सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

स्थानीय तहका कर्मचारीको लागि तालिम

स्थानीय तहका कर्मचारीको लागि तालिम


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०८२, सोमबार

पोखरा/गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले गएको भदौ १८ गते सुरु गरेको प्रदेश र स्थानीय तहमा अधिकृतस्तर सातौँ र आठौँ तहमा कार्यरत कर्मचारीहरुको ३० दिने कार्यदिने सेवाकालीन तालिम सकिएको छ ।

कुल १ सय २० सत्रमा संचालित तालिममा ४६ जना प्रशिक्षकहरुले सहजीकरण गरेका थिए भने प्रदेश र स्थानीय तहमा कार्यरत ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

गण्डकी प्रदेश निजामती ऐन र नियमावलीमा नै कर्मचारीको क्षमता अभिवृद्धिको लागि तीन वर्षमा कम्तीमा पाँच वा सोभन्दा बढी दिनको क्षमता अभिवृद्धि तालिमको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश लोकसेवा आयोगबाट प्रदेश र स्थानीय तहमा सिफारीस भएका कर्मचारीहरुको लागि सेवा प्रवेश तालिम र सेवामा कार्यरत कर्मचारीहरुका लागी सेवाकालीन तालिम २०७६ देखि संचालन गर्दै आएको छ ।

तालिम अवधिभर प्रतिष्ठानका कर्मचारी उपसचिव प्रभाकर घिमिरे र प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई. मनोज पौडेलले तालिम व्यवस्थापन तथा संयोजनको जिम्मेवारी निर्वाह गरेका थिए ।

तालिम समापन प्रतिष्ठानको कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षता एव गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डुराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समापन सत्रमा बोल्दै प्रमुख सचिव घिमिरेले कर्मचारीले प्राप्त गरेको अवसरले सेवा प्रवाहमा सुधारमा आएमा मात्र तालिम सफल बन्ने धारणा राखे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले तालिमको संक्षेपीकरण प्रस्तुत गरेका थिए भने तालिमका सहभागी कर्मचारी डा. कमल अधिकारी र कल्पना सापकोटाले सहभागीको तर्फबाट मन्तब्य व्यक्त गरेका थिए । प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा सहभागी कर्मचारीको तालिमको नतीजा सार्वजनिक गरी श्रेणी उल्लेख गरी प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->