सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु सबैको साझा दायित्व– मुख्यमन्त्री पाण्डे

संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु सबैको साझा दायित्व– मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८२, सोमबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बताएका छन् । तिहार एवं दीपावलीको अवसरमा आज एक शुभकामना दिदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘यो पर्व काग तिहारबाट सुरु भएर भाइटीकाको दिनसम्म लक्ष्मी माताको आराधना, दीर्घायु र खुसियालीको प्रतिक स्वरुप हर्षोल्लासका साथ धुमधामले नेपालैभरी मनाउने गरिन्छ । सांस्कृतिक, भाषिक, जातीय एवं धार्मिक विविधताले भरिपूर्ण नेपालमा यस्ता पर्वले विविधता बिचको एकतालाई थप सुदृढ र मजबुत बनाउँछन्’, शुभकामनामा छ, ‘तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई प्रगाढ बनाउँछ । पौराणिक, व्यवहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार प्रेरणाको बिम्ब साथै उज्यालोको पर्व पनि हो ।’

यस पर्वको अभिन्न अंगको रुपमा रहेको देउसीभैलो खेल्ने परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पाण्डेले लिएका छन् । साथै, पर्वका नाममा समाजमा विद्यमान कुरीति एवं विकृतिप्रति सचेत रहन र हटाउने तर्फ पहल गर्न सबैमा अपिल समेत उनले गरेका छन् । ‘अहिले मुलुक संक्रमणकालीन अवस्थामा रहेको भन्दै उनले राजनीतिक स्थायित्व, सुशासन, आर्थिक सवलीकरण र युवाशक्तिको प्रभावकारी उपयोग आवश्यकता बनेको र यस सन्दर्भमा दिपावलीले हामी सबैलाई आत्मावलोकन, राष्ट्रिय एकता र सामुहिक प्रयासतर्फ प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भनेका छन् । यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोश, जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासी’ को संकल्प हासिल गर्न थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ सबैमा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->