पोखरा/ गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात सुरु भएको छ । पोखरा लगायत विभिन्न जिल्लामा झरीसमेत परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले हिमपात र वर्षा भएको हो । यो प्रभावले कात्तिक १० देखि बुधबार बिहान (कात्तिक १२) सम्म गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ र बाँकी प्रदेशका हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिउँ पर्ने विभागले जनाएको छ ।
मुस्ताङ, अन्नपूर्ण आधार शिविर, तिलीचो ताल, मनाङ लगायत हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ । हिउँ र पानी पर्ने सम्भावना रहेकाले घुम्न जाने पर्यटकलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पछिल्लो समय मनाङ, मुस्ताङ, डोल्पालगायतका हिमाली जिल्लामा पर्यटकको घुइँचो लागेको छ । हिमपात भइरहेकाले यात्रामा ननिस्कन जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्तिमार्फत पदयात्रीलाई अनुरोध गरेको छ । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ । त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न÷नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
मुस्ताङको मुक्तिनाथमा मंगलबार बिहान भएको हिमपात । सबै तस्बिर गण्डकी प्रदेश सांसद हरि भण्डारीको फेसबुकबाट





