आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पारदर्शीतामार्फत् मानवसेवा आश्रम व्यवस्थित बनाउने लक्ष्य

पारदर्शीतामार्फत् मानवसेवा आश्रम व्यवस्थित बनाउने लक्ष्य


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

बागलुङ/मानवसेवा आश्रम बागलुङले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमका बीच आश्रमले आर्थिक वर्षभरी गरेको कामको समीक्षा समेत गरेको हो ।

आश्रमले गत आ.व.मा १ करोड १३ लाख ५६ हजार रुपैयाँको संचित कोष बनाएको, चालु बर्षपनि १८ लाख रुपैयाँ संचित कोषमा थप गरेको छ । कार्यक्रममा गत असार सम्मको खर्च सार्वजनिक भएको हो । जस अनुसार सेवा योगदानतर्फ ८७ लाख ७१ हजार सेवा योगदान भएकोमा सोही अवधिमा ६९ लाख ६६ हजार सेवा खर्च भएको हो । पूँजीगततर्फ आ.व. २०८१/०८२ मा ६६ लाख ७७ हजार ३ सय १६ रुपैयाँ आम्दानी भएकोमा ८९ लाख ९० हजार खर्च भएको छ । आयश्रोत बाहेक संचित कोषबाट आश्रमको पूर्वाधारतर्फ खर्च गरिएको हो ।

आश्रममा गत असार मसान्तसम्म १६ लाख २७ हजार रुपैयाँ अक्षयकोष रहेको छ । गत कात्तिकमा लगाइएको महायज्ञमा भने झण्डै ९ करोड रुपैयाँ अक्षयकोष थप भएको छ । त्यो हिसाब भने यो सामाजिक परीक्षणमा समावेश छैन । पारदर्शी लेखा परीक्षणकै कारण आश्रम व्यवस्थित बन्दै गएको समेत सरोकारवालाको भनाइ थियो ।

आश्रमको संयुक्त रुपमा गत बर्षको संचित मौज्दात १ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको बताइएको छ । आश्रमका लागि सरकारी निकायबाट २३ लाख ४६ हजार रुपैयाँ आम्दानी भएको छ । जसमा सामाजिक विकास कार्यालयले २१ लख, मोदी गाउँपालिकाले ९८ हजार र फलेवास नगरपालिकाबाट १लाख ४७ हजार रुपैयाँ सहयोग प्राप्त भएको आश्रमकी संचालक बिपना तामाङले जानकारी दिइन् । उनले छिटै आश्रमलाई आफ्नै भवनमा संचालन गर्ने र थप पारदर्शी बनाउने धारणा पनि राखिन् ।

सामाजिक लेखा परीक्षणको क्रममा आश्रमको आश्रितहरुको अवस्था जानकारी दिइएको छ । अहिलेसम्म बागलुङ शाखाबाट १ सय ३ जना पुरुष र १ सय २३ जना महिला गरी २ सय २६ जनाको उद्दार गरिएकोमा ४८ जनाको पुर्नमिलन भएको छ । ३२ जनाको निधन भएको छ भने १ सय जनाले स्वइच्छाले आश्रम छाडेका छन् । हाल आश्रममा ६४ जना रहेकोमा १८ वर्ष मुनिका ७ जना बालबालिका रहेका छन् । ती मध्ये ५ जनाले विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन् ।

मानवसेवा आश्रमलाई व्यवस्थित बनाउन कालीगण्डकी किनारको निरयघाटमा भवन निर्माण गरिएको छ । निर्माणाधिन भवन पुरा नभएपछि दाताबाट साथ खोजेर बनाउन लागिएको हो । गत कात्तिकमा महायज्ञ गरेर केही रकम संकलन भैसकेको छ । अक्षयकोषका लागि उठेको रकमलाई आश्रम संचालनमा खर्च गरिने छ भने भवन पुरा गरेर २ सय जनासम्मलाई व्यवस्थित रुपमा बस्न लायक बनाउने योजना रहेको महायज्ञ आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशकी सदस्य कुशुम बुढाले आश्रमलाई सरकारको नीतिमा ल्याएर संचालनको पहल गर्ने बताइन् । त्यसका लागि सरकारले नै सडक मानवमुक्त राज्यको परिकल्पना गरेको र सोही अनुरुप आश्रमले थालेको काममा राज्यको ध्यान गएको बताइन ।

आश्रम संचालक निर्मलबहादुर श्रेष्ठको अध्यक्षता, सरिता गौतमको संचालन र युक्तप्रसाद सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, पुर्व नगरप्रमुख जनकराज पौडेल, वडाध्यक्ष कुमार विक्रम क्षेत्री र तिलबहादुर थापा, लक्ष्मीदेवी जिसी कार्की, लक्ष्मी बास्कोटा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खिमबहादुर बिक, नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्त, रुद्रबहादुर महत लगायतले मानवसेवा आश्रमको कामलाई प्रशंसा गर्दै अझै प्रभावकारी र पारदर्शी बनाउन पहल गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->