बागलुङ (खर्बाङ)/पश्चिम बागलुङमा मंसिर महिनामा न्वागी खाने चलन छ । धान पाक्ने र काट्ने समय मंसिरमा स्थानीय जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खाने गरिन्छ ।
खेत भएकाहरुले खेत नभएकाहरुलाई र आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । यस क्षेत्रमा न्वागी खाने चलन भने वि.सं. १७३४ सालमा भएको पुर्खाको योगदान, सहयोगी भवना र स्थानीयको खुसीसंग जोडिएको छ ।
१२ औं शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात् १५ औं शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसी र चौबिसे राज्यमध्ये इस्मा र मुसिकोट राज्यको भु–भागको रुपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग गुल्मीको इजरा क्षेत्रमा प¥यो । साथै, दगाको केही क्षेत्र मुसिकोटको मौजा समेत रहेको इतिहास छ ।
सोही इतिहाससंग जोडिएको पौदी क्षेत्रको आफ्नो छुट्टै इतिहास रहेको छ । बागलुङको साबिक जलजला, ग्वालीचौर र गुल्मीको पौदीअमराई गाविसलाई पौदीं क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरुको बाक्लो बस्ती रहेको र उनीहरुकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पानी भन्ने हुन्छ । अर्थात् उच्च टाकुराबाट बग्ने नदी भन्ने अर्थमा सो क्षेत्रलाई पौडी भनिएको हो । जुन शब्दपछि अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड ५ का स्थानीय कृष्ण बहादुर घिमिरेले बताए । “रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटिय क्षेत्रलाई नै पौंदी क्षेत्र मानिएको इतिहास गुल्मी दरबारको लिपीमा समेत रहेको छ” घिमिरेले भने ।
सोही पौंदीबासीले विसं. १७३४ सालदेखि न्वागी पर्व मनाउँदै आएका छन् । जुन पर्व यसवर्ष भने मंसिर १ गतेदेखि १० गतेसम्म बडिगाड ५ खारमा हुँदैछ ।
मध्यकालिन नेपालको इतिहासमा जुम्ला राज्यको विस्तारको क्रममा एक समय ईस्मा राज्यको सिमाना साबिकको ग्वालीचौर गाविसको दारेगौंडासम्म आईपुगेको थियो । तर उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको अर्का स्थानीय गुणानिधि घिमिरेले सुनाए ।
“बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराई लगाएत पौंदीबासीको खेतमा धान पाकेपछि कार्तिक पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहबरमा मुठि लिने (धान काट्ने) र न्वागी खाने मिति हेराइने चलन रहको छ” उनले भने ।
यस वर्षको मुठि लिने (धान काट्ने) दिन भने गत कार्तिक १० गते र न्वागी खाने दिन भने मंसिर १ गते परेको उनले सुनाए । तर, न्वागी खाने समय र कुन दिशातर्फ फर्कर खाने भन्ने मंसिर महिना लागेपछि मात्र तोक्ने चलन रहेको घिमिरेले बताए ।
“कार्तिक पहिलो हप्ता सबै संगबाट मुठि लिई धान काटेर स्याहार्ने र नयाँ चामलमा दहि, चामल, तिल, केरा, सिलाम र मह मिसाएर खाने चलन छ” घिमिरेले भने “न्वागीलाई घर घरमा होमन गरेपछि थानपति, छत्रभुमि, सिद्धका नाममा देवतालाई चढाई मंसिरको पहिलो हप्ताभित्र खाने चलन छ ।”
२००७ सालभन्दा पुर्व ८० कुरिया पौंदी क्षेत्र भनेर चिनिने ग्वाचीलौर, अरेवा, अमराई, थाम आदि क्षेत्र र उक्त समयकालमै पाल्पा हुँदै नेवार समुदायले ग्वालीचौरको खार बजारमा व्यापार गर्न थालेको पनि इतिहास रहेको छ ।





