मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जो कांग्रेस विशेष महाधिवेशनको पक्षमा उभिए

जो कांग्रेस विशेष महाधिवेशनको पक्षमा उभिए

प्रधानमन्त्री लत्याएका तारानाथदेखि अवसर पाएका गोपालमान अनि सम्भावना बोकेका देवराज,ध्रुवहरु एउटै डुंगामा


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८२, सोमबार

पोखरा/नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पुगेपछि यतिबेला नेता गोपालमान श्रेष्ठ अत्यधिक चर्चामा छन् । स्याङ्जाको धनाढ्य परिवारमा जन्मेका गोपालमान तिनै नेता हुन्, जसले संकटको बेला पनि पार्टी सभापति शेरबहादुर देउवाको साथ छाडेनन् । पार्टी विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसको उपसभापति भए । राजाले ‘कु’ गर्दा कार्यवाहक सभापतिको रुपमा नेपाली कांग्रेस प्रजातान्त्रिकलाई अगाडि बढाउन उनले नै योगदान गरे । र,त्यसको ब्याज पनि मज्जाले खाए । उनी देउवाले च्यापेका र पटक–पटक मन्त्रीमा अवसर दिएका नेतामध्ये एक हुन् ।

२०४८, २०५१, २०५६ का प्रतिनिधि सभासहित संविधान सभा २०६४ मा पनि उनले टिकट पाए । २०७० सालमा भने उनी दुई नम्बर क्षेत्रबाट नै समानुपातिक सांसद बने ।

२०५१ माबाहेक उनी सबै निर्वाचनमा विजयी भए । चारपटक मन्त्री भए ।

स्याङ्जामा कांग्रेसलाई बलियो र कमजोर दुबै बनाउनमा गोपालमानको हात छ । उनीमाथि आफू अगाडि बढ्न धेरै योग्य नेता÷कार्यकर्ताको बाटो छेकेको आरोप लाग्छ । कुनै समय स्याङ्जा कांग्रेसको पर्याय रहेका उनलाई पछिल्लो समय भने सभापतिको रुपमा उदाएका सांसद राजु थापाले चुनौती दिँदै आइरहेका थिए । स्याङ्जा कांग्रेसका सभापति राजु थापाले विशेष महाधिवेशनको विपक्षमा हस्ताक्षर गरेका छन् भने गोपालमानको निजी सचिवको रुपमा राजनीति अगाडि बढाएका गण्डकी कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठले पनि त्यही बाटो रोजेका छन् । तर, वृद्ध गोपालमान चाहिँ विशेष महाधिवेशनमा एकाएक फरक कित्तामा उभिए । सभापति देउवालाई साथ दिएर गलत गरेको भन्दै प्रायश्चित गरे । विशेष महाधिवेशनको उद्घाटनमा पुगेपछि उनी एकाएक चर्चित बने ।

स्याङ्जा कांग्रेसका एक नेताका अनुसार गोपालमान यसपटक राष्ट्रिय सभामा जान चाहन्थे । सभापति देउवाले आफूलाई अवसर दिनेमा उनी ढुक्क थिए । तर, देउवाले एमालेसँग गठबन्धन गर्दा राष्ट्रिय सभाको आसन्न निर्वाचनको लागि नेपाल प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनालाई टिकट दिए । उनी बिच्किए ।

‘जेन–जी आन्दोलनपछि देशैभर युवाहरु कांग्रेससँग विरक्तिएको तथ्य सतहमा आइसकेको थियो । आफूले अवसर पनि नपाउने भएपछि चाहिँ उहाँ( गोपालमान) ले नयाँ बाटो रोज्नुभयो,’ती नेता भन्छन्,‘ देउवा दाइले पार्टी सभापति पनि नबनाउने अनि अवसर पनि नदिने भएपछि सधैँ के बस्ने भन्ने भयो होला तर उहाँले यो बेला वाहवाही चाहिँ पाउनुभयो । अहिलेसम्मका सबै दोष पनि पखाल्नुभयो ।’

खासमा गोपालमान युवा छँदा साँच्चिकै भावुक र बुझक्कड थिए रे !

२०२० सालमा नै ‘पूर्वपश्चिम राजमार्ग, नेपालको भाग्यरेखा’ निबन्ध लेखेर पदक पाएका उनले ‘चुरोटको ठूटो’, ‘स्यानो माछा ठूलो माछाले खान्छ’ निबन्धसहित तरुण साप्ताहिकमा आफ्नै आत्मकथा पनि प्रकाशित गरेका थिए । उनलाई नपुग्दो केही छैन ।

विशेष महाधिवेशनमा उनले भने,‘पुस्ता बदलिएको छ । जनताका अपेक्षा बदलिएका छन् । त्यसैले अब पार्टी चल्ने शैली बदल्नुपर्छ । नयाँ युवायुवतीलाई मौका दिनुपर्छ,इतिहासको ब्याज खाएर मात्र अब चल्दैन ।’

विशेष महाधिवेशनमा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि पुगे । कास्कीको कन्दनीडाँडाका रानाभाट प्रजातन्त्र सेनानी नारायणदत्त रानाभाटका छोरामात्रै हैनन,आफै पनि प्रजातन्त्रको लागि जेल–नेल भोगेका नेता हुन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाभन्दा पहिल्यै महामन्त्री बनेका उनी दरबार हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक गर्दा आलोचनाको शिकार बने । त्यसपछि उनको राजनीतिक यात्रा ओरालो लाग्यो । तर,राजा ज्ञानेन्द्रले शासन हत्याएपछि चाहिँ उनलाई दरबारले प्रधानमन्त्रीको ‘अफर’ गरेको थियो । त्यो बेला उनी सभामुख थिए र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र पनि ।

उनले प्रधानमन्त्रीको प्रस्ताव आएको कुरा सभापति कोइरालालाई सुनाए । तर, कोइरालाले भने रे,‘तारा,राजाले धोका दिए । संसद पुनस्र्थापनको मागमा अडिग हुनुपर्छ । तिमी सभामुख छौ । त्यही संसद पुनस्र्थापना गर्ने हो ।’

दौरा–सुरुवाला सिलाएर बसेका तारानाथ रोकिए । त्यसपछि दरबारले नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव ग¥यो । देउवाले ‘गोर्खाली राजाले न्याय गरे’ भन्दै सोझै प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरिहाले ।

दरबारले प्रधानमन्त्री बन्नका लागि नारायणहिटी बोलाउँदा देउवा खानपानमा व्यस्त थिए रे ! उनी तत्काल नारायणहिटी पसे । दरबारले देउवालाई बोलाएको कुरा गोप्य राख्न खोज्यो । भेटपछि चाहिँ देउवा नारायणहिटीबाट फर्किएको कुरा गिरिजाप्रसादकहाँ पुगेछ । देउवा पुनः प्रधानमन्त्री बनेको गिरिजाप्रसादले देख्न चाहने कुरै भएन ।

‘त्यो बेला गिरिजाबाबुले आत्तिएर पशुपतिभक्त महर्जनलाई फोन लगाउनुभएछ । उहाँले म तारालाई प्रधानमन्त्री बन्न मनाउँछु भन्नुभएछ तर पशुपतिभक्तले ढिला भयो,देउवा नै प्रधानमन्त्री नियुक्त हुनुहुन्छ भनेछन्,’तारानाथले त्यो बेलाको कुरा सम्झँदै भनेका छन्,‘ मैले गिरिजाबाबुलाई र प्रजातन्त्रलाई धोका दिइन तर पार्टीले चाहिँ मलाई अन्याय गरेको छ ।’

विशेष महाधिवेशनका निम्ति यतिबेला सबैभन्दा मुखरित बन्नेको अंग्रपंक्तिमा देखिन्छन्–कास्कीका नेता देवराज चालिसे ।

कुनैबेला त्रिभुवन विश्वविद्यालय स्ववियूका सभापति रहेका यी नेता तर्क र भाषणमा माहिर छन् । यसअघिको १४ औं महाधिवेशनमा शेखर कोइराला–गगन समूहबाट उपसभापति लडेका देवराज शेखर समूहमै थिए । उनी शेखरलाई विशेष महाधिवेशन आयोजनाको नेतृत्व गर्नका निम्ति पटक–पटक आग्रह गर्ने नेतामध्येका एक हुन् । तर, शेखरले उनको कुरा सुनेनन् । देश दौडाहा गरेर नेतृत्व परिवर्तनको एजेण्डा स्थापित गराएका देवराजले त्यसपछि चाहिँ शेखरलाई छाडे । निरन्तर विशेष महाधिवेशनको पक्षमा आवाज बुलन्द गरिरहे । विशेष महाधिवेशन भव्य हुँदा यी नेताको कद एकाएक बढेको छ । राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिएको छ ।

प्रधानमन्त्री बन्नबाट बञ्चित भएका तारानाथसहित विशेष महाधिवेशनमा तनहुँका प्रभावशाली नेता ध्रुव वाग्ले पनि सहभागिता जनाए । पिता केशव वाग्लेको बाटो पच्छ्याउँदै कांग्रेस बनेका उनी बोल्नमा माहिर छन् । १४ औं महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित वाग्ले २०३९ सालमा शंकरदेव क्याम्पसका स्ववियू सभापति बनेका थिए । २०३६ सालको विद्यार्थी आन्दोलनमै चर्चामा रहेका वाग्ले भाषणबाज हुन् । संविधान सभाको सदस्यसमेत बनेका वाग्लेले लामो समयदेखि देउवालाई साथ दिँदै आएका थिए । तर, अहिले चाहिँ उनले देउवाको साथ छाडे । नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, पर्वत कांग्रेसको सभापति युवराज जोशीलगायतले पनि विशेष महाधिवेशनको पक्षमा आफूलाई उभ्याएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->