पोखरा/पोखरा ५ पस्र्याङमा शनिबार एकाबिहानै एक युवकको हत्या भएको छ । शुक्रबार राति सँगै बसेर रक्सी खाँदै जुवा खेल्ने साथीले पछाडिबाट प्रहार गरी उनको हत्या गरेका हुन् । तास खेल्ने क्रममा विवाद भएको थियो ।
टोलकै साथीभाइ मिलेर पस्र्याङबाट सिद्धार्थचोक निस्कने पुल नजिक एक स्थानमा मादक पदार्थ सेवन गर्दै तास खेल्दै गर्दा किशोर तिमिल्सिना र अनिल पराजुलीबीच विवाद भएको थियो । किशोरले अपशब्द बोलेपछि विवाद सुरु हुँदा अनिलले किशोरलाई झापड हानेका थिए । अनिलले माफी मागेपछि विवाद साम्य भएको थियो । सँगै बसेका साथीहरुले विवाद मिलाएर पुनः मापसे गर्दै तास खेलेपछि शनिबार बिहान उनीहरु घरतर्फ लागे ।
उनीहरुले खानपिन गरेको स्थानबाट अनिलको घर करिब एक किलोमिटरको दूरीमा रहेको छ । पोखरा ५ पस्र्याङस्थित चिल्ड्रेन पार्कको पछाडिको बाटो हुँदै घर हिडेका अनिललाई पछाडिबाट उनले प्रहार गरेका हुन् ।
घटनास्थल घरभन्दा करिब ३० मिटरको दुरीमा छ । अनिलको घटनास्थलमै मृत्यु भयो । अनिलसँगै अर्का उनका साथीसमेत थिए । किशोरले पछाडिबाट प्रहार गरेको ति साथीलेसमेत सुरुमा भ्याउ पाएनन् । ढलेपछि थाहा पाए र हारगुहार गरे । त्यसपछि किशोर इन ड्राइभ गरी पस्र्याङबाट लेक साइडतर्फ लागे । भीड जम्मा भयो । अनिलका साथीले किशोरले प्रहार गरेको कुरा सुनाए । घटना शनिबार बिहान करिब ३ बजेको हो । एकान्त र कुना ठाउँ भएको स्थानमा अनिललाई प्रहार गरेको देखिन्छ ।
एक स्थानीयका अनुसार तास खेल्ने क्रममा अपशब्द बोल्न थालेपछि विवाद भएको थियो । विवादको क्रममा अनिलले किशोरलाई झापड हानेका थिए । सोही विषयलाई लिएर उनीहरु बसेर खाएकै ठाउँबाट चक्कु लिएर आएका किशोरले गर्दनमा चक्कु प्रहार गरेका थिए । प्रहरीका अनुसार पोखरा १८ सराङकोट घर भइ हाल मालेपाटन बस्दै आएका २४ वर्षीय किशोर तिमिल्सिनाले अनिल पराजुलीको हत्या गरेका हुन् ।
उता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीले भने अहिलेसम्म मापसे गरेर विवाद भएको मात्रै खुलेको जानकारी दिए । ‘अहिले सम्म मादक पदार्थ सेवन गर्दा सामान्य विवाद भएको र सोही निहुँमा हत्या गरेको भन्ने खुलेको छ, बाँकीकेही आएको छैन् । हामीले सूचना पाएलगत्तै घटनास्थल पुगि घाइतेलाई उपचारका लागि अस्पताल लगेको एकैछिनमा डाक्टरले मृत घोषणा गर्नुभयो,’ एसपी कार्कीले भने, ‘पछाडी ढाडमा चक्कुले प्रहार गरेको हो । अहिलेसम्मको अनुसन्धानले पूर्व रिसिइवी वा त्यस्तो विवाद केही छैन । सामान्य वादविवादकै कारण घटना घटेको छ ।’
पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बेलुका सँगै बसेर मापसे गर्दा विवाद भएको पुष्टि गरे । ‘बिहान म पनि पुगेको थिएँ । म जाँदा प्रहरीले शव लगिसकेको थियो । नजिकैको एक होटलमा बसेर खाँदा सामान्य विवाद भएको रहेछ । त्यतिबेला नै माफी मागी साम्य पारेको कुरामा उनले (किशोर) मनमा लिएर बसेका रहेछन् । घर फर्कँदा कुरेर बसी पछाडिबाट हानेका रहेछन्,’ वडाध्यक्षले भने, ‘तीन जना रहेछन । बेलुका (शुक्रबार) ६ बजे तिरबाट सँगै बसेर रक्सी पिउँदै जाँदा पिटाइ खाएको देखियो । तिहारको बेला सँगै खाएका रहेछन् । सिदार्थचोकदेखी पस्र्याङ आउने पुल नजिक एक होटलमा खाएर बसेका थिए ।’
प्रहरीले किशोरलाई किशोरकै परिवारको नम्बरबाट फोन गरी घर बोलाएका थिए । किशोर घर आएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्दा उनले हत्या गरेको स्वीकारेका हुन् । उनी विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





