पोखरा/ निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रातको समयमा जिल्लाका ५ वटा पर्यटकीय गाउँ जान रोक लगाएको छ । प्रशासनले सूचना निकालेर बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म घान्द्रुक, लान्द्रुक, उल्लेरी, सिक्लेस र ताङतिङ जाने सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
प्रशासनले राजमार्ग र ग्रामीण सडकमा चल्ने सवारी साधनलाई संयमतापूर्वक चलाउन र क्षमताभन्दा बढी यात्रु नचढाउन चालक–सहचालकलाई सचेत गराउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । मौसम सफा नभएसम्म पदयात्रामा ननिस्कन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।
साउथ अन्नपूर्ण आधार शिविर, कोरी, मर्दी, खुमैलगायत ठाउँमा पदयात्रामा नजान प्रशासनले आग्रह गरेको हो । साथै अत्यन्त जरुरी काम नपरी घरदेखि टाढा नजान र रातको समयमा यात्रा नगर्न प्रशासनले सचेत गराएको छ ।
मनाङमा एक साताका लागि पदयात्रामा रोक
यसैगरी जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।
‘सोमबार रातिदेखिको हिमपातले अवरुद्ध सडक डोजर लगाएर हिउँ पन्छ्याएपछि खुलेको छ । खाङसारसम्मकै बाटो खुलेको छ । पदयात्रा भने अझै खुलेको छैन,’ उनले भने, ‘हिउँ र पानी पर्न बन्द भए पनि पदयात्रा अहिल्यै सम्भव छैन ।’
करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मंगलबार उद्धार गरिएको थियो । त्यसमध्ये करिब २०० विदेशी पर्यटक रहेका थिए । हिमपातका कारण तिलिचो आधारशिविरमा रोकिएका करिब ४०० पर्यटक तिलिचो जान नसकेपछि फर्केका थिए ।
कात्तिक १६ गतेसम्म मनास्लुमा पदयात्रा नगर्न आग्रह
यसैबीच जिल्ला प्रशासन कार्यालय गोरखाले कात्तिक १६ गतेसम्म मनास्लु क्षेत्रको पदयात्रा नगर्न आग्रह गरेको छ । सोमबारदेखि उच्च हिमाली क्षेत्रमा हिमपात भएको र केही दिन अझै हिमपात हुनसक्ने सभावना रहेकाले विपद्का घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले बताए । अहिले पदयात्रामा रहेकाहरुलाई पनि सम्बन्धित ठाउँमै सुरक्षित रहन भनेको उनले बताए ।
मनास्लु क्षेत्रको भ्रमणमा रहेका पर्यटकहरु फर्कन थालेका छन् । लार्केपासका लागि पुगेका पर्यटक धर्मशाला क्षेत्रबाट फर्किएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सन्तोष शेरचनले बताए । लार्केपासका लागि पुगेका ४६० जना पर्यटक सामागाउँबाट फर्किएको प्रहरीले जनाएको छ ।





