बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरि प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दिर्घ रोगका बिरामीकोलागि चाहिने औषधी नभएको भन्ने पाइयो । अत्यावस्यक औषधी खरिदकालागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पनि उनले बताए ।
अस्पतालको फार्मेसीमा नपाएको औषधी अस्पतालमै कार्यरत कर्मचारीको निजी क्लिनिकमा भेटिने गरेको तथ्य पनि बाहिर आएको छ । यो तथ्यले के अस्पतालमा औषधी अभाव भएकै हो त भन्ने जिज्ञाशा आम नागरिकमा पलाएको छ । अस्पतालमा नपाउने, तर निजी क्लिनिकमा चर्को मूल्य तिर्न बाध्य उपभोक्ताले पनि यो समस्या बारे बताउने गरेका छन् ।
खोजेको समयमा औषधी नभेटिएको भन्दै कतिपय बिरामीले पनि सरोकारवालामा यो गुनासो गर्दै आएका थिए । दशै आसपासदेखि विभिन्न दिर्घरोगीहरुले अस्पतालको फार्मेसीमा चाहेको औषधी नपाएको चर्चा आइरहेको बेला पाठकले अनुगमन गरेका थिए ।
विशेषगरी थाइराइड, मधुमेह, मुटुरोग र उच्च रक्तचाप लगायतका रोगका बिरामीले औषधी नपाएर फर्केपछि निजी क्लिनिकमा खोजी गर्न बाध्य भएको जानकारी आएको थियो । नियमित अस्पताल भित्रै पाइने, निशुल्क पाइने तथा शुल्क तिरेर पनि सहज पाउने खालका औषधी नपाएपछि सेवाग्राहीको चिन्तालाई मन्त्री पाठकले सम्बोधन गर्ने प्रयास गरेका थिए । पाठकले मन्त्रालयबाट एक डेढ महिना अघि नै निकास भएको रकम अस्पतालले खर्च नगरेको बताए । औषधी टेण्डर नगर्दा अस्पतालमा अभाव भएको, सोही मौका छोपेर अस्पतालमा कार्यरत डँकटर तथा स्वास्थ्यकर्मीको क्लिनिकमा भने ती औषधी भेटिएको पाठकको समेत प्रतिक्रिया छ ।
अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले अस्पतालको फार्मेसीमा केही समस्या भएको स्विकारेका छन् । साथै उनले तिहारपछि मात्र औषधी टेण्डर गर्ने तयारी भैरहेको बताए । तिवारीका अनुसार दशैमा बिरामीको चाप बढेर औषधी सकिएको बताए । ‘दशैमा बिरामीको चाप बढी भयो, स्टक औषधी सकिएछ’ उनले भने, ‘आवस्यकता भन्दा बढी लिन चाहनेहरुले पनि यो समस्या आएको हो ।’ अस्पतालले पहिचान गरेका बिरामीले उपयोग गर्ने औषधीको औषत हेरेर अस्पतालले राख्ने गरेकोमा दशैको बेला धेरै किनेर लैजान खोज्नेहरु बढ्दा औषधी सकिएको तिवारीले प्रष्ट्याए ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले बाहिर क्लिनिक चलाएको बिषयमा भने तिवारीले बोल्न चाहेनन् । ‘यसको आफ्नै कार्यविधि र नियम छ, सबैले पालना गर्नु आवस्यक छ’ उनले भने, ‘मैले यस्तो छ भन्न मिलेन, समस्या देखिएको खण्डमा कारवाही चलाउनु पर्ने हुन्छ ।’ उनले तिहार पछि दिर्घ रोगका औषधीको टेण्डर हुने र यस्ता समस्या आउन नदिने बताए ।
पछिल्लो ५ बर्षदेखि धौलागिरि अस्पतालमा २३ जना बिशेषज्ञ डँक्टर सहित अपरेशन, आइसियु, डाएलाएसिस लगायतको सेवा पनि संचालनमा छ । दिर्घ रोगका अधिकांस उपचार हुने र औषधी समेत अस्पतालको फार्मेसीबाटै उपलब्ध गराउने योजना छ । उक्त योजनामा काम अगाडि बढेपनि अस्पताल व्यवस्थापन समितिको पटक पटक हेरफेर र खाली भएको अबस्थामा कतिपय काममा असर परेको तिवारीले बताए ।





