मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अन्ततः विभाजन भयो कांग्रेस

अन्ततः विभाजन भयो कांग्रेस

झण्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८२, बिहिबार

काठमाडौं/महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासित गरेसंगै नेपाली कांग्रेस आधिकारिक रूपमै विभाजन भएको छ । विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय र सह–महामन्त्रीलाई कारबाही गर्ने केन्द्रीय समितिको निर्णयसँगै कांग्रेस विभाजन भएको हो ।

कांग्रेसले थापा, शर्मा र मन्सुरलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन बोलाएको लगायत आरोप लगाउँदै कारबाही गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

लगातार सहमतिको प्रयास भए पनि दुवै पक्ष आफ्नो अडानबाट पछि नहट्दा अन्ततः पार्टी विभाजनसम्म पुगेको हो । कांग्रेसको बुधवार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न आरोप लगाउँदै उनीहरुलाई कारवाही गरेको हो । । विभाजनअघि पटक–पटक संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता भए पनि उपलब्धी हात लाग्न सकेन ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ तथा धारा ५० (५) आकर्षित हुने गरी उनीहरूमाथि कारबाही गरिएको छ । कारबाहीका लागि बैठकले ४ आधार प्रस्तुत गरेको छ । ती आधारहरुमा केन्द्रीय कार्यसमितिको संस्थापन पक्ष र कार्यालयसँग सहमति नभई विधानका धाराहरूको गलत व्याख्या गर्दै काठमाडौंमा विशेष कार्यक्रम र भेला आयोजना गरेको (समानान्तर अभ्यास), अनाधिकृत महाधिवेशन घोषणा, समानान्तर निर्वाचन तालिका र पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको तथा पार्टीलाई प्रत्यक्ष÷अप्रत्यक्ष हानि नोक्सानी पु¥याएको रहेका छन् ।

सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर नयाँ कार्यसमिति गठन गर्ने बाध्यकारी अवस्थामा पुगेको कांग्रेसका नेता बताउँछन । अहिले महामन्त्रीद्वयको अगुवाईमा कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । बुधवार रातीदेखि नै नेतृत्व चयनको प्रक्रिया सुरु हुदैछ । देशभरबाट आएका ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाब दिएका छन् । काठमाडौँको भृकुटीमण्डपमा २७ पुसदेखि भइरहेको विशेष महाधिवेशनअन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भइरहेको छ । साथै विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको १३४ सदस्यीय केन्द्रीय समिति मंगलबारै विघटन गरिसकेको थियो ।

कांग्रेसको २०७८ मंसिरमा सम्पन्न चौधौं महाधिवेशनले देउवा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन भएको थियो ।

विशेष महाधिवेशन पक्षले कार्यकारी भूमिकाबाट सभापति देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने माग राखेका थिए ।

झण्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको हो । यसअघि बीपी र मातृका कोइरालाको टकरावले २०१० सालमा कांग्रेस फुटेको थियो । २०५९ सालमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकरावले पार्टी दुई फ्याक भएको थियो भने अहिले २०८२ सालमा पनि विभाजनको अवस्थामा आइपुगेको हो । र अव कुन कांग्रेस आधिकारिक भन्ने कानुनी झमेला पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->