बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आफ्नो जीवनमा राधा नस्विकार्ने सांसारिक रुक्मिणीहरु

आफ्नो जीवनमा राधा नस्विकार्ने सांसारिक रुक्मिणीहरु


  • ध्रुवसागर शर्मा
  • कार्तिक १ २०८२, शनिबार

म्याग्दी
धार्मिक तथा आध्यात्मिक साहित्य र धर्मग्रन्थहरुमा राधा र कृष्णको प्रेमलाई सर्वोच्च तहमा स्वीकार गरिएको छ । भगवान श्रीकृष्णकी प्रेमिका राधालाई आदिशक्तिको रुपमा पूजा गरिन्छ । भगवान कृष्णलाई कहिल्यै पनि पति बनाउन नसेकेकी, आफ्नो स्वामित्व देखाउन नचाहेकी र कृष्णसँग देह भन्दा पनि आत्माको सम्वन्ध स्थापित गरेर संसारभरी पुजित राधाको स्थान भगवान श्रीकृष्णकी पहिलो पत्नी रुक्मिणीले किन लिन सकिनन् होला ? यो प्रश्न हामी सबैको मनमा आउने गर्दछ ।

राधा र कृष्णको प्रेम संसारकै सबैभन्दा पवित्र, आत्मिक र अलौकिक मानिन्छ । भगवान श्री कृष्णले वृन्दावनमा बालापन विताउँदै गर्दा राधासंग भेट भएको थियो । गोकुलमा गाई चराउने गोप गोपिनीहरुमध्ये कृष्णका लागि राधा सबैभन्दा प्यारी थिइन् । राधा र कृष्ण जब एक अर्कालाई भेट्थे प्रकृति पनि रमाउदथिन् । नदीहरु सांगीतिक लयमा बग्थे । फूलहरु मुस्कुराउँदै फुल्थे । पंक्षीहरु गीत गाउँथे । तर त्यस्तो अन्तरंग प्रेम पनि सांसारिक रुपमा पूरा हुन सकेन ।

कृष्णले आफ्नो कर्तव्य निर्वाहका लागि वृन्दावन छोडे । राधाले हठ गरिनन् । रोकिनन् । पछि विदर्भ राज्यकी राजकुमारी रुक्मिण्ीसँग कृष्णको बिबाह भयो । रुक्मिणी कृष्णप्रति समर्पित पत्नी थिइन् । आफुबाहेक १६ हजार, एक सय, सात अन्य नारीहरुसँग श्रीकृष्णले बिबाह गर्दा पनि रुक्मिणीले कहिल्यै असन्तोष व्यक्त गरेका कुराहरुको वर्णन धार्मिक ग्रन्थहरुमा पाइँदैन । रुक्मिणीको कृष्णसँगको प्रेम आत्मीक रहस्यमय नभए पनि समर्पण र धर्ममा आधारित गहिरो प्रेम थियो । गृहस्थ जीवनमा धर्म,मर्यादा र समर्पणको आदर्शरुप मानिने रुक्मिणीले कृष्णलाई कहिल्यै शंका गरिनन् । कहिल्यै मेरो मात्र होओस् भन्ने चाहिनन् ।

कृष्णले बृन्दावनमा जब बासुरी बजाउथे बासुरीको धुन राधाको मनमा गुञ्जन्थ्यो ।उनीहरुको प्रेममा न त वाचा थियो न त वियोगको डर थियो । राधा भक्तिको महासागर थिइन् । राधा कृष्णको आत्मा थिइन् भने रुक्मिणी देह थिइन् ।

कृष्णको राधाप्रति र राधाको कृष्णप्रति अनन्य भाव थियो । अन्योन्याश्रित सम्वन्ध थियो । राधा कृष्णकी अर्धाङ्गिनी होइन,सर्वाङ्गिनी थिइन् । त्यसैले संसारले राधालाई कृष्णसँग जोडिदियो । पूर्णाङ्गिनी बनाइदियो ।

उता रुक्मिणीले राजधर्म र गृहस्थधर्म धानेर कृष्णलाई सम्पूर्ण लौकिक दायित्वबाट मुक्त गरिदिइन् । पत्नीको स्थान प्राप्त गर्न पाउनु नै आफ्नो अहोभाग्य ठानिन् । पति परायणताको यो भन्दा उच्चतमरुप अरु कुनै हुन नसक्ने उदाहरण प्रस्तुुत गरिन् ।

अव विषयमा केन्द्रित होऔं । मेरा एक जना मित्रले आफ्नी पूर्व प्रेमिकासँग मोवाइलमा सम्वाद गर्ने गरेको । फेसबुकमा साथी बनेको उनकी पत्नीले भेटिछन् । उनकी पत्नीलाई उनीहरुको पूर्व सम्वन्ध थाहा रहेछ । फेसबुकमा साथी बनेको र मोवाइलमा नम्बर सेभ गरेकै कारण पत्नी जंगिइछन् । झगडा नै भएछ ।

विषय सामान्य नै लाग्छ । तर,यो सामान्य लाग्ने विषयको अन्तर्य भने गहिरो र मनोवैज्ञानिक छ । यहाँ मेरो मित्र पत्नीको आफ्नो लोग्ने प्रतिको स्वामित्व र आफ्नो आत्मसम्मानको भाव आवेग बनेर पोखिएको पाइन्छ ।

जब कुनै श्रीमतीले उनका श्रीमानले पहिला कसैलाई मन पराउथे वा प्रेम गर्थे भन्ने कुरा सुन्छिन्,म मेरो लोग्नेको पहिलो रोजाइ रहेनछु भन्ने भाव उत्पन्न हुन्छ । त्यतिमात्रै होइन उनको (श्रीमानको) मन अझै पनि कसैसँग बाँडिएको छ कि भन्ने शंका उत्पन्न हुन्छ । यो असुरक्षाको भावना र आफूलाई अरुसँग तुलना गर्ने स्वभावले मनमा जलन ल्याउँछ । उनीहरुले आफ्नो जीवनमा राधाकृष्णको पूजा त गर्छन् तर वास्तविक जीवनमा राधाकृष्णको जस्तो सम्वन्धलाई स्वीकार्न सक्दैनन् । रुक्मिणी वन्न सक्दैनन् ।

समाजले बिबाहलाई एक अर्काप्रतिको पूर्ण अधिकार र एक निष्ठताको रुपमा परिभाषित गर्छ । अहिलेको समाजमा बिबाह सामाजिक सम्झौतामा मात्रै सीमित बनेको छ । आफ्नो जीवनसाथीले आफूप्रति पूर्ण ध्यान देओस् र निष्ठा राखोस् भन्ने हरेक श्रीमतीको चाहना हुन्छ । यो चाहना स्वभाविक नै हो । तर यस चाहनाको चौघेरोमा शंकाको विज रोपेर कलहको वृक्ष बढाउनु किमार्थ राम्रो कुरा होइन् । आफ्नी पूर्व प्रेमिकासँग बोल्नै नहुने,दुःख सुखका कुरा गर्नै नहुने,हाल खबर सोध्नै नहुने ।

यत्तिको भरमा आफ्नो जीवन साथीप्रति शङ्का गर्ने र कलहको अवस्था उत्पन्न गरिदिने यो त संकीर्णता हो । यहाँ कुरा श्रीमतीको मात्र होइन । श्रीमान्ले पनि आफ्नी श्रीमतीप्रति शङ्का गर्ने,उनका पुरुष साथी वा पूर्वप्रेमीसँग अदेहिक (आत्मिक) सम्वन्ध रहेको थाहा पाए नराम्रो सोच्नु पारिवारिक कलहको विजारोपण गर्नु हो । सांसारिक सम्वन्धमा अधिकार खोज्नु राम्रै कुरा हो । तर,आफूले अधिकार खोज्दै गर्दा आफ्नो जीवन साथीको अधिकार र आत्मसम्मानको पनि ख्याल राख्नु पर्छ ।

सम्वन्ध सबै राम्रा वा नराम्रा हुँदैनन् । सम्वन्धसँग गासिएको नियतले सम्वन्धको मर्यादालाई मापन गर्दछ । राधाको नियत कृष्णलाई पाउनु मात्रै हुन्थ्यो भने आज राधा कृष्णका साथमा पुजित हुन पाउने थिइनन् । रुक्मिणीले कृष्णलाई शङ्का गरेर स्वामित्वको हक जताउन खोजेकी भए कृष्ण, भगवान कृष्ण बनेर लोकमा धर्म स्थापना गर्न सक्ने अवस्थामा पुग्न सक्थे वा सक्दैनथे ।

एउटी श्रीमतीले आफ्नो श्रीमानलाई मालिक पनि बनाउन सक्छिन् र दास पनि । श्रीमान मालिक भए मालिक्नी बन्न पाउने श्रीमती नै हो पूर्व प्रेमिका होइन । आफ्नी श्रीमतीको साथ र विश्वास नै श्रीमान्का लागि सबैभन्दा बलियो हतियार हो भन्नेकुरा हरेक श्रीमतीले बुझ्न आवश्यक हुन्छ ।

त्यसैले राधा कृष्णको पूजा गर्ने र प्रेमलाई भगवत् प्राप्तिको माध्यम ठान्ने हरेक सांसारिक रुक्मिणीले आफ्नो पतिका सबै पूर्व सम्वन्धहरुलाई शङ्काको दृष्टिकोणले मात्र हेर्नु हुँदैन । त्यो सम्वन्धको मर्यादालाई बुझ्ने प्रयास गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->