काठमाडौं / पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको गएराती साढे २ बजेको समयमा निधन भएको छ । आलमको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी) मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियो । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियो र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेको थियो ।
गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको र अन्नपूर्ण न्यूरो अस्पताल र भारतमासमेत उपचार गरिएको थियो । चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनको मृत्यु भएको हो । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इद्रीसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए । घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए। त्यसलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो ।





