मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सहमतिका लागि ‘देउवा’ को राजीनामा बटमलाइन

सहमतिका लागि ‘देउवा’ को राजीनामा बटमलाइन

‘सभापतिले राजीनामा दिए र सहमतिका आधारमा नयाँ नेतृत्व चुन्ने वा उहाँले आगामी चुनाव नलड्ने विकल्पबारे छलफल हुँदा यसको निर्णय त सभापतिबाटै आउनुपर्छ भन्ने कुरा भएपछि सहमति हुन सकेन,’ ती नेताले भने ।


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०८२, बुधबार

पोखरा/विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाको राजीनामालाई बटमलाइन बनाएका छन् । यहि कारण सहमति हुन सकेको छैन ।

वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा र सहमतिमा नयाँ नेतृत्व चयनको माग गरेका थिए । यसको विकल्पमा देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरी राजनीतिक रूपमा निस्क्रिय हुनुपर्ने माग गरिएको थियो ।

विशेष महाधिवेशन पक्षधरले यी दुवै विकल्प अगाडि सर्दा संस्थापन पक्षका वार्ताकारहरूले ‘सभापतिको कुरा उहाँले नै भन्नुपर्छ, उहाँसँगै सोध्नुपर्छ’ भनेपछि वार्ता टुंगोमा नपुगेको सहभागी एक नेताले जानकारी दिए ।

‘सभापतिले राजीनामा दिए र सहमतिका आधारमा नयाँ नेतृत्व चुन्ने वा उहाँले आगामी चुनाव नलड्ने विकल्पबारे छलफल हुँदा यसको निर्णय त सभापतिबाटै आउनुपर्छ भन्ने कुरा भएपछि सहमति हुन सकेन,’ ती नेताले भने ।

मंगलबार बिहानबाट दोस्रो चरणमा बसेको वार्ता निष्कर्षविहीन भएपछि अब कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई जना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँगै एक पटक कुरा गर्ने संस्थापन पक्षका वार्ताकारले बताएका छन् ।

‘अब कार्यवाहक सभापतिले दुवै महामन्त्रीसँग एकचोटि कुरा गर्नुहुन्छ, त्यसपछि आवश्यक परे तपाईंहरूलाई खबर गरूँला भन्नुभयो,’ वार्तामा सहभागी ती नेताले भने । वार्तामा विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्यान्वयन गर्नुपर्ने कुरा पनि उठेको थियो ।

वार्तामा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन् ।

त्यस्तै, संस्थापनतर्फ देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिन ेन्द्र रिजाल सहभागी छन् ।

यसबीच भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्द सत्र महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव पारित गर्दै सकिएको छ । बन्द सत्रको पहिलो दिन सोमबार दुवै महामन्त्रीले आ–आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समिति बनाइएको थियो । ती समूहले बन्द सत्रको दोस्रो दिन आज मंगलबार आ–आफ्नो निष्कर्ष सुनाउँदै सुझाव दिए । तिनै सुझावहरू समेट्दै दुवैको प्रस्ताव पारित गरिएको हो ।

सँगसँगै, नयाँ केन्द्रीय समिति चयन गर्न मनोनयन पत्र दर्ता गर्ने समय राती साढे ७ बजेसम्मलाई तोकिएको छ । मतदान भने बुधबार बिहान हुनेछ ।

एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो । सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहन्छन् । त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन् । पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ ।

पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ । यसअनुसार सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ । त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको छ भने केन्द्रीय सदस्य पदका लागि १० हजार रूपैयाँ शुल्क तोकिएको छ ।

विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन् । चौधौं महाधिवेशनका प्रतिनिधिको कुल संख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या घटाएर मतदाता कायम गरिएको हो । चौधौं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए । पार्टी छाड्ने र मृत्यु भएकाहरूको संख्या १ सय ५ छ । यद्यपि विशेष महाधिवेशनमा ६३ प्रतिशत प्रतिनिधि मात्र सहभागी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->