पोखरा/ काठमाडौं प्रहरीले निकोलस भुसाललाई गोरखा सदरमुकामबाट पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई पक्राउ गरेको हो । भुसालले सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गृह प्रशासनले पक्राउ नगरेको भन्दै विरोध जनाउँदै आएका थिए।
माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका बेला उनी २३ असोजमा पक्राउ परेका थिए। अनुमति नलिई प्रदर्शनमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो भने त्यसपछि उनी गृहमन्त्री अर्यालविरुद्ध खरो टिप्पणी गर्दै आएका छन्। माइतीघर मण्डलाबाट पक्राउ गरेपछि परीक्षण गर्दा भुसालले गाँजा सेवन गरेको पाइएपछि प्रहरीले सुधार गृहमा पठाएको थियो। भुसाल गत वर्षको मंसिर २९ मा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका बेला सुतिरहेको तस्बिर खिचेर सार्वजनिक गरेपछि समेत उनी पक्राउ परेका थिए ।





