बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राष्ट्रिय योग दिवस र यसको सांस्कृतिक महत्व

राष्ट्रिय योग दिवस र यसको सांस्कृतिक महत्व


  • डा. नरनाथ पाण्डे
  • माघ १ २०८२, बिहिबार

पृष्ठभूमि
राष्ट्रिय योग दिवस नेपालमा यही माघ १ गते तद्अनुसार २०२६ जनवरी १५ मा एघारौं राष्ट्रिय योग दिवस ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने नाराका साथ मनाईंदै छ । त्यसो त केही वर्ष अघिदेखि जुन २१ तारिखका दिन (सबैभन्दा लामो दिन) विश्वभर अन्तर्राष्ट्रिय योग दिवस पनि मनाउने गरिएको छ र भर्खरै डिसेम्बर २१ तारिखका दिन (सबैभन्दा छोटो दिन) दोस्रो अन्तर्राष्ट्रिय ध्यान दिवस पनि मनाइएको छ । तर नेपालमा मात्र मनाइने राष्ट्रिय योग दिवस भने नेपाली महिनाको माघ १ गतेका दिन (सूर्य उत्तरायण हुने महत्वपूर्ण दिन) मनाउने गरिन्छ । हाल राष्ट्रिय योग दिवस पनि नेपालमा योगको जागरण ल्याउने कोशेढुङ्गाको रुपमा स्थापित भएको छ । २०७२ सालदेखि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर मनाईंदै आइरहेको राष्ट्रिय योग दिवसको आफ्नै इतिहास र सांस्कृतिक महत्व पनि रहेको छ । यही दिवसको अवसर पारेर योगदर्शन, राष्ट्रिय योग दिवसको इतिहास र योग सम्बन्धी विषयवस्तुका बारेमा यस आलेखमा उल्लेख गर्ने जमर्को गरिएको छ ।

योग र योगदर्शन
योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलीको योग दर्शनमा उल्लेख भए अनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ (योगश्चित्तवृत्तिनिरोधः) । शरीर, इन्द्रिय, मन, बुद्धि र अहङ्कार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो ।

योगको अभ्यास हजारौं वर्ष पहिलादेखि नै भएको पाइन्छ र परम्परा अनुसार योगको सुरुवात गर्ने भगवान शिव हुन् भन्ने मान्यता पाइन्छ । भगवान शिवको बासस्थान हिमालय क्षेत्रमा रहेको भन्ने श्रुतिअनुसार योगको प्रारम्भ पनि हिमालय क्षेत्र अर्थात् महाभारत क्षेत्रबाट भएको हो भन्ने पूर्वीय दर्शनमा उल्लेख भएको पाइन्छ ।

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जलि हुन् । योगदर्शन पूर्वीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलिले गरेका हुन् । हाल नेपाल लगायत विश्वमा नै विभिन्न योग सम्बन्धी संघसंस्थामार्फत औपचारिक र अनौपचारिक योग कक्षा सञ्चालन भइरहेका छन् भने राष्ट्रिय शिक्षाका पाठ्यक्रममा पनि योगलाई राखिएको छ । जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता पनि महसुस् हुँदै गइरहेको पाइन्छ । लगभग सबै धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्व दिइएको हुनाले योगको महत्व बढी छ । योग दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम, ध्यान तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ ।

योग भन्ने बित्तिकै हामीले सरसर्ती बुझ्दा स्याँ स्याँ गर्दै पसिना आउने गरी बिहान बिहान गरिने कडा खालको शारीरिक परिश्रम हो भनेर बुझ्ने गरिएको छ । तर वास्तवमा त्यो योग नभइ योगको एउटा भाग अभ्यास वा व्यायाम हो । तर योगमा व्यायाम बाहेक अन्य आठवटा भागहरू छन् जसलाई अष्टाङ्ग योग मार्ग पनि भनिन्छ । ती हुन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी । ती आठवटा मार्गमध्ये सातवटा मार्गलाई लुप्त राखी योग भन्नाले आसन वा व्यायाम मात्र हो भन्ने तेस्रो मार्गको मात्र चर्चा गर्ने र अन्य प्राणायाम तथा ध्यान जस्ता पक्षहरुलाई वास्तै नगर्ने कारण पनि योग शिक्षा राम्रोसँग अघि बढ्न नसकेको अनुमान गर्न सकिन्छ । हामीले बुझ्नुपर्ने र अरुलाई पनि बुझाउनुपर्ने महत्वपूर्ण कुरा के हो भने योग भनेको शरीर र मनलाई जोड्ने, मन प्रसन्न बनाउने, तनाव हटाउने, स्फूर्ति ल्याउने र मस्तिष्कलाई ऊर्जा भर्ने महत्वपूर्ण प्रक्रिया हो । योगमा आसन, ध्यान र प्राणायाम निकै महत्वपूर्ण हुन्छन् जुन व्यायाम मात्रै होइन भन्नेकुरा बुझ्नु आवश्यक छ । यदि यसरी बुझ्न सकियो भने योग जोसुकैले, जतिबेला पनि र जहाँपनि गर्न सक्नेछन् र योगबाट पाउने फाइदा लिन सक्नेछन् ।

राष्ट्रिय योग दिवसको इतिहास
नेपालमा योग तथा राष्ट्रिय योग दिवसको चर्चा गर्दा मानसाग्नि अर्थात राष्ट्रयोगी प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलको योगदानको चर्चा हुने गर्दछ । मानसाग्निले वि.सं. २०३६ सालदेखि मकर सङ्क्रान्तिका दिनदेखि नेपालमा योग सम्बत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी अभियान सुरु गर्दै योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो । २०३६ सालदेखिको उनको निरन्तरको प्रयास, अथक परिश्रम र अविरल यात्राको सफलतास्वरूप नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने कार्यको सुरुवात वि.सं. २०७२ साल श्रावण २८ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेपछि भएको हो । त्यसपछि योगको महत्वलाई मध्यनजर गर्दै नेपालमा विद्यालय तहदेखि विद्यावारिधि तहसम्म नै योग विज्ञानमा औपचारिक रूपमा पठनपाठन तथा अध्ययन अनुसन्धान हुन थालेको छ ।

योग गर्नाले हुने लाभहरु
प्राचीन कालमा ऋषिमुनिहरूले विकसित गरेका यस्ता योग अभ्यासका कारण उनीहरू जीवनभर निरोगी रही दीर्घायु समेत हुने गरेको सुन्न पाइन्छ । आधुनिक समयमा पनि अस्तव्यस्त जीवनशैलीका कारण मानिसमा आएका विभिन्न शारीरिक तथा मानसिक समस्या र शारीरिक श्रम घट्दै जाने तर ऐस आराम बढ्दै जाने भएपछि देखापर्ने अनेक समस्या समाधानका उपाय भनेको दैनिक योग, अभ्यास र ध्यान गर्नु हो । योग ध्यान एउटा त्यस्तो योग अभ्यास हो जसले व्यक्तिलाई शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, मानसिक सन्तुष्टि प्रदान गर्ने र आध्यात्मिक दृष्टिकोणले पनि जोड्ने भएकोले यसलाई चमत्कारिक विधि पनि भन्न सकिन्छ । श्रीमद्भागवत गीतामा समेत योगको महत्वलाई यसरी भनिएको छ–

युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा (६ः७) ।।

यसको अर्थ आहार, विहार (जीवनशैली), सोच र काम राम्रो गर्ने, राम्रो निद्रा, चेतनास्तर सबै राम्रो बनाउने माध्यम र दुःख हटाउने माध्यम नै योग हो । यसरी प्राचीनकालदेखि सुरुवात भएको योग विभिन्न आधार र अनुसन्धानबाट हाल वैज्ञानिक अभ्यास भएको पुष्टि भएको छ । विभिन्न आसन र ध्यानमा बस्दा आनन्दको अनुभव हुन्छ । नियमित रूपमा योगका विभिन्न प्राणायाम, ध्यान र आसन गर्नाले शरीर स्वस्थ हुने, मोटोपन नियन्त्रण हुने, आध्यात्मिक चेतना बढ्ने, सृजनशीलता बढ्ने, कार्यक्षमता बढ्ने, निर्णय गर्ने शक्ति आर्जन हुने, आत्मविश्वास बढ्ने, राम्रो निद्रा पर्ने र नेतृत्वका सीप विकसित हुने लाभहरू प्राप्त हुने भएकोले योग अभ्यास निकै उच्च स्तरको छ र जो कोहीले पनि योग गर्न सकिने सिफारिस गरिएको छ । यदि योगलाई निरन्तर अभ्यास गर्न सकियो भने पनि स्वस्थता प्राप्त गर्न सकिनेमा कुनै शंका छैन । योग पूर्वीय दर्शनको महत्वपूर्ण दर्शन हो तर पूर्णरुपमा वैज्ञानिक भएका कारण यसको महत्व बुझेर पनि होला अन्तर्राष्ट्रिय स्तरमा समेत योग र ध्यानलाई विशेष सम्बोधन समेत गरेको अवस्था छ र नेपालमा पनि सरकारले योग ध्यानलाई उच्च प्राथमिकतामा राखेको छ ।

योग अभ्यास जुनसुकै समयमा गर्न सकिन्छ तापनि यसको लागि उपयुक्त समय भनेको ब्रह्ममुहूर्त वा सूर्योदय हुनु १ देखि २ घण्टा अघिको समय हो । यो समयलाई अमृत समय पनि भनिन्छ, जुन समयमा चराचुरुङ्गीको चिरबिर सुरु हुन्छ, स्वच्छ र पवित्र वायु बहन्छ, धर्तीमा ब्रह्माण्डीय ऊर्जा प्रवाह भएको हुन्छ र यो सुतेर खेर फालिने समयमा उठ्नाले स्वास्थ्यमा सरोकार राख्ने सबैका लागि राम्रो समय मानिन्छ । तापनि योग अभ्यासका लागि खाली पेट भएको अन्य जुनसुकै समय पनि उपर्युक्त नै हुन्छ ।

योग अभ्यासलाई दैनिकी जस्तो बनाइ नियमित रुपमा गर्ने हो भने यसबाट पाइने लाभहरु असंख्य छन् । तीमध्ये मुख्य लाभहरु यसप्रकार छन्—
–योग आसन नियमित गरेमा रोगमुक्त भई बाँच्न सकिन्छ र शरीरको सन्तुलनमा वृद्धि हुन्छ ।
–मुटुको शक्ति बढ्छ वा रक्तसञ्चार प्रक्रियामा सुधार हुन्छ ।
–पाचन प्रणालीको कार्यक्षमता बढ्ने र कब्जियत जस्ता समस्या पूरै समाधान हुन्छन् ।
–पेटका मांसपेशी, श्वासप्रश्वास प्रणाली, लसिका प्रणाली, मेरुदण्डका स्नायुहरू र अन्य आन्तरिक अङ्गहरूमा सक्रियता आउँछ ।
–ढाड, घाँटी, काँध, हात, नाडी, पछाडिको भाग, तिघ्राका मांसपेशी लगायत सबै शरीरमा लचकताको विकास हुन्छ ।
–नियमित अभ्यासले निःशुल्करूपमा तौल घटाउन मद्धत पु¥याउँछ । मांसपेशी तन्काउने, खुम्च्याउने र सक्रिय बनाउने अभ्यासका कारण थप सञ्चित क्यालोरीको खपत भई नाटकीय रूपमा तौल घट्ने गर्छ । साथै थाइराइड ग्रन्थिको नियमित कार्य सम्पादनका कारण समेत तौल घट्ने गर्दछ ।
–टाउकोमा हुने रक्तसञ्चारको प्रभावले कपाल झर्नबाट रोकिन्छ भने कपाल फुल्ने क्रम घट्ने र स्वस्थ रौं को विकास हुन्छ ।
–शरीरभर हुने प्रभावकारी रक्तसञ्चारका कारण शरीर तथा अनुहारको छाला स्वस्थ, चमक, मुलायम र चिल्लो हुन्छ । साथै चाउरी पर्ने वा छिटो बुढ्यौली हुने क्रम समेत रोकिन्छ ।
–ग्रन्थी प्रणालीमा पर्ने सकारात्मक प्रभावका कारण महिलाको महिनावारी चक्र समेत राम्रो र नियमित हुन्छ । यसबाट स्वस्थ बच्चा जन्माउन समेत सहयोग मिल्छ भने सुत्केरी अवस्थामा दुधको राम्रो उत्पादन हुन्छ । महिलाको हिप, तिघ्रा, पेट, चिउँडो र घाँटी समेत सुन्दर हुन मद्धत पुग्छ ।
–योग अभ्यासले शरीर र मनलाई जोड्ने काम गर्दछ । योग अभ्याससँगै तनाव हट्ने र यसमा मिलाइने श्वासप्रश्वासको नियमले मस्तिष्कमा आनन्द र शान्तिको अनुभूति दिलाउँछ भने सचेतनाको क्षमता अभिवृद्धि हुन्छ ।
–मानिसको अन्तज्र्ञान बढाउने, एकाग्रता बढाउने, डिप्रेसन र मानसिक नकारात्मक कुण्ठाहरू हटाउने काम गर्छ ।
–नियमित रूपमा बालबालिकाले योग अभ्यास गरेमा विभिन्न प्रतिस्पर्धामा अब्बल सावित हुने र युवा अवस्थामा पनि पाँच वर्ष कम उमेरको देखिने जस्ता अद्भूत फाइदा पाउन सकिन्छ ।

योगका अभ्यासहरू गर्दा नियमहरूको पूर्ण पालना गर्दै श्वासप्रश्वासलाई नियन्त्रण गर्दै तालबद्ध तरिकाले गर्नुपर्छ । यस्ता अभ्यासबाट लाभ प्राप्त गर्न कुशल प्रशिक्षकको नियमित निगरानी र प्रशिक्षणमा रहेर गर्नुपर्छ ।

अन्तमा, फुर्सद नहुनेहरू वा अल्छी लागेर केही गर्न नसक्नेहरूका लागि समेत योग अभ्यासले व्यक्तिलाई शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, मानसिक सन्तुष्टि प्रदान गर्ने र आध्यात्मिक दृष्टिकोणले पनि जोड्ने भएकोले यसलाई आधुनिक समयको चमत्कारिक चिकित्सा विधि पनि भन्न सकिन्छ । आफ्नो क्षमता हेरेर दिनहुँ कम्तीमा आधा घण्टादेखि दुई घण्टासम्म योग गर्न सकियो भने पूर्ण स्वस्थता प्राप्त गर्न सकिनेमा कुनै शङ्का छैन । यसरी योगले व्यक्तिगत रुपमा त फाइदा पु¥याउँछ नै, सँगसँगै घरपरिवार, समुदाय, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मकताको विकास भई विश्वमै शान्ति र समृद्धि ल्याउन सकिन्छ । त्यसकारण भन्ने गरिन्छ–

योगात्परतरं पुण्यं योगात्परतरं शिवं ।
योगात्परतरं सूक्ष्मं योगात्परतरं नहि ।। (योगशिखोपनिषद–६७)

यसको अर्थ योग भन्दा पुण्य कर्म अरु केही छैन, योग भन्दा ठुलो कल्याणकारी कार्य (शिव) अरु केही छैन, योग जस्तो सूक्ष्म ज्ञान अरु कुनैपनि ज्ञान छैन र योग नै ज्ञान र मोक्षको परम मार्ग हो । अतः योग गरौं, स्वस्थ रहौं । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->