अनमी र सामाजसेवीलाई गरिने सम्मान उनलाई दिइएको हो । सोही अवसरमा कोषले मानव अंग प्रत्यारोपणका संस्थापक डा. पुकारचन्द्र श्रेष्ठ, सिनियर अहेव जयप्रसाद कोइरी, बालबालिकाको हितमा क्रियशिल अनुपमान सैजु र सर्वस्व दान गरेर अस्पतालमा बस्ने पोखरा लेखनाथका दम्पत्ति रेवतीरमण पौडेल र शान्ति पौडेललाई सम्मान गरिएको हो । २०७० सालदेखि कोषले ग्रामीण क्षेत्रमा बसेर योगदान गर्ने चिकित्सक, अहेव र अनमीलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ ।





