पोखरा/नेपाली काँग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास लामिछानले आह्वान गरेको विशेष महाधिवेशनको विपक्षमा गण्डकीका चार जिल्ला सभापति देखिएका छन् । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा बहुमत पु¥याउन नदिन संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई दबाब सिर्जना गरेपनि ५० प्रतिशत बढीले हस्ताक्षर गरेका छन् ।
गण्डकीको मनाङ जिल्ला सभापति शंकर गुरुङ, स्याङ्जा जिल्ला सभापति राजु थापा, बागलुङ जिल्ला सभापति जित शेरचन र म्याग्दी जिल्ला सभापति खमबहादुर गर्जुवा नियमित महाधिवेशनको पक्षमा उभिएका हुन् ।
गण्डकीको गोरखामा ९५ प्रतिशत विशेषको पक्षमा हुँदा मुस्ताङमा एक जना मात्रै विशेषको पक्षमा छन् । ५० महाधिवेशन प्रतिनिधि रहेको गोरखामा ४७ जना विशेषको पक्षमा खुलेका छन् । मुस्ताङका २५ प्रतिनिधिमा विशेषमा हस्ताक्षर गर्ने एक जना मात्रै छन् । तनहुँमा २५, स्याङ्जामा २६, लमजुङमा २३, कास्कीमा ४७, मनाङमा ४, पर्वतमा २०, बागलुङमा ३५, म्याग्दीमा १७ र नवलपुरबाट ३३ जना विशेषको पक्षमा छन् ।
गण्डकी प्रदेशका सभापति विशेषको पक्षमा उभिदा उपसभापति भने नियमित महाधिवेशनको पक्षमा छन् । विशेषको पक्षमा गण्डकीका सभापति शुक्रराज शर्माले शेरबहादुर देउवाले विशेष अधिवेशनको आलटाल गर्दै बहुमतको सम्मान नगरेको बताएका छन् । विशेष महाधिवेशन हुने एक दिन अगाडी गण्डकी प्रदेशको अवधारणा सार्वजानिक गर्दै अहिले पार्टीले खोजेको विशेष महाधिवेशनको विपक्षमा पार्टीका नेताहरु लाग्न नहुने बताएका हुन् । पार्टीभित्र नियमित अधिवेशन, विधान कार्यान्वयन र बहुमतको सम्मान नगर्ने प्रवृत्तिप्रति कडा आलोचना गरिएको छ ।
काठमाडौंमा आज हुने नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन पार्टी सभापति, वरिष्ठ नेता डा. शेखर कोइराला लगायत सम्पूर्ण नेताहरूलाई सहभागी हुन अपील गरेको छ । अवधारणामा नेपाली काँग्रेसलाई बचाउनु नै देशलाई संकटबाट पार लगाउने पहिलो शर्त भएको उल्लेख गर्दै परिमार्जित, प्रशिक्षित र जनसेवामा समर्पित नेतृत्व चयन गर्न विशेष महाधिवेशनलाई निर्णायक बनाइनुपर्ने धारणा राखिएको छ । साथै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सनातन धार्मिक स्वतन्त्रताको पुनःस्थापना, संविधान र शासन प्रणालीबारे राष्ट्रिय विमर्श तथा गणतन्त्रको जिम्मेवार व्यवस्थापनको प्रस्ताव गरिएको छ ।
‘अधिवेशन सम्पन्न गराउने प्रथम कर्तव्यमा पर्ने विषयलाई गर्ने, नगर्ने मत खडा गरेर महिनौं खर्चिने, गैरजिम्मेवार भएर पार्टी संचालन हुन सक्दैन भनि विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गराउन ५४ प्रतिशत महाधिवेशन प्रतिनिधीहरुले विधिवत माग गर्दा पनि अनेक वहानामा यस्लाई टाल्न प्रयास गरिराखिएछ’ शर्माले भने, ‘काठमाण्डौमा हुन लागेको नेपाली काँग्रेसको विशेष महाधिवेशनमा पार्टी सभापति, बरिष्ठ नेता डा.शेखर कोइराला सहित सम्पूर्ण नेतागण महाधिवेशनमा सहभागी भएर यो विशेष महाधिवेशनलाई ऐतिहासिक वनाउन हामी अपील गर्दछौं ।’
नेपाली कांग्रेस विशेष महाधिवेशन २०८२ मा प्रस्तुत नेपाली कांग्रेस गण्डकी प्रदेशको अवधारणा सार्वजानिक गर्दै उनले सो कुरा बताएका हुन् । शर्माले देशमाथि परेको संकटको समयमा कांग्रेसले विगतको कमी कम्जोरीहरु नदोहो¥याउने संकल्पका साथ जनतासंग क्षमा माग्नुपर्ने सुनाए । अन्य पार्टीभन्दा काँग्रेस भिन्न पार्टी भएकाले ०६१ सालको आन्दोलनको सफलतापछि प्रजातन्त्रको ठाउँमा लोकतन्त्र, समाजवादको ठाउँमा समाजवाद उन्मुख, सनातन धार्मिक स्वतन्त्रताका ठाउँमा निरपेक्ष, संवैधानिक राजतन्त्रका ठाउँमा गणतन्त्र राखेर अन्तरिम संविधान लेख्नु प्रजातन्त्रको खिलाफ भएको बताए ।
‘जेनजी आन्दोलनमा राष्ट्रिय क्षतिको उचित छानविन गरी क्षतिपूर्ति समेतको व्यवस्था मिलाउन विशेष महाधिवेशनले माग गरोस् । आसन्न निर्वाचनमा नेपाली कांग्रेसको पूर्ण एकताका साथ जनताका अपेक्षा अनुसार संकल्प बोकेर नेपाली कांग्रेसका तर्फबाट प्रस्तुत उम्मेदवारहरुलाई विजय गराउन यो विशेष महाधिवेशनले निर्देशन गरोस्’ शर्माले भने ।
उता विशेष महाधिवेशन पक्षधरले कार्यक्रममा ६० प्रतिशत भन्दा धेरै प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिला हस्ताक्षर नगरेका तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायतका जिल्लाका प्रतिनिधि पनि खुलेका छन् । आज हुने विशेष महाधिवेशन ऐतिहासिक पक्षधरको दाबी छ । उता गण्डकीकै उपसभापति मेखलाल श्रेष्ठ भने विशेष महाधिवेशनको विपक्षमा रहेका छन् ।





