पोखरा/तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा ३ जनाको शव फेला परेको छ । फोहोरमैला प्रशोधन केन्द्रमा कार्यरत एक कर्मचारीसहित अन्य २ व्यक्तिको शव फेला परेको थियो । फेला परेको शव हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
फोहोर प्रशोधन केन्द्रमा कार्यरत एक कर्मचारीले शनिबार विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फोहोर मैला प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई जना पुरुषको शव फेला परेको हो । उनीहरु दुवैलाई धारिलो हतियार प्रहार गरेको जस्तो देखिएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराको टोली पुगेर अनुसन्धान गर्दा मृकतमध्य एक जना फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनका लागि शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरेर काम गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुन् ।
शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० बर्षीय नारायण विक यो महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गरिरहेको खुलेको छ । अर्का मृकत पुरुष पनि प्रशोधन केन्द्र बाहिर टहरा बनाइ बसिरहेका व्यक्ति भएको भेटिएको छ । उनको पहिचान खुल्न सकेको छैन् । पहिचान खुल्न नसकेका ती व्यक्तिको साथमा एक जना महिला पनि बस्दै आएकी थिइन् ।
दुई पुरुषको शव भेटिएको स्थानबाट झण्डै ७ सय मिटर पर ती महिलाको शव फेला परेको हो । जनकल्यण माविको पछाडि कसेरी घाटको जंगलमा मृत भेटिएकी उनको पनि पहिचान खुल्न सकेको छैन । पहिचान खुल्न नसकेका महिला र पुरुष दुवै जना टहरमा बस्दै आएका थिए । शुक्लागण्डकीका बजार क्षेत्रबाट संकलन गरेर लगिएको फोहोरमैलाबाट कवाडी संकलनको काम गर्थे । उनीहरु त्यहाँ बस्न थालेको झण्डै एक बर्ष भएको स्थानीयहरु बताउँछन् ।
मृत फेला परेका तीनै जनाको शव विभत्स रहेको शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले बताए । वडाध्यक्ष थापाका अनुसार नारायणको पेट र टाउकोमा पनि चोट देखिएको छ ।
पहिचान नखुलेका पुरुषको पनि पेटमा चोट छ । ‘पेटबाट आन्द्रा नै बाहिर निस्केको छ’ विभत्स दृश्यबारे उनले भने । महिलाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको उनले सुनाए ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार दुई जनाको पहिचान खुलेको छैन् । घटनाको अनुसन्धान गर्न गण्डकी प्रदेशको प्राविधिक टोली र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।





