बागलुङ/राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्र्तगत बागलुङ सहित देशभर बिहिवार भिटामिन ए खुवाउने कार्यक्रम शुभारम्भ भएको छ । जन्मेको ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने राष्ट्रिय कार्यक्रम छ ।
यो अभियानलाई सफल पार्न प्रदेश जनस्वास्थ्य कार्यालय, स्थानीयतहहरु लगायतका संस्थाले विभिन्न कार्यक्रम गरेका छन् । पहिलो दिन बिहिवार खोप केन्द्रमा भिटामिन र जुकाको औषधी खुवाउने र दोश्रो दिन शुक्रवार घरदैलो तथा बिद्यालयमा पुगेर छुटेका बालबालिकालाई औषधी खुवाउने कार्यक्रम रहेको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
यो अभियानमा कतिपय स्थानमा बालबालिकालाई बाल भिटा पनि खुवाइने गरिएको छ । कतिपय बालबालिकाको अबस्था बुझेर स्वास्थ्यकर्मीहरुले कुपोषणको अबस्था परीक्षण गर्ने पनि गरेका छन् । त्यसका लागि प्रत्येक खोप केन्द्रमा पाखुरा नाप्ने टेप समेत दिइएको छ । उक्त टेपको सहायताले प्रारम्भिक अबस्थामा कुपोषणको अबस्था पत्ता लगाउन सकिन्छ । त्यसपछि स्वास्थ्य परीक्षण गरेर बालबालिकालाई कुपोषण भएको प्रमाणित भएमा धौलागिरि अस्पतालमा तीन महिनासम्म निशुल्क उपचार गर्ने र पोषण खुवाउने काम गरिन्छ । अस्पतालमा रहेको पोषण सुधार केन्द्रमा राखेर बालबालिकाको उपचार गर्ने व्यवस्था छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माका अनुसार यो बर्ष बागलुङ जिल्लाभरका १५ हजार ५ बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । त्यसका लागि सबै खोप केन्द्रमा औषधी पठाएको उनले बताइन् । कतिपय औषधी खेर जाने, खोले पनि उपयोगविहिन हुने भएकोले औषधी भने तोकेको भन्दा १ हजार डोज बढी विभिन्न स्थानमा पठाइएको उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार ६ महिना देखि ५९ महिना सम्मका ३ हजार २ सय ८७ बालबालिका रहेको बागलुङ नगरपालिकामा ३ हजार ८ सय डोज पठाइएको हो । त्यस्तै काठेखोलामा १ हजार २ सय, ताराखोलामा ५ सय, तमानखोलामा ५ सय ५०, ढोरपाटन नगरपालिकामा २ हजार ४ सय, निसीखोलामा १ हजार ५ सय, बडिगाड गाउँपालिकामा १ हजार ८ सय गलकोट नगरपालिकामा १ हजार ७ सय, बरेङमापनि ५ सय ५० र जैमिनी नगरपालिकामा १ हजार ४ सय डोज औषधी पठाइएको हो ।





