आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चुनाव सफल पारौं, विसंगतिविरुद्ध अभियान छेडौं : राष्ट्रपति

चुनाव सफल पारौं, विसंगतिविरुद्ध अभियान छेडौं : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित राजनीतिक सन्दर्भमा नवपुस्तामात्र नभएर सबै नेपालीको चाहना अनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्नुपर्नेसमेत बताए ।


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

बागलुङ/राष्ट्रपति रामचन्द्र पौडेलले राज्यलाई सुशासन युक्त बनाउने जनशक्ति चाहिएको बताएका छन् । उनले जनआकांक्षा अनुसारको काम गर्न सक्ने जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुनेसमेत बताए ।

बागलुङ नगरपालिका वडा नं. १३ स्थित त्रिभुवन माविको हीरक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राणा शासनविरुद्ध समेत बिगुल फुकेका विद्यालयहरु अहिले आधुनिक शिक्षामा पनि अब्बल बनाउने चुनौती आएको धारणा राखे । शिक्षा क्षेत्र अब्बल बन्दा राज्यका सबै निकायका जनशक्ति पनि जनअपेक्षा अनुसारकै बन्ने भएकोले त्यसका लागि राज्यले काम गर्नुपर्ने बेला आएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

पौडेलले परिवर्तित राजनीतिक सन्दर्भमा नवपुस्तामात्र नभएर सबै नेपालीको चाहना अनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्नुपर्नेसमेत बताए । उनले हीरक महोत्सवलाई शान्ति, सुशासन, विकास र समृद्दिको आकांक्षा पूरा गर्ने माध्यम बन्ने शुभकामना पनि दिए ।

‘हामीले ठूलो संघर्ष र बलिदानबाट पाएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्र प्रतिको दायित्वसहित दिगो शान्ति, सुशासन र विकास तथा समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्व आएको छ,’ उनले भने, ‘त्यसका लागि जनताको हित र सेवालाई केन्द्रमा राख्नुपर्छ ।’ उनले सुशासनको माध्यमबाटै भ्रष्टाचार निर्मूल, ढिलासुस्ती, विकृति र विसंगतिविरुद्धको अभियान चाल्नुपर्नेसमेत बताए ।

प्रतिनिधिसभाको तोकिएको निर्वाचन सफल बनाएमा देशमा सुशासनमा केही आशा जाग्ने उनको भनाइ थियो । पौडेलले राजनीतिको दुश्चक्रमा पर्न नदिन आपसी समझदारी, समन्वय र सहकार्यबाट निर्वाचन पूरा गर्न पनि सुझाए । प्राज्ञिक र शैक्षिक क्षेत्रका अगुवाले पनि यो सुझाव दिनुपर्ने उनको भनाइ छ ।

अर्को प्रसंगमा राष्ट्रपति पौडेलले शिक्षा र रोजगारीका लागि युवाहरु बिदेश पलायन बन्ने समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले शिक्षामा लगानी बढाएर रोजगारी बढाउने, विदेश जानेलाई स्वदेशमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवस्यकतामा जोड दिए । कृषिको आधुनिकीकरण, व्यवसायीकीकरण र औद्योगिकरणबाट देश समुन्नत बन्ने उनको भनाइ छ ।

हीरक महोत्सवमा २००७ सालदेखि अहिलेसम्म अध्ययन गरेका पुर्व बिद्यार्थी, चन्दादाता लगायतलाई सम्मान र पुरस्कृत गरियो । सोही अवसरमा पौडेलले हीरक स्तम्भको अनावरण पनि गरे । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ लगायतले मन्तव्य राखे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीको अध्यक्षता, बानपा १३ का अध्यक्ष नारयण पौडेलको संचालन र प्रधानाध्यापक कृष्णप्रसाद पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->