पोखरा / जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्की लगायत प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा प्रहरीका हातहतियार लुटपाट र हतियारहरु आगोमा जलाउने कार्यमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन् ।
कास्की प्रहरीले आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा हातहतियार लुटपाट गरी हिड्ने तथा आगोमा जलाउने कार्यमा संलग्न ४ जना, वडा प्रहरी कार्यालय बगरमा हतियारमा आगो लगाउने १ जना र प्रहरी चौकी नयाँपुल कास्कीमा आगजनी गर्ने ५ जनालाई सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई हाल पोखरा–४ मानव अधिकार चोक बस्ने २४ वर्षका राजेश मक्रान्ती, पोखरा–४ अधिकारी मार्ग बस्ने वर्ष ५४ को नारायण साई, पोखरा–११ फुलवारी बस्ने २२ वर्षीय अरुण बिक र पोखरा–१ कसेरीका ४१ वर्षका रुपेश मगर छन् । यसैगरी पोखरा–१ मोहरिया टोल बस्ने वर्ष ४३ को दिपु साई, कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने वर्ष ४७ को लङबहादुर नेपाली, १९ वर्षीय अरविन विक, अन्नपूर्ण– हाइजुङका २२ वर्षका क्षेत्री, नयाँपुलका ६२ वर्षका थमबहादुर सार्की र ४२ वर्षीय पुर्णबहादुर नेपाली पनि पक्राउ परेका छन् । पक्राउ परेका मध्ये मक्रान्ती २०७९ मा अभद्र व्यवहारमा मुद्धा चलेका व्यक्ति हुन् । नारायण साई मासु व्यापारी हुन भने अरुण बिक ड्राइभर, रुपेश मगर २०६२ सालमा सवारी साधन तोडफोड गरी क्षति पु¥याएको हुँदा सार्वजनिक अपराध मुद्दा चलेका र दीपु साईले हार्डवयर पसमा काम गर्दै आएका थिए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीमा आई प्रहरी पोषाक दुरुपयोग गर्ने तथा हुलहुज्जत गर्ने ८ जना पनि पक्राउ परेका छन् । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गर्दा घरौटीमा छुटेको प्रहरीले जनाएको छ । धरौटीमा छुट्नेमा पोखरा–९ पृथ्वीचोक बस्ने वर्ष २४ को अमृत घले, पोखरा–२० मौजाका वर्ष ३९ का चन्द्रबहादुर गुरुङ, रुकुम घर भई हाल पोखरा–८ बस्ने २४ वर्षका दिपेश शाही ठकुरी, गोरखा घर भई हाल पोखरा–१६ बस्ने वर्ष २४ को सुरेश गुरुङ, मौजाका २२ वर्षका सागर परियार रहेका छन् । उनीहरुसंग जनही २ हजार धरौटी माग गरिएको छ ।
यसैगरी पक्राउ परेर धरौटीमा छुटेकामा धादिङ घर भई हाल पोखरा–५ प्रस्याङ बस्ने वर्ष २९ को सागर अधिकारी, प्रस्याङ बस्ने ४५ वर्षका राजेश शाही र धादिङ घर भई प्रस्याङ बस्ने वर्ष २९ को दिपेश शाह रहेका छन । अधिकारी र शाहसंग ३ हजार र शाहीसंग २ हजार रुपैयाँ धरौटी मागिएको छ ।
कैदी बन्दी र थुनुवा पक्राउ
कास्की प्रहरीले जेन जी आन्दोलनका क्रममा कास्की कारागार, जिल्ला प्रहरी कार्यालय र मातहतका केही प्रहरी कार्यालयबाट भागेका कैदीबन्दी र थुनुवा पनि पक्राउ परेको जनाएको छ । पत्रकार सम्मेलनमा जनाइए अनुसार कास्की कारागारबाट भागेका ७७३ कैदीबन्दी मध्ये हालसम्म ५२० जना पक्राउ परिसकेका छन् । यसैगरी बालसुधार गृह सराङकोटबाट भागेका १०६ जनामध्ये ९१ जना पक्राउ परेका छन् । कास्की प्रहरी कार्यालयबाट भागेका ६३ थुनुवामा ५ जना, वडा प्रहरी कार्यालय बगरबाट भागेका १२ मध्ये १ र वडा प्रहरी कार्यालय बैदामबाट भागेका ३३ थुनुवामध्ये २६ जना पक्राउ परेका छन् ।
अप्रेशन ३६५ मा १३३ माेटरसाइकल पक्राउ
यसैगरी कास्की प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन गरी (मोडीफाई) ठूलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजमा आतकिंत पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधि गरेको आरोपमा १३३ सवारी साधन पक्राउ गरिएको जनाएको छ । प्रहरीले गत असोज २७ साँझदेखि अप्रेशन ३६५ नाम दिएर मोडीफाई गरिएका मोटरसाइकल पक्राउ अभियान थालेको छ । पक्राउ परेकामध्ये २८ जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाइएको छ भने १६ जनालाई सम्झाई बुझाई परिवारको जिम्मामा छाडिएको छ ।





