पोखरा/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ ।
१८ औं संस्करणको हिसान स्पोर्टस मिट यही पुस ३ गतेदेखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन ४ गते हुनेछ । स्पोर्टस मिटअन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र÷छात्रा बास्केटबल, भलिबल,ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिस्पर्धा हुने भएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता हुने छ ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा ब्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीले जनाएको छ ।
विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाउने छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टुतर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १२ मध्ये ४० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा ४ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजारभन्दा बढी विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीका सचिव सापकोटाले जानकारी दिए ।
यसैबीच, हिसान कास्कीले विगतका हिसान स्पोर्टस मिटमा सहभागिता जनाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम अनुरुप १८औं सस्करणको उद्घाटन समारोहमा पावर लिफ्टिङकी विश्व च्याम्पियन शर्मिला शाहलाई नगद २५ हजारसहित सम्मान गरिने हिसान कास्कीले जनाएको छ । गत वर्ष हिसान कास्कीले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको थियो ।





