शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

‘कार्यकर्ताको निराशा चिर्न नियमित महाधिवेशन’

‘कार्यकर्ताको निराशा चिर्न नियमित महाधिवेशन’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८२, शुक्रबार

पोखरा/नेपाली कांग्रेसका ६ वटा महानगर समितिले आउँदो एक महिनाभित्रै नियमित महाधिवेशन गर्न केन्द्रीय समितिसमक्ष माग गरेका थिए । नेपाली कांग्रेस ललितपुर महानगरपालिकाका कार्यवाहक अध्यक्ष शुभानन धाख्वाको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले एक महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका निम्ति कार्यतालिका प्रस्तुत गर्दै एक महिनाभित्र महाधिवेशन सम्भव भएको जिकिर पनि गरेको थियो ।

आम जनमानस एवम पार्टी कार्यकर्तीहरुमा नेतृत्व प्रति देखिएको वितृष्णा तथा विशेष महाधिवेशनको मागलाई संवोधन गर्नैपर्ने ६ महानगर समितिको माग थियो ।

बिहीबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा गरिएको निर्णयमा दुई हप्ताभित्र सम्पूर्ण क्रियाशिल सदस्यता सम्बन्धि प्रक्रिया पूरा गर्ने,पहिलो ५ दिनभित्र वडादेखि क्षेत्रीयसम्मका अधिवेशन गर्ने,दोस्रो ५ दिनमा जिल्ला र प्रदेशस्तरीय अधिवेशन अनि अर्को ५ दिनमा केन्द्रीय महाधिवेशनग र्ने कार्यतालिका पनि सुझाइएको छ ।

बैठकले जेन–जी आन्दोलन र नागरिकको चाहना अनुसार देशभित्र व्याप्त भ्रष्टाचारको निर्ममतापुर्वक छानविन र दोषीउपर कार्वाहीको माग तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सो उपर तत्काल निर्णय गर्न जोडदार माग पनि गरिएको थियो ।

नियमित महाधिवेशन माग गर्नेमा काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य,पोखराका सभापति सुरेन्द्रमान बिजुक्छे,ललितपुरका सभापति शुभानन धाख्वा,विराटनगर महानगरको तर्फबाट दीपक चापागार्ईं,भरतपुर महानगर समितिको तर्फबाट चित्रसेन अधिकारी र वीरगंज महानगरको तर्फबाट मनिन्द्र नेपालीले हस्ताक्षर गरेका थिए ।

कांग्रेस पोखरा महानगरपाालिकाका सभापति सुरेन्द्रमान बिजुक्छेका अनुसार जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व वर्ग देखेर कार्यकर्तामा निराशाको भावना बढेको र पार्टीलाई गतिशील बनाउन र कार्यकर्तालाई निराशाबाट उत्साह जगाउन पनि महाधिवेशन हुनुपर्छ भनेर महानगर समितिले सो माग अगाडि सारेको हो । ‘सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । निर्वाचनबाट पार्टीलाई बलियो रूपमा अघि सार्न पनि महाधिवेशन अनिवार्य छ । त्यही भएर हामीले दवाब दिएका हौं,’ उनले भनेका छन्, ‘हामीले नियमित महाधिवेशन नै गर्न सकिन्छ भनेर दवाब दिएका हौं । नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशन भए पनि हुनुपर्छ । यसका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बुझाइसक्नुभएको छ । नियमित महाधिवेशन हुन सक्यो भने तल्लो तहदेखि केन्द्रसम्म नयाँ नेतृत्व आउँछ । गुट उपगुटको अवस्था अन्त्य हुन्छ । तलैबाट पार्टी बलियो बनाउने हो भने त नियमित महाधिवेशन हुनुप¥यो नि ! नेतृत्वको शैली देखेर साथीहरू वाक्क परेको अवस्थामा छन् । नियमित महाधिवेशनबाट सबै तहका समिति निर्वाचित भएर आउँछन् र पार्टीमा उत्साह पनि बढेर आउँछ ।’

उनले केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यतालिका नल्याए समयमै महाधिवेशन गराउन दबाब दिने पनि बताए । ‘अहिलेको नेतृत्व वर्ग देखेर नैराश्यमा रहेका साथीहरूलाई आशावादी बनाउन पनि महाधिवेशनको विकल्प छैन । जेनजी पुस्ता अहिलेको राजनीतिको मुलधारमा छन् । उनीहरूलाई पनि विश्वासमा लिनुपर्छ। पार्टीमा रूपान्तरण आवश्यक छ । यसका लागि पनि महाधिवेशन हुनुपर्ने भएकाले हामी केन्द्रीय समिति बैठक पश्चात फेरि अन्तर महानगर समितिको बैठक बस्छौं र अब कसरी जाने भनेर बाटो तय गर्छौँ,’उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->