शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

‘गाउँगाउँ पुग्ने बेला विशेष महाधिवेश गर्नु गलत’

‘गाउँगाउँ पुग्ने बेला विशेष महाधिवेश गर्नु गलत’

संस्थापन पक्षले विधि र विधानअनुसार नियमित महाधिवेशन गर्ने अडान लिँदै चुनावी तयारीलाई प्राथमिकता दिनुपर्ने तर्क गरेको छ । इतर पक्षले भने पार्टी नेतृत्वको कमजोरी सुधार्न विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिरहेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८२, बिहिबार

पोखरा/नेपाली कांग्रेसका गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउनु गलत भएको बताएका छन् । जेन जी आन्दोलन पछिको परिस्थितिमा गाउँगाउँमा पुगेर जेन जी पुस्तालाई कांग्रेसको बारेमा बुझाउनुपर्ने स्थितिमा अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गराउन लाग्नु गलत भएको उनीहरुको ठम्याइ छ ।

बुधबार गण्डकी प्रदेशको केही महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा प्रदेशस्तरीय दबाब मुलक वृहत भेलाको आयोजना गरिएको थियो । भेलाका सहभागीले कांग्रेसभित्रको अहिलेको परिस्थितिले पार्टीलाई मात्र नभइ समग्र देशलाई नै अस्थिरताको बाटोतर्फ डो¥याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । काँग्रेस भित्र नियमित महाधिवेशन र बिशेष महाधिवेशनको बारेमा बिवाद चलिरहेको बेला पोखरामा विशेष र नियमित महाधिवेशनको पक्षमा रहेका कांग्रेसका नेता कार्यकर्ताहरुको दवाबमुलक भेला सम्पन्न गरेका हुन् । यसले जेन–जी आन्दोलनपछि सुरु नेपाली कांग्रेसभित्रको बहस अब ‘विचारको टकराव’ भन्दा बढी ‘शक्ति परीक्षण’ मा रूपान्तरण हुँदै गएको देखिन्छ । महाधिवेशन गर्ने कि विशेष महाधिवेशन ? भन्ने विवादले केन्द्रीय समितिलाई दुई खेमामा विभाजित गर्दा दुवै पक्षले आफ्ना बल देखाउन प्रदेश–प्रदेशमा भेला र छलफलको सिलसिला तीव्र पारेका हुन् । संस्थापन पक्षले विधि र विधानअनुसार नियमित महाधिवेशन गर्ने अडान लिँदै चुनावी तयारीलाई प्राथमिकता दिनुपर्ने तर्क गरेको छ । इतर पक्षले भने पार्टी नेतृत्वको कमजोरी सुधार्न विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिरहेको छ ।

यही विवादबीच बुधबार पोखरामा संस्थापन पक्षको दोस्रो प्रदेशस्तरीय भेला सम्पन्न भयो । गण्डकी प्रदेश कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठको संयोजनमा आयोजित भेलामा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, दीलमाया पौवी नेपाली, जीत शेरचनलगायत सांसदहरु पनि सहभागी थिए । नेताहरूले पार्टीको आन्तरिक लोकतन्त्र, सदस्यता विवाद र एकताको आवश्यकता जोडका साथ उठाए । भेलाले विशेष नभइ नियमित महाधिवेशनलाई यथाशिघ्र गराउनका लागि केन्द्रिय समितिलाई प्रस्ताव पारित गरेको कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले बताए । श्रेष्ठले ‘देशमा संकट पर्दा कांग्रेस एकतामा उभिने परम्परा’ स्मरण गर्दै विशेष महाधिवेशनको मागलाई बेमौसमीको संज्ञा दिए । सरस्वती गुरुङले गलतलाई गलत भन्न सक्ने संस्कार विकास गर्नुपर्ने बताइन् । इसा राना मगरले अधिवेशनपछि गुटबन्दी अन्त्य गर्न आग्रह गरिन् भने इन्दिरा निरौलाले कांग्रेसलाई युवाको पार्टीका रूपमा पुनःस्थापित गर्नुपर्ने बताइन् ।

प्रतिनिधिसभा निर्वाचन र महाधिवेशन संगसंगै हुन नसक्ने भन्दै भेलाका वक्ताले फागुन २१ मा चुनाव नहुने अवस्था आएमा माघ फागुन सम्ममा पार्टीको महाधिवेशन गर्नुपर्ने र फागुन २१ मा चुनाव हुने भएमा वैशाखमा महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । पार्टीलाई विभाजित हुन नदिन, बिशेष महाधिबेशनको नाममा गुटबन्दी संस्थागत हुन् नदिन र समयमै महाधिबेशन गर्न दवाब दिने उद्धेश्यले भेलाको आयोजना गरिएको बताए ।

भेलामा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति एवम् गण्डकी प्रदेशका सांसद जीत शेरचनले विशेष महाधिवेशनले पार्टी भित्रको गुटबन्दीलाई थप जोडबल पुग्ने बताए । विशेष महाधिवेशन पार्टीका लागि संकट रहेको कारण आफुहरु विपक्षमा रहेको सुनाए । उनले पार्टीको नेतृत्व मात्र नभएर नीति र संरचनामा समेत सुधार गर्दै आमुल परिवर्तन गर्नुपर्ने भएकोले पनि नियमित महाधिवेशनमै ध्यान दिन जोड दिए ।

भेलामा नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डे, ढोरपाटन नगरपालिकाका मेयर कल्याण कामत, पर्वतका महासमिति सदस्य यामबहादुर मल्ल, महासमिति सदस्य पुष्पकुमार शाही, बागलुङ कांग्रेस नेता पदम बहादुर खत्री, महाधिवेशन प्रतिनिधि लिलाबहादुर रनपाल लगायतले विशेष महाधिवेशनको विपक्षमा बोलेका थिए । क्रियाशील सदस्यहरुको टुंगो लगाउनु पर्ने जिम्मा महामन्त्रीद्वयको भए पनि आफ्नो काम नगरी विशेष अधिवेशन भन्दै हिंडेको उनीहरुले आरोप लगाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->