पोखरा/पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ वार्षिक खेलकुद कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
खेलकुद कार्यक्रममा माछापुच्छ«े सदन विजेता बनेको छ भने धौलागिरि सदन उपविजेता भएको छ । त्यस्तै उत्कृष्ट मार्चपास प्रस्तोता अन्नपूर्ण तथा गौरीशङ्कर सर्वाधिक अनुशासित सदन घोषित भए । त्यस्तै कक्षा ११ र १२ तर्फ गौरीशङ्कर सदन विजेता तथा अन्नपूर्ण सदनले उपविजेताको उपाधि प्राप्त गरे ।
समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालयका सचिवडा. शेषनारायण पौडेललेनियम र अनुशासनको अर्काे नाम खेलकुद भएको र यसको पालना गर्ने व्यक्ति मात्र सच्चा खेलाडी बन्न सक्ने बताए ।
हरेक क्षेत्रमा नियम सर्वाधिक महत्त्वपूर्ण भएकाले नियम उल्लङ्घन गरी जितिएको खेललाई वास्तविक खेल मान्न नसकिने उनको धारणा थियो । खेलमा सहभागी भइसकेपछि जित–हार प्राविधिक विषय भएको तर म खेल खेल्छु भन्ने दृढता नै खेलाडीको वास्तविक जित हुने पनि उनले बताए ।
विकसित राष्ट्रहरूमा देशले नै बालबालिकाको प्रमुख अभिभावकत्व ग्रहण गरिदिने प्रचलन रहेको तर हाम्रो देशमा त्यस्तो मनस्थिति विकास हुन सकिरहेको छैन ।’ सचिव पौडेलले भने, ‘प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका धेरै क्षेत्रको जिम्मेवारी वहन गर्दै आइरहेको मन्त्रालय भएका नाताले बालबालिकाको शिक्षाका क्षेत्रमा उल्लेखनीय कर्म गर्दै आइरहेको एसओएसजस्तो मानवतावादी संस्थासँग सहकार्य गर्ने विषयलाई प्रदेश मन्त्रालयले विशेष चासोका साथ लिएको छ ।’ उनले खेलकुदमा विद्यार्थीहरूद्वारा प्रदर्शन गरिएको प्रतिभाको प्रशंसा गर्र्दै उत्कृष्ट विद्यार्थीहरूलाई बधाई पनि दिए ।
वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले सामाजिक रूपान्तरण र राष्ट्रिय गरिमासँगै आपसी भाइचाराको सम्बन्ध विकास गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले यही मान्यतालाई आत्मसात् गर्दै आगामी माघ ५ देखि १० सम्म वडाले खेलकुद महोत्सव आयोजना गर्न लागेको जानकारी पनि दिए ।
एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य राख्दै विद्यालयका सहप्रधानाध्यापकप्रभास पौडेलले खेलको आयाम र जीवनका यसको महत्त्वबारे चर्चा गरे । उनले यस वर्षको खेलकुद दिवसमा समावेश गरिएका जम्मा ६५ खेलमध्ये अघिल्ला दुई दिन ४९ खेलहरू सफलतापूर्वक सम्पन्न भइसकेको र समापनका दिन १६ ओटा खेल राखिएको जानकारी दिए । प्रधानाध्यापक सुवेदीले सिकाइ विद्यालयको कक्षाकोठामा मात्रै नभई जीवनका हरेक क्षेत्रमा हुने बताउँदै खेलकुदमा विद्यार्थीहरूले प्रदर्शन गरेको प्रतिभाको प्रशंसासहित खेलकुद समारोहलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरे ।
वार्षिक खेलकुद कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरूका बीचमा विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, स्लो साइकलिङ, टग अफ वारलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भए भने शिशुकक्षाका विद्यार्थीहरूका बीचमा रिले रेस, बल पिक रेस, स्विट रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट गेम, ओरेन्ज रेस, पेपर रिलेलगायतका खेलहरू आयोजना गरिएका थिए ।खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पास्डका साथै २ सय ५६ विद्यार्थीहरू सम्मिलित एउटा समूहले ‘स्वागत’, ‘एसओएस’ हुँदै अन्तिममा नेपालको राष्ट्रिय झन्डाको रूपाकृति निर्माण हुने गरी साङ्गीतिक नृत्य पनि प्रदर्शन गरेका थिए ।
कार्यक्रममा तामाङ संस्कृतिमा प्रचलित सेलो, मगर संस्कृतिमा प्रचलित कौरा नृत्य तथा नेवारी संस्कृतिमा प्रचलित लाखे नृत्यका अतिरिक्त अन्य विविध लोकसांस्कृतिक नृत्य पनि प्रदर्शन गरिएको थियो । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा क्रियाशील जुनियर रेडक्रस तथा गण्डकी मेडिकल कलेजमा कार्यरत भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले खेलकुद स्थलमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेको थियो । समारोहमा अभिभावकहरूका बीचमा ‘तातो आलु’ प्रतियोगितासमेत आयोजना गरिएको थियो ।





