आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आधारभूत अस्पतालको भवन मात्रै ठडियो, सेवामा कमजोर

आधारभूत अस्पतालको भवन मात्रै ठडियो, सेवामा कमजोर

दैनिक ४ देखि ५ जना मात्रै बिरामी आउने गरेको एक स्वास्थ्यकर्मीले बताए । पुस महिनाभर यहाँ १ सय २० जना मात्रै बिरामीले उपचार सेवा पाएका छन् । ती पनि अधिकांस ज्वरो र रुघाखोकी जस्ता समस्यामा परेकाहरु मात्र जाने गरेका हुन् ।


  • ढाेरपाटन संवाददाता
  • पुष २८ २०८२, सोमबार

बागलुङ/करोडौं लगानी गरेर काठेखोला गाउँपालिका वडा नं. ५ मा गतवर्ष आधारभूत अस्पताल निर्माण भयो । तत्कालिन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले भवनको उद्घाटन गरे । तर यो भवन अपायकमा पर्दा बिरामीको प्राथमिकतामा पर्न छाडेको छ ।

मध्यपहाडी लोकमार्गदेखि भित्री खण्डमा परेकोले यहाँ बिरामी थोरै जाने गरेका छन् । सामान्य समस्या भएपनि स्थानीय सिधै सदरमुकाम धाउने गरेपछि करोडौंको भवन अलपत्र जस्तै छ । हाल भएका स्वास्थ्यकर्मी समेत भवनमा बस्नै डराउने अवस्था बनेको छ ।

नाम आधारभूत अस्पताल भएपनि यहाँ पुरानो स्वास्थ्य चौकीको समेत दरबन्दी अभाव छ । दैनिक ४ देखि ५ जना मात्रै बिरामी आउने गरेको एक स्वास्थ्यकर्मीले बताए । पुस महिनाभर यहाँ १ सय २० जना मात्रै बिरामीले उपचार सेवा पाएका छन् । ती पनि अधिकांस ज्वरो र रुघाखोकी जस्ता समस्यामा परेकाहरु मात्र जाने गरेका हुन् ।

यो भवनमा बिरामी भर्ना गर्ने वार्डदेखि इमरजेन्सी सेवा र परिवार नियोजनसहित प्रसुती सेवाका लागि चाहिने सबै कोठा उपलब्ध छ । तर अहिलेसम्म यहाँ बस्ने गरी बिरामी कोही आएका छैनन् । अहेव दिपक अवस्थीका अनुसार प्रसुती सेवाका लागि तालिमप्राप्त अनमी सरिता सुनार र मायादेवी निउरे छन् तर गर्भ जाँचका लागि आएपनि सुत्केरी सेवाका लागि महिलाहरु सदरमुकाम पुगेका छन् ।

यहाँ ल्याब सेवा दिने भवन र कोठा पनि छ । तर ल्याबको सामाग्री छैन । ल्याब सेवा नभएपछि अधिकांसले यहाँ उपचार लिन नमानेको अवस्थीको भनाइ छ । ‘बिरामी आउँछन्, तर रगत, पिसाब लगायत परीक्षण गर्नुपर्ने भएपछि अन्यत्रै जान्छन्’ उनले भने, ‘परीक्षण नगर भन्न सकिएन, त्यसैले फिर्ता जानेहरु धेरै हुनुहुन्छ ।’ ल्याब सेवा भएमा वडाभरका सेवाग्राहीले उपचार पाउने उनले बताए । नत्र बिहुँको घोडाबाँधे, रिजालचोक, पोखरासहित इनारपानी लगायत सबै स्थानका मानिस सदरमुकाम झर्ने गरेका हुन् । बिहुँकोट, हटिया लगायतका केही स्थानका नागरिकले मात्र यहाँ सेवा लिने गरेका छन् ।

भवन समेत सडकको अपायकमा मात्र नभइ मौषमको लागि पनि अनुपयुक्त छ । अत्याधिक चिसो र ओसिलो स्थानमा बनेकोले भएका कर्मचारी र स्वास्थ्यकर्मी समेत घाम ताप्ने ठाउँको खोजीमा देखिन्छन् । बिरामी नआउने भएपनि उनीहरु पनि घाम तापेर बस्न बाध्य भएको बताए । जग्गा प्रसस्त भएर पनि यहाँ सरसफाइको दृष्टीले प्रभावकारी सेवा प्रवाह छैन । सुइ र मानव स्वास्थ्यका लागि हानिकारक उपकरणहरु व्यवस्थापनमा समेत बेवास्ता गरिएको प्रदेश स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटाले बताए । ‘थोरै सामाग्री र उपकरण उपयोग भएको भन्दै पाखोमा फालिएको अवस्थामा जोखिमपुर्ण वस्तु भेटिए’ उनले भने, ‘तत्काल खाल्डो खनेर पुर्ने वा जलाउने काम गर्न सुझाव दिएका छौं ।’ बिशेषगरी नियमित खोप सेवाका सुइ लगाए पछिका सामाग्री, परिवार नियोजनका साधनहरु जलाउने वा खाडलमा पुर्ने गर्नुपर्छ । तर यहाँ ती सामाग्रीलाई व्यवस्थापन नगरिएको भेटिएको हो ।

कार्यालय सहयोगी एक जना मात्रै भएकोले ठूलो भवन सरसफाइमा समस्या परेको अर्का स्वास्थ्यकर्मी विद्या सुनारको भनाइ छ । उनले ल्याबमा समेत एकजना असिस्टेन्ट मात्रै रहको बताइन् । सुनार आँफै ल्याबकी कर्मचारी हुन् । करारमा बसेकी सुनारको भरमा ल्याब चल्न सकेको छैन । सुनारका अनुसार गत एक वर्षमा यहाँ ७ सय ४६ जनाले सेवा लिएको तथ्यांक छ । तर जटिल समस्याको सेवा लिने कोही तथ्यांकमा छैनन् । गत वर्ष यहाँ २ जना मात्रै सुत्केरी भएका थिए ।

आधारभूत अस्पताललाई अस्पताल जस्तै संचालनका लागि पहल गर्ने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयले बताए । सडक पहुँच सहज नभएको र दरबन्दीसहित सेवा प्रवाह गर्न नसक्दा अस्पताललाई सोचेझै उपयोगमा ल्याउन नसकेको उनी बताउँछन् । भएको जनशक्तीलाई भरपुर उपयोगमा ल्याउन तालिम दिएर दक्ष बनाउने काम भने भएको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->