काठमाडौं / नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिन्ह पाँच कुने तारा रहने विज्ञप्तिमार्फत जनाएका छन ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहित विभिन्न आठ दलबीच कार्तिक १९ गते एकता घोषणा हुने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महेन्द्र राय यादवसहित सबै दलका शीर्ष नेताहरुबीचको बैठकले आइतबार पार्टी एकता सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमित पत्रमा नयाँ पार्टीको चुनाव चिन्ह पाँचकुने तारा हुने उल्लेख भएपनि पार्टीको नाम भने खाली राखिएको छ । नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्कवाद लेनिनवाद रहने, नेपाली क्रान्तिको कार्यक्रम वैज्ञानिक समाजवाद हुने सहमति गर्दै दलहरुले पुँजिवादी जनवादी क्रान्तिका उपलब्धिहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने सहमति गरेका छन् ।

आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने बताउँदै दलहरुले पार्टीका हरेक आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएका छन् । नयाँ बन्ने पार्टीको केन्द्रीय समितिको संख्या आपसी सहमतिमा तय गर्ने बताउँदै उनीहरुले केन्द्रीय समितिदेखि तल्लो तहसम्मका समितिमा संयोजक र सहसंयोजक रहने सहमति गरेका छन् ।
सहमति पत्रमा दाहाल, नेपाल र यादवसहित नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (माओवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।






