बागलुङ/तीन वर्ष अघि बागलुङ नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरुले तामझाम गरेर वडा वडामा गएर योजनाको सम्झौता गरे । सो वर्ष समयमै योजना फरफारक गरेर जेठ मसान्तभित्रै सबै काम सकेको घोषण गरे ।
अर्को वर्ष बिस्तारै यो क्रम सेलायो । तरपनि अघिल्लो वर्षको अनुभवले केही योजना बाहेक धेरैजसो योजना समयमा सम्झौता भए । तेस्रो वर्ष लाग्दा पुरानो जोस् सबै सेलायो । अहिले पुस मसान्त लागिसक्दा पनि नगरपालिकाले २५ प्रतिशत योजना समेत सम्झौता गर्न सकेको छैन । झण्डै ५ सय योजना रहेको नगरमा नगरसभा भएको शुक्रबारसम्म जम्मा १ सय २० योजना मात्रै सम्झौता भएका छन् ।
नगरसभाले सिमा तोकेर माघ मसान्तभित्र सबै योजना सम्झौता गरिसक्न नगरपालिकालाई निर्देशन नै जारी गरेको योजना तथा प्रशासकीय अधिकृत भीमसेन पन्त बताउँछन् । योजनाबारे उपभोक्तामा चासो कम भएको, उपभोक्ताले गर्नुपर्ने लागत सहभागितामा शुन्यता बढ्न थालेको कारण यो समस्या आएको जनप्रतिनिधिको बुझाइ छ ।
‘लागत सहभागिता गर्न नसक्ने भएपछि उपभोक्ता समितिमा बसिदिने समेत पाउन गाह्रो भएको छ’ नगर उपप्रमुख राजु खड्काले भने, ‘यो समस्या दिनदिनै बढीरहेको छ ।’ खड्काका अनुसार, यो समस्या अब आगामी दिनमा झनै बढेर जाने छ ।
नगरसभाले कतिपय योजनाको नाम समेत संशोधन गराएको छ भने कतिपय योजनाहरु मर्ज गरेर कार्यान्वयन गर्ने लक्ष्य बनाएको छ । किनकी एकै प्रकृतिका योजनामा दुइ वा बढी उपभोक्ता समिति बनाउन जनशक्ती अभाव र लागत साझेदारीको समस्या परेको हो । यो अहिलेको विकासमा प्रमुख चुनौती बन्दै गएको छ ।
नयाँ सडकहरु नखन्ने नीतिमा पनि नगरपालिका चुक्दै गएको छ । यद्यपी ठूला प्रकृतिका योजना संचालन गर्ने काममा नगरपालिकाले दाताहरु खोजी रहेको छ । गत वर्ष विश्वबैंकको सहयोगमा नगरपालिकाले सडक कालोपत्रेको काम गरेको थियो । खानेपानी, सिंचाइ र ग्रामीण सडक स्तरोन्नतीका काममा लागत साझेदारी गर्न खोज्दा उपभोक्ता समितिहरु मात्रै मारमा परेकोले यो वर्ष योजना सम्झौता नै ढीला भएको उपभोक्ताहरुले बताए । ‘गाउँमा मानिस कम छन्, कतिपयले लगानी गर्नैै सक्दैनन्, उनीहरुलाई जबरजस्ती लगानीमा लगाउन नसकिएको हो’ वडा नं. ६ का अध्यक्ष रुद्रबहादुर केसीले भने, ‘बरु ठूला योजना ठेक्कामा लगाए सहज हुनेछ ।’ वडा नंं ६ ले पनि वडा कार्यालय हुँदै हिमालय बाबा परिक्रमा सडक ठेक्कामा लगाएको छ ।
त्यस्तै पञ्चकोटको लगानीमा नगरपालिकाले ठूला दाता खोज्ने योजना बनाएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्षहरुलाई ल्याएर समग्र विकासमा लगानी बढाउन आग्रह गरेका छन् । पुर्व अध्यक्षहरु कुशकुमार जोशी, सुरज बैद्य र भास्कर राज राजकर्णिकारले पञ्चकोट र मालिका क्षेत्र भ्रमण गरेर लगानीमा चासो देखाएका छन् । सानो लगानीले उपलब्धी नदेखिने भएपछि ठेक्कामार्फत गरिने कामदेखि दाताको लगानीमा मात्र काम गरेर विकासको प्रतिफल ल्याउने धुनमा नगरप्रमुखले चासो देखाएका छन् ।
नगर परिषदका सहभागिले नगरपालिकाको काम सुस्म ढंगले नभएको आरोप समेत लगाएका थिए । उनीहरुले नगरपालिकाको लक्ष्यमा पुग्न कठिन भएको भन्दै कामको प्रकृति बदल्न पनि सुझाव दिएका थिए ।





