पर्वत/ जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीस्थित स्वास्थ्य चौकीमा शनिवार आयोजित एकदिने निशुल्क आँखा जाँच शिविरमा ३ सय १९ जनाले सेवा लिएका छन् । खौलालाँकुरी पोखरा सम्पर्क समाजले शिविरको आयोजना गरेको हो । समाज खौलालाँकुरी स्थायी घर भई हाल पोखरामा बस्दै आएकाहरुको संस्था हो ।
शिविरलाई हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग रहेको थियो । शिविरमा कुल ३१९ जनाको आँखा जाँच गरिएको थियो । रु. ३३ हजार बराबरको औषधी र १ सय ६२ जनालाई निशुल्क चश्मा वितरण गरियो । आँखा जाँच गराएका मध्ये ७ जनामा तत्काल शल्यक्रिया गर्नुपर्ने मोतिबिन्दु देखिएको छ भने कम्तीमा १३ जनामा ६–८ महिना भित्र शल्यक्रिया गर्नुपर्ने खालको मोतिबिन्दु देखिएको छ । समयमै उपचार नपाउँदा १७ वर्षीया एक किशोरीले सेतो पुतलीको संक्रमणबाट हुने शापु (४८ घन्टाभित्र उपचार नपाए उपचारै नहुने) रोगका कारण दाहिने आँखाको दृष्टि गुमाउन पुगेको पाइएको छ ।
शिविरको कुनपा–१३ का वडाध्यक्ष तेजप्रसाद शर्माले उद्घाटन गर्दै सम्पर्क समाजले गर्दै आएका कामहरुको प्रशंसा गरे । कुनै पनि संस्था स्थापना गर्नु मात्र नभई त्यसको उद्देश्य अनुसार निरन्तरता दिनु ठूलो कुरा रहेको उनको भनाई थियो । ‘समाजले गत वर्ष विभिन्न विशेषज्ञसहितको स्वास्थ्य शिविर ल्याएको र अहिले आँखा शिविरमार्फत वडाबासीलाई सेवा दिएर ठूलो गुन लगाएको छ’, उनले भने, ‘समाजले यस्तो सामाजिक कामलाई निरन्तरता दिओस् ।’ आँखा उपचारको क्षेत्रमा यस क्षेत्रकै अब्बल मानिएको हिमालय आँखा अस्पताल गाउँमै आएर सेवा दिनु निकै राम्रो रहेको भन्दै उनले व्यक्तिको मुल्यांकन कामका आधारमा हुने उल्लेख गरे ।
हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत शशी कमला लामिछानेले शिविरको प्राविधिक पक्षबारे जानकारी दिदै आँखा शरिरको महत्वपूर्ण अंग रहेकाले हेलचेक्राइँ गर्न नहुने बताइन् ।
समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले संस्था स्थापनाबारे प्रष्टाएका थिए । कार्यक्रममा नेकपा एमाले वडा कमिटी अध्यक्ष तिलकबहादुर लामिछाने, नेपाली कांग्रेस वडा सभापति रामबहादुर नेपाली, नेपाली कम्युनिष्ट पार्टी वडा कमिटी अध्यक्ष तेजबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी वडा सभापति मनोज सुवेदीले सम्पर्क समाजले गर्दै आएको कामहरुको प्रशंसा गरे । साथै उनीहरुले समाजले गर्ने काममा आफ्नो साथसहयोग रहने प्रतिवद्धता पनि जनाए ।

खौलालाँकुरी स्वास्थ्य चौकीका इन्चार्ज कालीका देवी शर्माले समाजको कामको सराहना गरिन् । उक्त अवसरमा शिविरलाई सबैभन्दा बढी आर्थिक सहयोग गर्नुहुने हरिबहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व विश्वकर्माले समाजलाई सधै आफ्नो तर्फबाट सक्दो सहयोग भइरहने बचनवद्धता व्यक्त गरे । समाजका अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा भएको आँखा शिविरको उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक एवं निवर्तमान अध्यक्ष पिताम्बर पौडेलले धन्यवाद ज्ञापन, समाजका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर खत्रीले स्वागत मन्तव्य र सञ्चालन सचिव गंगाकुमारी कार्कीले गरेकी थिइन् ।





