सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

राजीनामा दिएका सांसदले फेरि लगे गाडी

राजीनामा दिएका सांसदले फेरि लगे गाडी

फेरि, सवारी सुविधा लिएको विषयमा प्रतिक्रिया दिँदै गुरुङले सभामुख र सरकारसँग अनुरोध गरेर तीन दिनको लागि सवारी लिएको गुरुङले जनाएका छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८२, शनिबार

पोखरा/‘राप्रपाका ४२ जना सांसदको सामूहिक राजीनामा , प्रिय युवा साथीहरू, तपाईंहरूको न्यायोचित आन्दोलन र दृढ आवाजप्रति सम्मान जनाउँदै मैले गण्डकी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेकी छु ।’

यी दुई उद्धरण जेनजी आन्दोलनपछि गण्डकीमा प्रतिनिधित्व गर्ने राप्रपाका दुई प्रदेशसभा सदस्यहरूको हो ।

भदौ २३ को जेनजी प्रदर्शनमा राज्यको दमन र त्यसको भोलिपल्टको विध्वंसकारी प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पाटीले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो ।

‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ,’ राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सोही विज्ञप्तिका आधारमा राप्रपा गण्डकी संसदीय दलका नेता पञ्चराम गुरुङ र प्रमुख सचेतक विन्दु पौडेलले सामाजिक सञ्जालमा प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिएको खुलाएका थिए ।

‘म गर्वका साथ भन्न चाहन्छु आज मैले पद छाडे पनि तपाईंहरूको सपना र भविष्यका लागि मेरो संघर्ष अझ अटल बनेको छ । म सधैँ युवाहरूको सुखद् भविष्य र परिवर्तनका लागि लडिरहने प्रतिबद्धता गर्दछु,’ राजीनामासहित पौडेलले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

तर, राप्रपाका प्रदेशसभा सदस्यले सामाजिक सञ्जालमा राजीनामा दिएता पनि लिखित जानकारी भने प्रदेशसभा सचिवालयमा पुगिसकेको छैन । बरु, सचिवालयमा फिर्ता गरेको गाडी सुविधा गुरुङले फेरि लगेका छन् ।

दल नेताका रुपमा उनलाई सचिवालयले सवारी उपलब्ध गराएको थियो ।

मौखिक र फेसबुकमा राजीनामा दिएपछि सचिवालयलाई बुझाएको सवारी फेरि प्रयोग गर्न लगेका हुन् ।

आन्दोलनका बेला गुरुङले प्रयोग गर्दै आएको स्कर्पियो उनीसँगै थियो । त्यसकारण उक्त सवारीमा आगजनी भने भएको थिएन । फेरि, सवारी सुविधा लिएको विषयमा प्रतिक्रिया दिँदै गुरुङले सभामुख र सरकारसँग अनुरोध गरेर तीन दिनको लागि सवारी लिएको गुरुङले जनाएका छन् ।

उनले गाडी लगेको मात्र नभइ भ्रष्टाचारका विषयमा पनि कलम चलाउन भन्दै प्रतिक्रिया जनाएका छन् ।

राजीनामाको विषय लिखित रुपमा नआएका कारण प्रदेशसभा सचिवालयले भदौको तलब र दशैंभत्ता भनेर थप एक महिना गरी दुई महिनाको तलब एकमुष्ट रूपमा उनीहरूको खातामा पठाइदिएको छ ।

संघीयताको विरोध र प्रदेश खारेजीको एजेण्डासहितको राजा फर्काउने राजनीति गरिरहेको राप्रपाका दुवै प्रदेशसभा सदस्यले पदाधिकारीको हैसियतमा सुविधा लिँदै आएका छन् ।

गण्डकीको राजनीतिक खिचातानीमा निर्णायक देखिने राप्रपा केही समय सरकारमा समेत सामेल भएको थियो । दलका नेता गुरुङ खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बनेका थिए ।प्रदेशसभा सचिवालयले हरेक महिनाको अन्तिम हप्तामा सभामुख, उपसभामुखदेखि प्रदेशसभा सदस्यको तलब भत्ता पठाउने गर्दछ ।

‘भदौको अन्तिममा भदौको तलब र चाडपर्व खर्च भनेर थप एकमहिनाको तलब पठाइसकिएको हो,’ सचिवालयका एक अधिकृतले भने ।

राजीनामा मौखिक रूपमा आएता पनि लिखित रूपमा नआएका कारण प्रदेशसभा सदस्य कायमै रहेको हुँदा ऐनअनुसार पाइराखेको सुविधा उपलब्ध गराइएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।

‘मौखिक रूपमा थाहा पाइयो, तर हालसम्म लिखितमा आएको छैन । लिखित जानकारी नआई राजीनामा दिएको भनेर भन्न मिलेन, हालसम्म आएको पनि छैन,’ उनले भनेका थिए ।

राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले पुनर्विचार हुनसक्ने बताए ।

‘अहिले हामी सल्लाह गर्दैछौँ, परिस्थिति जटिल बन्दै गएको छ । राप्रपा एक जिम्मेवार पार्टी हो,’ उनले भनेका थिए, ‘हामीले यसलाई छलफल गर्नुपर्छ भन्ने भएको छ, पुनर्विचार गर्ने कि भन्ने तरिकाले अगाडि बढ्नेछौँ ।’

प्रदेशसभाका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधासम्बन्धी ऐन, २०७६ अनुसार दलका नेताहरूले मासिक ५९ हजार ५०० रुपैयाँ तलब, एक हजार रुपैयाँ बैठक भत्ता, एक हजार ५०० सय सञ्चार, आवास बापत १५ हजार रुपैयाँ मासिक, फर्निचरका लागि पाँच वर्षको ५० हजार पाउँछन् । यस अतिरिक्त नीजि सचिवालयका लागि एक हजार ७५० रुपैयाँ, सवारी इन्धन मासिक ९० लिटर, मोबिल तीन महिनामा पाँच लिटर, धारा–बिजुलीको मासिक एक हजार ५ सय, दैनिक भ्रमणभत्ता २ हजार, विदेश भ्रमण जाँदा १५० अमेरिकी डलर प्रतिदिन र १० लाखकै बीमा छ ।

प्रमुख सचेतकहरूले भने मासिक तलब ५८ हजार ८४०, बैठक भत्ता एक हजार, सञ्चार खर्च एक हजार ५००, आवासको मासिक १५ हजार, फर्निचरको एकमुष्ट ५० हजार उपलब्ध हुन्छ । यस अतिरिक्त निजी सचिवालयलाई एक हजार ७५० मासिक, सवारी इन्धन ९० लिटर, मोबिल तीन महिनामा पाँच लिटर, बिजुली–धाराको एक हजार ५ सय मासिक, दैनिक भ्रमण भत्ता दुई हजार, विदेश जाँदा १५० डलर र १० लाखको बिमा छ । प्रदेशसभामा प्रमुख सचेतक चारवटै दलका छन् ।

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले सभामुख, उपसभाुमख,एमाले संसदीय दलका नेता खगराज अधिकारी, माओवादीका प्रमुख सचेतक कुशुम बुढा र संसद सचिवालयले प्रयोग गर्ने २ वटा गरी ६ वटा चार पाङ्ग्रे सवारी साधन जलाएका थिए ।

प्रयोग गर्दै आएको सवारी जलेपछि गुरुङले फिर्ता गरेको सवारी नै सभामुखले प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->