सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

गण्डकी प्रदेश सभामा १६ करोड बढीको क्षति, बैठक अझै अनिश्चित

गण्डकी प्रदेश सभामा १६ करोड बढीको क्षति, बैठक अझै अनिश्चित

प्रदेश सभा स्थापना भएको आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्मका सबै अभिलेखसमेत जलेका सचिवालयले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८२, आइतबार

पोखरा/जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट गण्डकी प्रदेश सभाको भौतिक संरचना, सवारी साधन, फर्निचर लगायत उपकरण गरी १६ करोड २५ लाख ३० हजार बराबरको क्षति पुगेको छ । यो विवरण प्रदेश सभा सचिवालयले संकलन गरेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार भवनतर्फमात्रै ८ करोड ९० लाख बराबरको क्षति हुन पुगेको छ । प्रशासनिक भवन पूर्णरुपमा ध्वस्त हुँदा साढे २ करोड, प्रदेश सभाहल पनि पूर्ण क्षति हुन पुग्दा साढे २ करोड, सभामुख र उपसभामुखको निवासमा १५ लाख, संसदीय दलका कार्यालयहरुमा १ करोड, विषयगत समितिका कार्यालयहरुमा ३० बराबरको क्षति भएको छ । यसैगरी पुस्तकालय तथा स्वास्थ्य शाखामा ३० लाख, संसदीय पत्रकार मञ्चको भवन ५ लाख, प्रहरी युनिट बसेको भवनमा ४० लाख, कर्मचारी आवासीय भवनमा १ करोड क्षति हुन पुगेको सचिवालयका सूचना अधिकारी शशीधर सुवेदीले बताए ।

त्यस्तै सरकारी सवारीतर्फ ६ वटा स्कारपियो जीपको साढे ३ करोड र मोटरसाइकल र स्कुटर १२ वटाको ३० लाख क्षति पुगेको छ । यी सवै सवारी साधन पूर्णरुपमा क्षतिग्रस्त छन् । कम्प्युटर र विद्युतीय उपकरणतर्फ २ करोड १५ लाख बराबरको क्षती पुगेको छ । सचिवालयका अनुसार ४९ कम्प्युटर, १९ ल्यापटप, २ ठूलो फोटोकपी मेशीन, ३५ प्रिन्टर, ५ भिडियो क्यामेरा र ४ डिजीटल क्यामेरा सबै ध्वस्त भएका छन् । यसैगरी ९ वटा ठूलो टेलिभिजन स्क्रिन , ३ स्मार्ट बोर्ड, एक डिजीटल डिस्प्ले आउटडोर बोर्ड, ४४ एअर कन्डिस्नर, सिसीटीभी, फिक्सड फोन, माइक, अडियो मिक्चर, एम्पलीफायर लगायत विभिन्न विद्युतीय सामान जलेर नष्ट भएको सुवेदीको भनाइ छ ।

प्रदेश सभा स्थापना भएको आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्मका सबै अभिलेखसमेत जलेका सचिवालयले जनाएको छ । सुवेदीका अनुसार आर्थिक प्रशासनसंग सम्बन्धित सबै श्रेस्ता, प्रशासनिक कागजात तथा फाइल, प्रदेश सभाबाट पारित भई प्रमाणीकरण भएका सक्कल विधेयकहरु, गण्डकी प्रदेश सभा नियमावली सम्बन्धि कार्यव्यवस्था समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास तथा कृषि समिति, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिका सबै बैठक पुस्तिका, प्रतिवेदनहरु तथा सम्बन्धित कागजातहरु, हालसम्मको अडियो तथा भिडियो फाइल संकलनका पोर्टेबल हार्डडिस्कहरु, सांसदहरुको हाजिरी अभिलेख र सम्पत्ती विवरण सबै जलेर नष्ट भएका छन । प्रदेश सभाको सम्पत्तीको रुपमा रहेको यो क्षति झनै ठूलो रहेको सचिवालयले जनाएको छ ।

यसैगरी ४९ दराज, १३२ टेबुल, ६ सय कुर्ची , २५ सेट सोफा, ४९ टिटेबुल, ८ वटा पलंग, मिटिङ टेबुललगायत १ करोड बराबरको फर्निचर सामान सबै नष्ट भएका छन । त्यस्तै १० लाख मूल्य बराबरको सदनको वाल्कथ््रु गेट, मेटल डिटेक्टर, भेहीकल चेकअप मेशिनजस्ता सुरक्षा उपकरण पनि पूर्ण नष्ट भएको सचिवालयले जनएको छ ।

१० लाख मूल्य बरावरका ५ हजारभन्दा बढी पुस्तक, १० लाख बरावरकै औषधि तथा उपकरण र कागजात, सचिवालयका कर्मचारीको मोटरसाइकल (३ लाख २५ हजार), फेदीखोला गाउँपालिकाको स्कुटर (२ लाख ५ हजार) र कर्मचारी आवासीय भवनमा प्रयोगमा रहेका कर्मचारीका व्यक्तिगत सामान ५० लाख बराबरको पनि सबै जलेका छन् । केही सामान भने प्रदर्शनकारीले चोरेरसमेत लगेका थिए ।

कास्कीमा मात्रै आन्दोलनका बेला १ सय २७ सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । २ सय १९ वटा दुई पांग्रे र १ सय १० वटा चार पांग्रे गरेर ३ सय २९ सवारीमा क्षति पुगेको विवरण जिल्ला प्रशासन कार्यालय कास्कीले संकलन गरेको छ । जेनजी प्रदर्शनका क्रममा आगलागीबाट सबै भन्दा बढी क्षति हुने कार्यालयमध्ये गण्डकी प्रदेश सभा पनि एक हो ।

आन्दोलनबाट सरकारी सम्पत्तितर्फ २ अर्ब २४ करोड रुपैयाँ क्षति भएको मूल्यांकन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

प्रदेश सभा बैठक अनिश्चित
नजिकै प्रदेश सभाको अर्को नयाँ भवन बन्न सुरु छ । त्यसैले पनि आगजनीबाट खण्डहरु हुन पुगेको प्रदेश सभाका संरचना मर्मत संभार गरिएको छैन । आन्दोलनका दौरान सबै भवन र सामान जलेर नष्ट भएका छन् । आगजनीबाट बचेको प्रदेश मामिला तथा कानून समितिको एउटा कोठाबाट सचिवालयतर्फको प्रशासनिक काम हुँदै आएको छ । तर, प्रदेश सभा बैठक भने अनिश्चित बनेको छ ।

बैठक सञ्चालनका लागि चाहिने आधारभूत संरचना ध्वस्त भएपछि बैठक सञ्चालन गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभा हलमा अस्थायी पूर्वाधार बनाइएको छ । तिहार अघि प्रदेश सभा बैठक बस्न आह्वान पनि गरिएको थियो । तर, प्रयाप्त तयारी नपुगेको भन्दै स्थगीत गरियो । सचिवालयका अनुसार चालु अधिवेशन पनि अन्त्य भएको छैन । आन्दोलनकै कारण स्थगित भएको चालु अधिवेशनको बैठक बस्न नसकेको हो । ‘स्थगीत बैठक कहिले बस्ने भन्ने टुंगो छैन,’ प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले भने, ‘अव बैठक बसेपछि ४ दिनसम्म चल्नेछ र चालु अधिवेशन अन्त्य हुनेछ ।’

प्रदेश सभामा अहिले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको बिधेयक र गण्डकी विश्वविद्यालय ऐनको संसोधन गरी दुई वटा बिधेयक छन् । अवको बैठकमा यी दुवै विधेयक पारित गर्ने तयारी रहेको सचिव पौडेलले बताए । बैठक सञ्चालन, खण्डहर संरचना र नयाँ भवन नबन्ने बेला सम्म अर्थात २ वर्षका लागि प्रदेश सभा बैठकस्थलको विकल्पको खोजीलगायत मुख्यमन्त्री, सभामुख, प्रमुख सचिव र प्रदेश सभा सचिवालयबीच अनौपचारिक छलफल भने भइरहेका छन् । स्रोतहरुका अनुसार आगजनीबाट खण्डहर संरचनालाई यत्तिकै राखेर संग्रहालय बनाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->