मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

चीनको लिन्जीले पोखरालाई दिएको एम्बुलेन्स २ वर्षदेखि अलपत्र

चीनको लिन्जीले पोखरालाई दिएको एम्बुलेन्स २ वर्षदेखि अलपत्र


  • ढाेरपाटन संवाददाता
  • पुष २४ २०८२, बिहिबार
ChineseAmbulance - 2

पोखरा/पोखराले चीनका विभिन्न शहरहरुसंग भगिनी सम्बन्ध गाँस्दै आएको छ । त्यस्ता सम्बन्ध भएका शहरहरुले पोखरामा प्राकृतिक विपत्ती होस् वा अन्य कुनै अप्ठेरोमा सहयोग गर्दै आएका छन् । बेलाबेलामा विभिन्न भौतिक सामग्री पनि सहयोग गरिरहेका छन् ।

यसैक्रममा पोखरा महानगरपालिकालाई भगिनी सम्बन्ध रहेको चीनको लिन्जी नगरपालिकाले २ वर्षअघि एउटा एम्बुलेन्स उपहार स्वरुप दिएको थियो । तर, उक्त एम्बुलेन्स अहिलेसम्म रसुवास्थित भन्सार परिसरमा अलपत्र अवस्थामा रहेको छ । भन्सार शुल्क तिर्नुपर्ने भएपछि पोखरा महानगरपालिकाले उपहार स्विकारेको छैन ।

उक्त एम्बुलेन्स ‘क’ वर्गको सुविधायुक्त रहेको छ । यसको मूल्य झन्डै साढे २ करोड रुपैयाँको रहेको पोखरा महानगरले जनाएको छ । संभवत गण्डकी प्रदेशमा नै अहिलेसम्म क वर्गको एम्बुलेन्स सुविधा छैन । यस्तो एम्बुलेन्समा एड्भान्स लाइफ सपोर्ट (एएसएल) सुविधा हुन्छ । त्यसमा उच्च प्रशिक्षित स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्छ । स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई उपचार कक्षमा हुने आधारभूत सुविधा दिएर अस्पताल पु¥याउन यस्तो एम्बुलेन्सको प्रयोग हुने गर्छ । एम्बुलेन्स सेवा निर्देशिका, २०८२ ले ‘क’ वर्गको एम्बुलेन्समा मानव जीवन बचाउन सहयोग पु¥याउने २५ प्रकारका सामग्री हुनुपर्ने निर्धारण गरेको छ । यी सुविधा भएको एम्बुलेन्स भन्सार जाँचपास प्रक्रियामा पोखरा महानगरले उदासीनता देखाएपछि २ वर्षदेखि अलपत्र परेको हो ।

नेपाल सरकारले १६ लाख रुपैयाँ मूल्यसम्मको एम्बुलेन्स आयात गर्दा भन्सार शुल्क पूर्ण छुट हुने व्यवस्था गरेको छ । पोखरा महानगरपालिकाले उक्त साढे २ करोड मूल्य बराबरको एम्बुलेन्समा पनि पूर्ण भन्सार छुट माग ग¥यो । तर, कानुनी व्यवस्था देखाएर संघीय सरकारले छुट नदिएपछि एम्बुलेन्स वेवारिश बन्न पुगेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संघीय सरकारको नीतिले गर्दा एम्बुलेन्स ल्याउन नसकिएको बताए । ‘हामीले पूर्ण रुपमा भन्सार छुटका लागि भनेका थियौ’, मेयर आचार्यले भने, ‘तर सरकारले सकिदैन भन्यो । महानगरसंग भन्सार शुल्क तिर्ने बजेट नभएकाले एम्बुलेन्स त्यत्तिकै रहेको हो ।’ लिन्जीले ठूलो रकम पर्ने एम्बुलेन्स पठाइदिएको उक्त एम्बुलेन्स पोखरामा भित्राउन पाए राम्रो हुने उनको भनाई थियो । नेपाल सरकारले क्याविनेटबाट निर्णय गरी भन्सार छुटको व्यवस्था गरिदिएको भए हुने भन्दै अव एम्बुलेन्सको मूल्यको सीमा हट्न लागेको र छिटै एम्बुलेन्स पोखरा आउने उनले दावी गरे । मेयर आचार्य उक्त एम्बुलेन्स आफु लिन्जी भ्रमणमा गएका बेला उपहारस्वरुप दिएको बताउँछन् ।

पोखराका व्यवसायी विश्वशंकर पालिखेले पनि आफ्नो पहलमा लिन्जीले एम्बुलेन्स उपहार दिएको बताउँछन । पोखराका लागि एम्बुलेन्स ल्याउन आफुले पहल गरेको र भन्सार छुटका लागि केन्द्र सरकारसंग पहल गरे पनि कानुनी व्यवस्था नभएको भन्दै नदिइएको पालिखेको भनाई छ ।

सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन गरेर सबैखाले एम्बुलेन्समा भन्सार छुट हुने व्यवस्था गरेको छ । तर पनि पोखरा महानगरले उक्त एम्बुलेन्स ल्याउन पहल गरेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->