तस्बिर : सिर्जना पन्त
बागलुङ/जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । पत्रकारसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ आचार्यले हुँदै आएका कामलाई चुस्त बनाउँदै आवश्यक काममा सबैको सहकार्यबाट अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
‘साझा सवालमा सबै एक ठाउँ भएर अगाडि बढ्न सकेमा समाजलाई सुशुचित र सेवा प्रवाहलाई चुस्त बनाउन सकिन्छ’ आचार्यले भने । सुधार गर्नुपर्ने कार्यलाई परिमार्जित गरेर सेवाग्राहीलाई छिटोछरितो सेवा दिन आफु तत्पर रहने उनको भनाई थियो ।
उनले नजिकिदै गरेको प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावलाई भयरहित बनाउन पत्रकारको भुमिका महत्वपुर्ण हुने बताए । प्रजिअ आचार्यले निर्वाचनका लागि निर्वाचन प्रहरीको छनौट गर्न आवेदन खुल्ला गरिएको पनि जानकारी दिए ।
पत्रकारहरुले इलाका प्रशासन कार्यालय बुर्तिवाङमा जनशक्ति अभावका कारण नागरिकले पाएको दुःख, ताराखोलामा भैरहेको अवैध ढुङ्गा उत्खनन्, अटो–रिक्साले गर्दै आएको मनोमानी कार्य, सहि समयमा सुचना नपाएको जस्ता गुनासा र सुझाव राखेका थिए ।
प्रजिअ आचार्यले पत्रकारबाट आएका सुझावलाई सम्बन्धित ठाउँमा राखेर जिल्लाको शान्ति सुरक्षाका लागि सहकार्य गर्दै अगाडि बढ्ने बताए । कार्यक्रमको संचालन प्रशासकिय अधिकृत खिमबहादुर बिश्वकर्माले गरेका थिए ।





