आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दुई विधेयक पारित, योजनाको नाम संशोधन

दुई विधेयक पारित, योजनाको नाम संशोधन


  • ढाेरपाटन संवाददाता
  • पुष २७ २०८२, आइतबार

बागलुङ/बागलुङ नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । दुइ वटा बिधेयक पास गर्नुको साथै योजनाको नाम संशोधन गरी छिटो काम सक्न पहल गर्ने निष्कर्ष निकालेको छ । त्यस बाहेक नयाँ जनप्रतिनिधि आएपछि भए गरेका कामको समीक्षा गर्दै दस्तावेजीकरण गर्ने तयारी समेत गरेको हो ।

बसन्तकुमार श्रेष्ठ नेतृत्वको जनप्रतिनिधि आएपछि भएका सकारात्मक कामलाई नागरिक समक्ष लैजाने गरी नगरप्रमुखले राखेको प्रस्तावमा छलफल गरी पास गरिएको थियो । हिउँदे अधिवेसन तथा नगरसभालाई कानून बनाउने अधिवेसनको रुपमा लिने गरिन्छ । तसर्थ नगरसभाले नीतिगत बिषयमा बढी छलफल केन्द्रीत गरेको थियो ।

गत असारमा भएको १७ औं नगरसभाले ल्याएको बजेटको संशोधन र समीक्षा गर्नुको साथै नीतिको समिक्षा र ४ बर्षे कार्यकालभर भएका कामको लिपिबद्द गर्ने निर्णय समेत गरेको सामाजिक बिकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

बसपार्क निर्माणपछि संचालनमा आएको, विश्व बैंकको सहयोगमा तीनवटा सडक कालोपत्र गरिएको, फोहोर व्यवस्थापनमा काम गरेको दाबी गर्दै आएका छन् । त्यस्तै सिगानामा लिफ्टबाट पानी बितरण गरिएको, पञ्चकोट, मालिका, भैरवस्थान लगायतका स्थानलाई पर्यटकीय क्षेत्र बनाउन भएका पहल र हाल सम्म गरिएका बिकास निर्माणको काम लगायतमा पनि नगरपालिकाले अपनत्व लिने गरेको छ ।

नगरसभामा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पेश गरेको संशोधित नीति, उपप्रमुख राजु खड्काले पेश गरेको संशोधित आर्थिक नीति पास गरियो । छलफलमा भाग लिएका सदस्यहरुले काम धेरै भएपनि प्रभावकारी नदेखिएको, जनप्रतिनिधिहरुनै दादागिरी गर्ने गरेको र जनताको चाहना अनुसारका काममा कम ध्यान दिएको आरोप समेत लगाएका थिए । बन्दसत्रमा उनीहरुले एक आपसमा आरोपप्रत्यारोप पनि लगाएको एक सहभागिले बताए ।

नगरसभाले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८२ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८२ पास गरेको लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुन घिमिरेले बताए ।

पछिल्लो समय बागलुङले प्राकृतिक श्रोत साधनबाट फाइदा लिन सकेको छैन । त्यस्तै कालीगण्डकी नदी दोहन रोक्ने र बैधानिक रुपमा नदीजन्य सामाग्री उत्खनन् गर्ने काममा समेत अगाडि बढ्न सकेको छैन । यो विधेयकले वातावरण संरक्षण र नदीजन्य सामाग्रीको सदुपयोग गर्न पनि सहज वातावरण आउने सरोकारवालाले विश्वास गरेका छन् ।

बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ दशमलव ४५ प्रतिशत वित्तिय प्रगति गरेको छ । नगरसभामा नगर उपप्रमुख राजु खड्काले आर्थिक वर्ष २०८२÷८३ को पौष २१ गतेसम्म २९ करोड ४० लाख ९८ हजार खर्च भएको बताए ।
नगरउपप्रमुख खड्काका अनुसार, चालु आर्थिक वर्षको ६ महिनामा चालु खर्चतर्फ ८४ करोड, ४१ लाख ७ हजार ८ सय ३० रुपैयाँ विनियोजन गरिएकोमा पौष २१ गतेसम्म २२ करोड, ९५ लाख ३६ हजार ९ सय ८९ रुपैयाँ खर्च भएको छ ।

पुँजीगततर्फ ४४ करोड, २३ लाख ५२ हजार २ सय ४० रुपैयाँ विनियोजन गरिएकोमा सोही अवधिमा ६ करोड, ४५ लाख ६१ हजार ८ सय २२ रुपैयाँ मात्र खर्च भएको छ । वित्तिय व्यवस्थातर्फ २ करोड, ३० लाख ९८ हजार विनियोजन गरिएकोमा हालसम्म खर्च भने हुन नसकेको उपप्रमुख खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->