बागलुङ/ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनकालागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्व बारे तालिम आवस्यक पर्छ ।
फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन सहित प्रादेशिक स्वास्थ्य तालिम केन्द गण्डकी र प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा धौलागिरि अस्पतालमा सुरक्षित मातृत्व सम्बन्धी एसबिए÷एएचपी ३६ दिने तालिम शुरु भएको छ । बिहिवार निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रभातसिंह राजपुतले तालिमको उद्घाटन गरे ।
कार्यक्रम उद्घाटन गर्दै डा. राजपुतले दिगो बिकास लक्ष्य हासिल गर्न नेपालले स्वास्थ्य क्षेत्रमा फड्को मार्नुपर्ने आवस्यकता औल्याए । त्यसकालागि सबै स्वास्थ्य सस्थामा दक्ष प्रसुतीकर्मी अनमी र नर्स रहनुपर्ने बताए । ‘दक्ष स्त्रिरोग बिशेषज्ञ मात्र भएर पुग्दैन, दक्ष प्रसुतीकर्मी गाउँगाउँमा आवस्यक छ’ राजपुतले भने, ‘ग्रामीण जनताको स्वास्थ्य सेवा प्रभावकारी नभए दिगो बिकासको लक्ष्य नै पुरा गर्न सकिंदैन ।’ उनले गुणस्तरीय सेवा दिन सकेमा स्वास्थ्यकर्मीको पहिचान बढ्ने समेत उनले बताए । उनीहरुकै कारण बर्थिङ सेन्टरको प्रभावकारिता र विश्वास बढ्ने समेत उनको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रादेशिक तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमन्त बास्तोलाले गाउँमा बस्ने नागरिकको स्वास्थ्य सुधारले ग्रामीण जीवनस्तर पनि सुधार हुने बताए । गाउँमा शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी भएमा बसाई सराई रोकिने, आम नागरिकमा स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्ने समेत बताए ।
धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. राजपुतको अध्यक्षता, केन्द्रका जनस्वास्थ्य अधिकृत नवराज शर्माको संचालन र अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. बिजय ओझाको स्वागतमा सम्पन्न तालिम शुभारम्भमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यमप्रसाद कंडेल, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटा लगायतले शुभकामना दिएका थिए ।
तालिममा बागलुङ, रुकुम र सप्तरी जिल्लाका १२ जना स्टाफनर्सहरु सहभागि छन् । ३६ दिन लामो तालिममा उनीहरुले बर्थिङ सेन्टरमा सकुशल शिशु जन्माउने, आमा र शिशुको स्वास्थ्यबारे थाहा पाउने र जीवन रक्षाका लागि गर्नुपर्ने काम सिक्नेछन् । हरेक बर्थिङ सेन्टरमा कम्तिमा एकजना अनमी दक्ष प्रसुतीकर्मी रहने गरेकोमा अब भने नर्स समेत रहने गरी राज्यका धेरै स्थानमा व्यवस्थापन भैरहेको अबस्थामा उनीहरुलाईपनि यो काममा दक्ष बनाउने लक्ष्यमा तालिम आयोजना गरिएको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सम्बोधन परियोजनाकी कार्यक्रम व्यवस्थापक मनिता पुनले बताइन् । तालिममा स्त्रीरोग बिशेषज्ञ डा. बिजय ओझा, बरिष्ठ नर्सहरु अजिता सिलवाल, निमा हिताङ र मिलन बरुवालले प्रशिक्षण गर्नेछन् ।





