पोखरा/नियमित कि विशेष महाधिवेशन अनि मितिबारे महिनादिनदेखि नेपाली कांग्रेस अन्योलमा छ । एक महिना लामो केन्द्रीय समिति बैठकले यो विषय टुंगो लगाउन सकेको छैन ।
केन्द्रीय समिति अन्योलमा रहेका बेला कांग्रेसको गण्डकी प्रदेश समितिले भने मंसिरभित्रै महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ । शनिबार पोखरामा प्रदेश समितिले ‘मुलुकको वर्तमान परिस्थिती, नेपाली कांग्रेसको जिम्मेवार र १५ औँ महाधिवेशन सम्बन्धमा’ आयोजना गरेको विशेष भेलाले विभिन्न चारबुँदे प्रस्ताव पारित गरेको महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भेलाले मंसिरभित्र नै नियमित अधिवेशनमा जोड दिएको छ । कारणवश, नियमित हुन नसके ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पारित भएको हो ।
‘नेपाली कांग्रेसले वर्तमान अवस्थाबाट सुधे्रर नयाँ परिवर्तित अवस्थाको कांग्रेस बनेर आम निर्वाचनमा जनताका साथ जानुपर्ने टड्कारो खाँचो रहेकोले आगामी मंसीर महिना भित्र १५ औँ महाधिवेशन गर्नु पर्दछ भन्ने यो भेला ठहर गर्दछ,’पारित प्रस्तावमा भनिएको छ, ‘यदि, कुनै कारणवश नियमित महाधिवेशन गर्न नसकिने अवस्था भएको हो भने पार्टीको विधान बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सहित माग भएको विशेष महाधिवेशन यही मंसीर मसान्तभित्र अनिवार्य गर्नुपर्दछ भन्ने यो भेला ठहर गर्दै र केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गर्दछ ।’
शनिबार पारित गरिएको प्रस्ताव केन्द्रिय समितिमा पठाइने पार्टीका प्रवक्ता माधव बास्तोला ‘मधु’ ले जानकारी दिए ।
भेलाले भदौ २३ र २४ गते भएको जेनजीले प्रस्ताव गरेको प्रदर्शनको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेको छ भने घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सोही प्रदर्शनको क्रममा घाइते कांग्रेस सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्यहरु माथि भएको अमानवीय र बर्बर हमला गरी सांघातिक आक्रमणबाट घाइते बनाइएको, नेपाली कांग्रेस पार्टी कार्यालय, सरकारी तथा नीजि सम्पत्ति र कार्यकर्ता को निवासमा भएको आगजनी प्रति भत्र्सना र निन्दा गरिएको छ ।
भेलाले जनतासँग क्षमायाचना गर्ने र सुध्रिने प्रतिबद्धता पनि पारित गरेको छ ।
पार्टी कठीन मोडमा उभित्रएको र यस पार्टीले आफूलाई परिवर्तन गरी जनताका माझ जानुपर्ने अवस्थामा रहेको उल्लेख छ ।
‘विगतदेखि नेपाली कांग्रेसलाई नेपाली जनताले सदैव साथ र सहयोग दिँदै आएका हुन् । नेपाली कांग्रेस माथी जनताको अगाध विश्वास र भरोसा रहेकै हो,’ प्र्रस्तावमा भनिएको छ,‘तर हामीले जनताको चाहना बमोजिम आफ्ना सिद्धान्त र आदर्श अनुसारको व्यवहार गर्न नसकेको विषय जनताले बारम्बार जनताले सचेत गराएकै हो । आज एक पटक फेरी आज एक पटक फेरी जनताका माझ हामी हाम्रा कमी कमजोरीहरु, हाम्रा आन्तरिक वैचारिक विचलन, सिद्धान्तगत गल्ती र विगतका सम्झौताहरुको आत्मसमीक्षा गर्दै समस्त नेपाली जनता र शुभेच्छुक महानुभावहरु प्रति क्षमायाचना गर्न चाहन्छौँ र अब यस्ता गल्ती कमीकमजोरीहरु नदोहो¥याउने र दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
भेलाले अहिले देशमा विषम परिस्थिति रहेको र राष्ट्र, प्रजातन्त्र र पार्टीको रक्षा र हालसम्मको उपलब्धिको रक्षा नेपाली कांग्रेसको काँधमा पुनः एक पटक आइपरेको ठहर गरेको छ ।
कार्यकर्ताहरुलाई एकताका साथ उच्च मनोबल लिएर अगाडि बढ्न यो भेलाले आह्वान गरेको छ ।





