पोखरा/अध्ययन बिदामा विदेश गएका कर्मचारी नफर्केपछि मन्त्रालयले स्पष्टिकरण सोधेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत आठौँ तहकी सिनियर इन्जिनियर चन्द्रकला गैह्रै २०७९ माघ १६ देखि एक वर्षका लागि भनेर असाधारण बिदा लिएकी थिइन । २०८० माघ १५ गते बिदा सकिएतापनि उनी मन्त्रालयमा फिर्ता भइनन् ।
०८० माघ १६ देखि मन्त्रालयमा अनुपस्थित रहेको भन्दै मन्त्रालयले १५ दिनभित्र सफाई पेश गर्न सूचना जारी गरेको छ ।
मन्त्रालयले गएको १३ गते सूचना जारी गर्दै, “…. बिदा समेत स्विकृत भएको नदेखिएकोले निजामी सो ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ), एवं गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ को दफा ९८ (ङ) अनुसार (बिदा स्विकृत नगराई ९० दिनसम्म लगातार आफ्नो कार्यालयमा अनुपस्थित रहेमा) यस मन्त्रालयमा हाजिर हुनुपर्नेमा के कति कारणले हाजिर नहुनु भएको हो ? मनासिब कारण सहित बोटोको म्याद बाहेक १५ दिन भित्र सफाइ पेश गर्न ।” भनिएको छ ।
मन्त्रालयले तोकिएको म्यादभित्र सफाई पेश नगरेमा कानून बमोजिम हुने व्योहोरा जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार ती अधिकृत अध्ययनको लागि भनेर अष्ट्रेलिया गएकी थिइन । उनले आफूले इमेलमार्फत राजीनामा दिएको जनाएकी छन् ।
मन्त्रालयले भने राजीनामा स्विकृत गर्ने वा विभागीय कारवाही गर्ने भन्नेबारेमा छलफल गरिरहेको जनाएको छ ।





