आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लोकमार्ग बागलुङ खण्डका स्थानीय आक्रोशित

लोकमार्ग बागलुङ खण्डका स्थानीय आक्रोशित

पछिल्लो ३४ वर्षदेखि यो खण्ड हुँदै डोल्पा, दैलेख, जाजरकोट र रुकुमबाट काठमाडौंकालागि नियमित बस सेवा संचालन भैरहेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०८२, सोमबार

बागलुङ/मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँ खण्ड वर्षांैदेखि अलपत्र छ । सडक नबन्दा हिउँदमा धुलोले हैरानी, बर्षातमा हिलोले सास्ती खेपिरहेका स्थानीयले धैर्यताको बाँध फुटाएका छन् ।

उनीहरुले तत्काल काम थालिएन भने आउने मंसिर १ गतेदेखि सडक ठप्प पार्ने चेतावनी दिएका छन् । यसअघि पनि पटकपटक आन्दोलन गरेका बिहुँवासीले सडक बन्ने आश्वासन पाएपछि फिर्ता भएका थिए । आइतबार बिहान ११ बजे नै काठेखोला गाउँपालिका वडा नंं ५ र ६ का बासिन्दाले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर पनि यो चेतावनी दिएका हुन् ।

लोकमार्ग आयोजना कार्यालयका इन्जिनियरसमेतको उपस्थितिमा सडक संचालन गर्न वार्ता गर्ने उद्देश्यले आएका स्थानीय लोकमार्गको प्रतिनिधि नआएपछि झनै आक्रोसित भएका थिए । उनीहरुले तत्काल सडकमा काम थालिएन भने आन्दोलन गर्ने, सडकनै ठप्प पार्ने बताए । ‘हामीले धेरै धैर्यता गरिरहेका थियौं, आजित भैसक्याँै, अब सडक निर्माणको काम थालिएन भने मंसिर १ गतेदेखि सडक अबरुद्ध गरेर धर्ना बस्छौं,’ स्थानीय कृष्ण कंडेलले भने, ‘यो अनुरोधलाई वेवास्ता गरियो भने अप्रिय निर्णय लिन पनि बाध्य हुनेछौं ।’ उनले सडकको धूलोले मानिस बिरामी परेको गुनासो गरे । धुलोले पुरिएको घाँस नखाएर गाईभैंसीसमेत बिरामी परेको बताए ।

२०६८ सालदेखि थालिएको लोकमार्ग आयोजनाको काम पटकपटक अलपत्र पर्दा यात्रीले सास्ती खेपेका छन् काठेखोला गाउँपालिका वडा नंं १, २, ५ र ६ का घर, खेती र फलफूलसमेत धुलोले पुरिन्छन् । किसानले डाले घाँससमेत पशु चौपायालाई खुवाउन नपाएको गुनासो गरेका छन् ।

पटक पटकको आश्वासन कार्यान्वयन नगरी ठेकेदारले वर्षांैदेखि यो खण्डको सडक अलपत्र पार्दै आएका छन् । सडक अलपत्र परेपछि ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्का खुलाएको पनि डेढ वर्ष पुग्न लाग्दा अझै काम अगाडी नबढेको काठेखोला गाउँपालिका–६ का अध्यक्ष वृहस्पति कंडेलले बताए । ‘पहिलोले गरेन, दोश्रोलाई के कारणले काममा लगाउन सकिएन ?,’ उनले भने, ‘यसमा आयोजना कार्यालय कतै मिलेमतोमा लागेको छैन ?’अर्का स्थानीय खिमानन्द कंडेलले त सडक विभाग र आयोजनाहरु नै सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालयमा परेको बताए । कमिसनको खेल नमिलेर सडक अलपत्र पारिएको उनले आरोप लगाए ।

धुलोले स्थानीय बासिन्दाले वर्षांैदेखि सास्ती खेपेको अर्का सहभागी ज्ञानु श्रीषले बताइन् । उनले लोकमार्ग छेवैमा रहेका आधा दर्जन विद्यालयका विद्यार्थीलाई रुघाखोकी र अन्य समस्या आइपरेको सुनाइन् । धूलोको मारमा स्थानीय स्वास्थ्य चौकीसमेत परेका छन् । स्थानीयले सडक ठप्प पार्ने चेतावनीले मंसिरपछि पश्चिम बागलुङबासीले थप समस्या भोग्नेछन् । सडक ठप्प हुँदा पश्चिम बागलुङका ५ पालिकाका बासिन्दा सदरमुकाम आउन समस्यामा पर्छन् । मध्यपहाडी लोकमार्ग बागलुङभित्र १ सय ४२ किमी दूरी छ । त्योमध्ये अन्य खण्ड कालोपत्रे भैसकेको छ ।

बागलुङको अधिकांश र रुकुम जाजरकोटतर्फसमेत कालोपत्रे भइसकेकोले पछिल्लो ३४ वर्षदेखि यो खण्ड हुँदै डोल्पा, दैलेख, जाजरकोट र रुकुमबाट काठमाडौंकालागि नियमित बस सेवा संचालन भैरहेको छ । लामो यात्रा गर्नेले पनि बागलुङको २५ किमी खण्डमा मात्र सास्ती खेपेको गुनासो गर्दै आएका छन् । बिहुँको माथिल्लो खण्डमा सूर्यं क्नस्ट्रक्सन कंपनीले ठेकका लिएको थियो । २०७२ माघ १० को ठेक्काको कामबाट ९ बर्षमा ५५ प्रतिशत प्रगतिसमेत देखाउन नसकेपछि कालोसूचीमा परेर रद्द भई गत वर्ष ‘रिजाल तामाङ भगवती जेभी’ले ठेक्का लिएको थियो । २०८१ असारमा सम्झौता गरी २०८३ असारमा सक्ने सम्झौता गरेको एक वर्ष बितिसक्दा पनि कामै नथालेपछि स्थानीय आक्रोसित छन् । उनीहरुले पटकपटक प्रशासनमार्फत् ठेकेदारलाई झिकाउन माग पनि गरेका छन् ।

सोही सडकको अर्को खण्ड ठेक्का लिएको ‘सिद्धीसाई भारत जेभी’ले पनि काम न गरेपछि स्थानीय राजु गौतमले पेटी ठेक्का लिएकोमा भुक्तानीमा समस्या भएपछि काम रोकेका छन् । उनले केही सडक कालोपत्रे गरेका थिए । कानूनसम्मत भुक्तानी पाउन नसकेपछि काम छाडेर बसेका छन् ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर ऋषि गौतमले ठेकेदारलाई काम लगाउन पहल भैरहेको बताए । एकसाता भित्र ठेकेदारलाई काममा ल्याउने पहल भएको उनले बताए । त्यसकालागि डिभिजन इन्जिनियर पनि लागिरहेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग पनि आगामी बिहीबार फिल्डमै गएर वार्ता गर्ने र काम थाल्ने प्रतिवद्दता जनाए । ठेकेदारले गत फागुनमा क्रसर राखेर सबबेस राख्ने भनेकोमा ९ महिना ढीला गरिसकेको उनले बताए । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले स्थानीयको आक्रोसलाई सम्बोधन गर्न पहल भएको, एकसाता भित्रै काममा आउने प्रतिवद्धता जनाएको बताए । नआएको खण्डमा कारवाही प्रक्रियालाई पनि अगाडि बढाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->