पोखरा/शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा भएको तीन जनाको हत्या मध्ये महिलाको समेत पहिचान खुलेको छ ।
शनिबार विहान शुक्लागण्डकी नगरपालिका–५ जनकल्याण माविको पछाडि कसेरीघाटको जंगलमा मृत फेला परेकी महिलाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार मृतक महिला तनहुुँको भीमाद नगरपालिका–८ भागरकी देउमाया थापा रहेकी छन् । उनका छोराले सोमबार दिउँसो सनाखत गरेको विकाले जानकारी दिए ।
मृतकमध्य देउमायासँगै टहरामा बस्दै आएका अर्का पुरुषको भने अझै पनि पहिचान खुल्न सकेको छैन । शनिबार विहान साढे ९ बजेको आसपासमा कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्रको बाहिरपट्टि दुई जनाको पुरुषको शव फेला परेको थियो ।
यस्तै शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका ४१ वर्षीय नारायण विकको शनिबार नै पहिचान खुलेको थियो । उनको पोस्टमार्टमपश्चात परिवारलाई शव बुझाइएको छ ।
शनिबार विहान विभत्स रुपमा धारिलो हतियार प्रहार गरेको अवस्थामा शव फेला परेको थियो । दुई जना पुरुषको कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्रको बाहिर र महिलाको खोजी गर्नेक्रममा त्यहाँबाट झन्डै ७०० मिटर पर शव फेला परेको थियो । घटनाबारेमा अनुसन्धान भइराखेपनि अहिले सम्म आरोपित पत्ता लगाउन सकिएको छैन ।





