पोखरा/माओवादी द्वन्द्वकालमासमेत पोखरामा नागरिकमा त्यति त्रास थिएन होला– जति जेन–जी आन्दोलनमा भदौ २४ गते भयो । भदौ २४ गते सुरक्षा निकाय र कार्यालयमाथि दश वर्षे सशस्त्र द्वन्द्वकालमासमेत नभएको आक्रमण भयो । भदौ २४ को मध्यान्नबाट सुरु सरकारी कार्यालय र प्रहरी चौकीमाथिको आक्रमण रातिसम्मै जारी रह्यो । जिल्ला प्रहरी कार्यालय कास्कीदेखि अन्य प्रहरी चौकीहरु जलाइयो, लुटपाट भयो । त्यत्रो लुटपाट,आगजनी र तोडफोड हुँदा सुरक्षाकर्मीहरु कहाँ थिए त ? स्रोतका अनुसार ‘माथिको आदेश’ शिरोपर गर्दै प्रहरीहरुले हतियार र ज्यान बचाउन कार्यालय छाडेका थिए । यसरी कार्यालय छाडेर सुरक्षित स्थानमा जाने कामको सुरुवात चाहिँ कास्कीका प्रहरी प्रमुखबाटै भएको थियो । यसको खुलासा भदौ २३ र २४ गतेको घटना छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले नै गरेको हो ।
छानबिन समितिले कास्कीका २ जना प्रहरी उपरीक्षकले सुरुमै कमाण्ड छाड्दा कास्कीमा बढी क्षति भएको हो । सुरक्षा निकाय स्रोतका अनुसार कास्कीमा भएको क्षतिपश्चात गरिएको अध्ययनले सुरक्षा निकायमा कमजोर नेतृत्व भएका कारणले ठूलो क्षति भएको निष्कर्ष निकालेको छ ।
छानविन समिति सदस्य एवम् प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माको निष्कर्ष अनुसार पोखरामा सुरक्षा निकायको कमजोर नेतृत्व र सामाजिक सद्भाव तथा मेलमिलापको अभाव मुख्य कारण रहेको स्रोतले जानकारी दिएको छ । पोखरामा भदौ २४ गते न्यूरोडस्थित पोखरा महानगरपालिकामा आन्दोलनकारी र प्रहरीबीच सामान्य धक्कामुक्की भएको थियो । सशस्त्र र प्रहरीले आन्दोलनकारीलाई चिप्लेढुंगातर्फ लखेटेपछि प्रहरी समेत त्यहाँबाट हटेको थियो ।
उनको निष्कर्षमा भनिएको छ, ‘पोखरामा फिल्डमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको हल्ला सामाजिक सन्जालमा फैलिएसँगै अचानक आन्दोलनकारीको संख्या सडकमा अन्दाजी दस गुण बढ्न गइ आगजनी तथा तोडफोडमा उत्रिएको ।’
जिल्ला कमान्ड गर्नेहरुको यो कदमले फिल्डमा खटिने सुरक्षाकर्मीहरुको मनोबल एकदमै खस्किएको र उनीहरुलाई समेत आ–आफ्नो कार्यालय फिर्ता जानू भनी संचारसेटबाट आदेश आएको पनि छानबिन समितिको निश्कर्ष छ । सुरक्षा समितिको कमान्ड पोष्ट जिल्ला प्रशासन कार्यालयमा रहेको थियो । काठमाडौंमा प्रहरी कार्यालयलगायत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास आन्दोलनकारीले कब्जामा लिएको खबर फैलिएलगत्तै पोखरास्थित फूलबारी ब्यारेकका गणपतिसँग कास्कीकी प्रमुख जिल्ला अधिकारीले अब के गर्ने भन्नेबारे छलफल गरेकी थिइन् । गणपतिले तत्कालै सेना परिचालनकोआदेश नभएको बताएसँगै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, उप–अनुसन्धान निर्देशक मोहन कँुवर र जिल्ला प्रहरी कार्यालय प्रमुख श्यामबाबु ओलिया नेपाली सेनाको फूलबारीस्थित गणमा शरण लिन पुगेका थिए ।
उता, सशस्त्र प्रहरीबल कालिका गणका इन्चार्ज सहायक प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना पनि आफ्नो गण मालेपाटन नगइ नजिकै रहेको सशस्त्र प्रहरीको डिआइजी कार्यालय मुक्तिनाथ बाहिनीमा पुगेका कारण फिल्डमा खटिएका प्रहरीहरु अन्योलमा परेका थिए । उनीहरुलाई आ–आफ्नो कार्यालय फर्कन संचार सेटमा आदेश भएपश्चात उक्त कुरा आन्दोलनकारीले थाहा पाएको स्रोतले बतायो । स्रोतका अनुसार फिल्डमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको कुरा सामाजिक सञ्जालबाटै आन्दोलनकारीबीच पुगेको थियो । जसका कारण सडकमा दश गुणा संख्या बढेको कुरा प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।
प्रहरी फिर्ता भएलगत्तै पोखराका सरकारी कार्यालयमा आगजानी सुरु भएको थियो । उक्त कुरा प्रहरीको आन्तरिक अनुसन्धानमा समेत निष्कर्ष निकालिएको स्रोत बताउँछ । स्रोतका अनुसार कास्कीमा योग्य र दक्ष प्रहरीहरु भएतापनि दुई एसपीले कमाण्ड छाडेसँगैसुरक्षामा खटिएका सबै प्रहरी निरीह बन्न पुगेका थिए ।
प्रतिवेदनमा कुशल प्रहरी कमान्डर,परिपक्व प्रहरी कर्मचारीहरु तथा छिमेकी जनतासँगको राम्रो सम्बन्धका कारण वडा प्रहरी कार्यालय बैदाम, रामबजार र इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकमा लुटपाट, तोडफोड तथा आगजनी नभएको उल्लेख गरिएको छ ।
प्रतिवेदन निष्कर्षअनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरमा सानो संख्यामा पुगेका आन्दोलनकारीले बन्दुक, गोली गठ्ठा र बर्दी लुट्नुका साथै आगजानी गरेका थिए । सुरक्षा निकायबीचको समन्वय अभाव,परिपक्व नेतृत्वको अभाव, सडक तथा महत्वपूर्ण भवनहरुबाट सुरक्षाकर्मी हटाइनु, छिमेकी एवं नागरिक समाजसँगको सुमधुर सम्बन्धको अभाव र अराजकताविरुद्ध जनता, समाजसेवी, नागरिक समाजको मौनता नै पोखरामा काठमाडौपछि बढी क्षति हुनुको मुख्य कारण रहेको उल्लेख भएको स्रोतले जानकारी दिएको छ ।
अहिले दुई एसपीको प्रहरीभित्रै निकै आलोचना भइराखेको छ । एसपी श्यामबाबु ओलियाको सरुवा भइसकेको छ । उनको स्थानमा अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको कमान्ड नवीन कार्कीले सम्हालेका छन् । सशस्त्रको भने सरुवा भएको छैन ।
‘सिडियो जिल्ला कमान्ड पोष्ट छाडेर हिँडेका हुन । आदेश पनि केही दिएनन् । आदेश आएको भए हामीले जोगाउन सक्थ्यौं । गोली हान्ने आदेश थिएन तर ड्युटी र समन्वय गर्न त सकिन्थ्यो नि ? समन्वय समेत नगरेर, आदेश नदिइ लुकेपछि यो अवस्था भएको हो,’ स्रोतले भन्यो । स्रोतका अनुसार भदौ २४ गते ११ बजेपछि ड्युटीमा रहेका सबै प्रहरीलाई कार्यालय वापसी बोलाएर दिनभर भित्रै राखिएको थियो । उक्त दिन जिल्ला प्रशासन कार्यालय कास्कीले बिहान १० बजेपछि कफ्र्यू आदेशसमेत जारी गरेको थियो ।





