पोखरा/ युरोपेली युनियनको आयोजनामा १४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल २०२५ शनिवार र आइतबार पोखरामा हुँदैछ । यस महोत्सवले विख्यात युरोपेली चलचित्रकर्मी तथा उदीयमान नेपाली स्वरहरूलाई एकैसाथ ल्याउँदै सीमानाविनाको चलचित्रको उल्लास हुने जनाइएको छ ।
चिप्लेढुंगास्थित क्युएफएक्स ट्रेड मलमा चलचित्र महोत्सव हुनेछ । यस संस्करणमा २५ चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र सामेल छन् । यी कृतिले पहिचान, अपनत्व, प्रतिरोध तथा रूपान्तरण आदि विषयलाई केलाएका छन् । यस संस्करणमा सामेल चलचित्रले हिम्मत, स्मृति तथा आशाका साझा सिनेमा–भाषालाई प्रतिबिम्बित गरेका विहीबार आयोजित पत्रकार सम्मेलनमा युरोपेली संघको नेपाल प्रतिनिधिमण्डलको प्रेस तथा सूचना अधिकारी बिद्या महर्जनले जनाइन् ।
युरोपेली चलचित्रहरूमा पोर्चुगलबाट ‘बाञ्जो’, फिनल्याण्डबाट ‘जेभिदा’, अस्ट्रियाबाट ‘ह्याप्पी’, हंगेरीबाट ‘विथआउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ छन् । संयुक्त अधिराज्यबाट बाफ्टा लघुचलचित्र प्रस्तुतिअन्तर्गत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क’ र ‘आडिओस’ सामेल छन् ।
यिनका साथमा स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थाहरूसँग सहकार्यमा छनौट गरिएका नेपाली लघुचलचित्र छन् जसमा ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस’ र ‘इटर्नल किनशिप’ आदि छन् । यी चलचित्रले सीमाका बन्धनभन्दा माथि उठेर हाम्रा साझा मानव अनुभूतिलाई उल्लासको विषय बनाउने प्रकृतिका सिनेमा–संवाद निर्माण गरेका छन् । महोत्सवमा फ्रान्स, जर्मनी र फिनल्याण्ड सहित काठमाडौँ र दिल्लीमा युरोपेली संघका सदस्य राष्ट्रहरूलाई प्रतिनिधित्व गर्ने दूतावास तथा सांस्कृतिक संस्थाहरू तथा ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्य छ । नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलले महोत्सवको आयोजना गरेको हो । सबै चलचित्र प्रदर्शनी निःशुल्क रहनेछन् र सबै चलचित्रमा अँग्रेजी सबटाइटल सामेल रहनेछन् ।
महोत्सवअघिको अवधिमा कला, उद्योग तथा सिकाइबीचको सम्बन्धलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन । चलचित्र उद्योगले अब के गर्ने त ? भन्ने विषयमा शनिवार दिउँसो २ बजे ब्रिटिश काउन्सिलको सहकार्यमा छलफल कार्यक्रम आयोजना गरिएको छ । यस छलफलमा वक्ताहरूले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रमा काम गर्दै हासिल गरेका अमूल्य अनुभवहरू साझा गर्नेछन् । आफ्नो अनुभवका आधारमा उनीहरूले पोखरालाई काठमाडौँबाहिर एक सक्षम, दिगो र सम्भावनायुक्त चलचित्र केन्द्र कसरी बनाउन सकिन्छ भन्नेबारे आफ्ना विचार पनि प्रस्तुत गर्नेछन् । छलफल कार्यक्रमका वक्तामा गौमाया गुरुङ, जस्सु गुरुङ, प्रविण टक्की कार्की र प्रस्तोतामा सुनिर पाण्डे रहेका छन् ।





