पोखरा/हिउँदयाम सुरु भएको छ । यस याममासुख्खा मात्र नभई गर्मी रहावाहुरीसमेत चल्ने भएकाले आगजनीका बढी घटना हुन्छन । बिजुली शर्ट भएर, खाना पकाउने ग्यास चुहिएर तथा विभिन्न ज्वलनशील पदार्थको प्रयोगमा असावधानीका कारण आगलागी हुने गर्छ । वनजंगलमा मात्र होइन, बस्ती र घरमा पनि आगलागीका घटना हुन्छन् । तर समयमै आगो नियन्त्रण नहुँदा जनधनको पनि क्षति हुने गरेको छ । आगलागी नियन्त्रणका लागि दमकल (बारुण यन्त्र) को महत्वपूर्ण भूमिका रहन्छ । प्रभावकारी सेवाका लागि चालक, तालिमप्राप्त अग्नीनियन्त्रक, समयमै पानी भर्ने व्यवस्था हुनु जरुरी छ । तर गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रयाप्त दमकल छैनन् । दमकल भए पनि दरबन्दी अनुसार र दक्ष कर्मचारी अभावमा सेवा प्रभावकारी हुन सकेको छैन । साथै साँघुरा, कच्ची सडकका कारण आगो नियन्त्रणमा दमकल जान नसक्ने अवस्था पनि रहेको छ ।
गण्डकी प्रदेशको मात्र नभई पर्यटनको समेत राजधानी रहेको पोखरामा ३ दमकल भए पनि दरबन्दी अनुसार र दक्ष कर्मचारी अभावमा प्रभावकारी सेवा उपलब्ध हुन सकेको छैन । साथै साँघुरा सडक र गल्लीका कारण आगो नियन्त्रणमा दमकल जान नसक्ने अवस्था नरहेको कर्मचारी बताउँछन् ।
महानगरको आकस्मिक सेवा (दमकल शाखा) प्रमुख रामजी केसीका अनुसार ६÷६ हजार लिटर क्षमताका २ र ३५ सय लिटर क्षमताको एक गरी ३ वटा दमकल छन् । दमकल तीन भए पनि चालक २ जनामात्रै छन् । एकजना बिदामा बस्दा वा विरामी पर्दा एउटामात्रै दमकल चलाउनु पर्छ । कहिलेकाँही आफुले पनि चलाउने गरेको खत्रीको भनाई छ । चालकसहित कर्मचारी जम्मा ११ जना छन । ‘पहिला एउटामात्र दमकल हुँदा १६ जना कर्मचारी थिए’, एक कर्मचारी भन्छन्, ‘अहिले दमकुल ३ वटा छन, हामी ११ जनामात्र । त्यसमा पनि दुईजना चालक ।’ अग्नि नियन्त्रणका लागि बेल्जियमको टीमसंग मिलेर तालिम लिएका छन् । तर प्रयाप्त नभएको गुनासो उनीहरुको छ । प्रयाप्त तालिम विनै आगो निभाउन जानुपर्दा आफै घाइते हुनुपर्ने अवस्था आएको उनीहरुको भनाई छ ।
पोखरामा पछिल्लो समय शहरीकरणसंगै ट्राफिक जामको समस्या पनि बढ्दो छ । साइरन बजाउँदै दमकल जाँदा पनि कतिपय सवारी चालकले साइडै नदिने अनुभव उनीहरुको छ । ‘अग्ला भवन, साँघुरा गल्लीका कारण पनि आगो निभाउन कठिन हुने गरेको छ’ क्षेत्री भन्छन, ‘अहिले काम चलाउरुपमा मात्र दमकलको प्रयोग हुँदै आएको छ । अव हाइड्रोलिक ल्याडर टाइपका अत्याधुनिक दमलकलको आवस्यकता भइसकेको छ ।’ अहिले पेट्रोल, बिद्युतका आगलागीमा पनि पानीका फोहोरामात्र प्रयोग गरी निभाउने गरिएकोमो अव यसले मात्र नचल्ने उनको भनाई छ ।
पोखरामा अहिले शान्ति वनबाटिकामा मात्र दमकल राख्ने गरिएको छ । कतै आगलागी भएमा पहिला प्रहरीकोमा फोन जाने गर्छ । दमकल सेवाका लागि १०१ नम्बरमा डायल सितिमिती नआउने खत्री बताउँछन् । शहरबजारमात्र नभई वनजंगलमा लागेको आगो पनि निभाउन जानु पर्छ । ‘प्रहरीकोमा फोन आएर प्रहरीले लोकेशन बुझेर हामीलाई खबर गर्दा ढिला भइसकेको हुन्छ’, खत्रीले भने, सिधै हामीलाई फोन आए छिटो हुन्थ्यो । अर्को कुरा कास्की जिल्लाभर सेवा दिनुपर्ने भएकाले शान्ति वनबाटिकामा मात्र नभई तीन स्थानमा केन्द्रीत गरेर दमकल राख्न पाए छिटोछरितो र सहजरुपमा सेवा दिन सकिन्थ्यो ।
पोखरा महानगरले आकस्मिक सेवा दमकलका लागि कति कर्मचारी राख्ने भन्ने यकिन गरेको छैन् । प्रशासन प्रमुख कृष्णप्रसाद तिवारीले दरबन्दीका लागि ओएनएमको नयाँ चरणको प्रक्रियामा रहेको बताए । ‘ओएनएम प्रक्रिया पुरा भएपछि दमकलका लागि कति कर्मचारी राख्ने भन्ने यकिन हुन्छ’, उनले भने । कर्मचारीहरुले भने अत्यावस्यकीय सेवाका लागि सोही अनुसारको ऐन कानुन बनाएर कर्मचारी राख्नु पर्ने बताउँदै आएका छन् ।
उद्योग, कलकारखाना, अस्पताल, घनाबस्तीमा अव पानीको ट्यांकी राख्न अनिवार्य भइसकेको छ । पेटे«ाल, विद्युत र केमिकलमा लागेको आगो पानीले नियन्त्रण गर्न मिल्दैन । बढ्दो जनघनत्व र साँघुरा सडकका कारण शहरी क्षेत्र आगलागीको जोखिममा रहेको पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केदारनाथ शर्मा बताउँछन । ‘आगलागीका घटनाप्रति सधै चिन्तित हुनुपर्ने अवस्था छ’, उनले भने, ‘अत्याधुनिक दमकलको संख्या बढाउनु पर्छ र सोही अनुसार दक्ष कर्मचारीको व्यवस्थापन पनि गर्नुपर्छ ।’
गण्डकी प्रदेशको अर्को ठूलो र तराइँको एकमात्र जिल्ला नवलपुरमा एउटामात्रै दमकल छ । कावासोती नगरपालिकामा रहेको दमकलले जिल्लाभर सेवा दिनुपर्ने अवस्था छ । ‘दमकलको अभावै छ भन्नु पर्छ’, जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी मधु नेपालले भने ।
तनहुँका शुक्लागण्डकी, व्यास र बन्दीपुरमा दमकल रहेका छन् । तर वन्दीपुरको विग्रेर थन्केको छ भने, व्यास र शुक्लागण्डकीका दमकलमा गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा आंशिक रुपमा क्षति पुगेको छ । तनहुँ पनि ठूलो जिल्ला भएकाले दमकल सेवा प्रयाप्त नरहेको स्थानीय बताउँछन् ।
लमजुङमा पनि सदरमुकाम रहेको बेंशीशहर नगरपालिकाकाको एउटामात्र दमकल रहेको छ । यसले पनि जिल्लाभर सेवा दिन असमर्थ छ । कहिलेकाँही आगलागीस्थलमा दमकल पुग्दा आगो आफै निभिसकेको वा क्षति भइसकेको हुन्छ ।
स्याङ्जा सदरमुकाम रहेको पुतलीबजार नगरपालिका र वालिङ नगरपालिका गरी २ वटा दमकल छन् । तर ती ग्रामीण क्षेत्रमा लैजान मिल्दैन । ग्रामीण भेगमा ठुला आगलागी भएमा समयमै नियन्त्रण नभएर ठुलो क्षति हुने गरेको छ । पुर्वतयारी र सचेत भएर रहन सर्वसाधरणलाई प्रशासन र स्थानीय सरकारले अनुरोध गर्नुबाहेक अन्य उपाय त्यस जिल्लामा छैन् । हिमालपारीका मनाङ र मुस्ताङमा दमकलै छैनन् ।
बागलुङ, पर्वत, म्याग्दी र गोरखामा एकएक वटा दमकल छन् । तीनले पनि जिल्लाभर सेवा दिनुपर्ने अवस्था छ । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सडकको अवस्थाका कारण ग्रामीण क्षेत्र अर्थात् भित्री सडकमा दमकल पठाउन नसकिएको बताए ।
पोखरा महानगरका केसीका अनुसार एउटा दमकलमा कम्तीमा पनि ५ कर्मचारी चाहिन्छ । अत्यावस्यकीय सेवाका लागि सोही अनुसारको ऐन कानुन बनाएर कर्मचारी राख्नु पर्नेमा उनले जोड दिए ।





